३१ बैशाख २०८१, सोमबार | May 13, 2024

भारतमा मजदुरी गर्नेहरु भन्छन्, “ताकत हुँदासम्म भारी बोक्ने हो, त्यसपछि घर जानु त छँदै छ”



नैनीताल । कालीकोटको खिना घर भएका दानसिंह विक दसैँको मुखमा भारतको उत्तराखण्ड राज्यको पर्यटकीय नगरी नैनीतालमा भारी बोग्दै गरेको अवस्थामा भेटिए । उनले नैनीतालमा यसरी भारी बोक्न थालेको १८ वर्ष भयो । विक साँझ बिहान नैनीतालस्थित एउटा होटलको नर्सरीमा काम गर्छन् । यसबाहेकको बाँकी समय भारी बोक्छन् ।

“भारी बोकेरै घरको खर्च धानेको छु, यो नगरे घरमा सबै ठप्प हुन्छ”, ४७ वर्षीय विकले भने । उनी केही दिनअघि मात्रै कालिकोट गएर नैनीताल काममा फर्केका हुन् । “घरमा छोरो बिरामी भएको खबर आयो, उपचारका लागि खर्च लगेर गए, अब घर ढिलै जान्छु, दसैँमा गइन्न ।”

नैनीतालमा मजदुरी गरेर विकले मासिक रु ३० हजारसम्म कमाउँछन् । “स्वदेशमै काम पाएको भए विदेश आउन मन थिएन, काम पाइहाले पनि उचित ज्याला पाइँदैन”, उनले भने–““यहाँ दुखः गरे अनुसारको पारिश्रमिक पाइन्छ ।”

नैनीताललाई सुन्दर बनाउन धेरै नेपाली मजदुरको मेहेनत छ । नैनीतालको तल्ली र मल्ली ताल क्षेत्रमा सयौँ नेपाली मजदुर दिनरात भारी बोक्दै गरेको अवस्थामा भेटिन्छन् । कोही होटल त कतिपय स्थानीय साहुमहाजनको घरमा काम गरेर जीविका चलाउँदै आएका छन् । पछिल्लो समय सडक पेटीमा पसल सञ्चालन गर्ने नेपालीको सङ्ख्या बढ्दै गएको छ । नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैँको मुखमा समेत मजदुरी गर्नेको सङ्ख्या उत्तिक्कै छ ।

“दसैँमा घर परिवारसित बसेर पर्व मनाउने इच्छा कसको हुन्न र ?” कैलालीको घोडाघोडी नगरपालिका–२ का १८ वर्षीय रमेश रावतले भने, “दसैँमा घर गए बाँकी समय गुजारा कसरी गर्नु ?” नैनीतालकै कमाइले घर परिवारको खर्च चलाएको उनको भनाइ छ ।

राजनीतिक परिवर्तन भएपनि स्वदेशमै रोजगारीका सम्भावना नदेखिनु दुःखद् भएको रावतको भनाइ छ । उनी १२ कक्षाको परीक्षा दिएर मजदुरी गर्न नैनीताल पुगेका हुन् । रावतका बुबा पनि यतै मजदुरी गर्छन् । बुबाको साथले उनलाई मदजुरी गर्न सहज भएको छ । “घरको परिस्थितिका कारण बुवासित यहाँ आए, धेरैभन्दा धेरै भारी बोकेर खर्चको जोहो गर्नु हाम्रो नियति नै बनिसक्यो”, रावतले भने ।

दसैँ तिहारमा कतिपय नेपाली घर जाँदा सो समयमा भारी बोक्ने काम बढी पाइने आशामा रावत बाबु–छोरा यसपाली नैनीतालमा बसेका छन् । यहाँ नेपाली मजदुर घरघरमा गएर तरकारी बेच्ने तथा होटलमा भाँडावर्तन सफा गर्ने काममा बढीजसो खटिने गरेका छन् । चारैतिर पहाड अनी बीचमा आकर्षक नैनीताल अवस्थित छ । कोरोना महामारीमा सुनसान बनेको नैनीतालमा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ । योसँगै नेपालीले पनि काम गर्ने अवसर पाएका छन् ।

नैनीताल, खुर्पा ताल, भीम ताललगायत क्षेत्रमा झण्डै पाँच सयको हाराहारीमा नेपाली कार्यरत छन् । नैनीताल क्षेत्रमा सिमेन्ट, छड, तरकारी, ग्यास सिलिण्डरलगायत अन्य घरायसी सामान ढुवानी गर्नमा उनीहरु दिनरात व्यस्त देखिन्छन् । दुरी तथा तौलका हिसाबले उनीहरुलाई पारिश्रमिक दिइन्छ ।

“नेपाली नागरिक इमान्दार भएर लामो समयदेखि काम गर्दैआएका छन्”, नैनीतालका एक होटल व्यवसायीले भने, “होटलमा तरकारी बोक्नेदेखि घर घरमा ग्यास पु¥याउने काममा नेपालीको ठूलो साथ र सहयोग छ ।”

बझाङ्गको तलकोटका नवराज विष्ट दसैँका लागि घरमा सरसामान पठाए पनि आफू भने नजाने मनस्थितीमा छन् । उनले भारी बोक्न थालेको झण्डै डेढ दशक भयो । होटलमा तरकारीको भारी बिसाउँदै गरेका विष्टले भने– “यहाँको कमाइले घरखर्च चलाउन सहज भएको छ ।”

परिवारको पालनपोषण नैनीतालको भारी बोकाइले चल्दै आएकाले चाडपर्वको खासै महत्व नहुने उनी बताउँछन् । “ताकत हुँदासम्म भारी बोक्ने हो, त्यसपछि घर जानु त छँदै छ”, विष्टले भने ।

कालिकोटको खानीत्रिवेणीका ५६ वर्षीय शेरबहादुर विकले भने नैनीतालमा भारी बोकेर कमाएको पैसाले छोरा जीवनलाई काठमाडौँमा लोकसेवाको तयारी गराउँदै छन् । “छोरा पढाउन लाखौँ ऋण काढेको छु, दसैँ सम्झेर घर जाने अवस्था छैन, घर गए सब चौपट हुन्छ”, उनले भने–“छोरो जागिरे होला र बुढेकासलमा घरमा सुखका साथ बस्न पाइला भन्ने आशामा भारी बोक्दै छु ।”

मुख्यतया सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिक यहाँ रोजगारीका लागि आउने गरेका छन् । उनीहरुका लागि नैनीताल रोजगारीको प्रमुख गन्तव्य हो । बाजे, बुबादेखि नातीसम्मको पुस्ता यहाँ एकसाथ भारी बोक्ने गरेको पाइन्छ । यहाँ मजदुरी गर्ने अधिकांश नेपालीले आफ्नो कमाइ छोरा छोरीको पढाइमा खर्चिदै आएका छन् । रासस

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ८ : ३४ बजे

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव सरकारबाट बाहिरिए

काठमाडौं। उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका

सरकारको नीति तथा कार्यक्रमको प्रस्तुति अन्योलमा, परामर्शमा सभामुख

काठमाडौं। मंगलबार संसदको संयुक्त बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा

नारायणी नदीमाथि बन्ने सिग्नेचर पुलको शिलन्यास

चितवन । चितवनको नारायणघाट र नवलपुरको गैंडाकोट जोड्ने नारायणी नदीमाथिको

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति

सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ

धनुषा । जनकपुरमा सहकारीको रु ८० लाख लुटेको आरोपमा दुईजना