१७ बैशाख २०८१, सोमबार | April 29, 2024

देवचुली डाँडामा पर्यटन सप्ताह



मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली डाँडामा पर्यटन प्रवर्द्धनका लागि आजदेखि पर्यटन सप्ताह-२०८० हुने भएको छ ।

पर्यटकीय र धार्मिक केन्द्र देवचुली डाँडाको प्रचार-प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आजदेखि कात्तिक २१ गतेसम्म आधार शिविर कीर्तिपुरमा पर्यटन सप्ताह आयोजना गर्न लागिएको हो ।

जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्रको प्रचार-प्रसार गर्ने उद्देश्यले देवचुली डाँडा पर्यटन प्रवर्द्धन सप्ताह आयोजना गरिएको देवचुली जेसिजका अध्यक्ष गणेश सापकोटाले जानकारी दिए ।

“देवचुली डाँडाको महत्वलाई राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा प्रचार-प्रसार गरी धार्मिक र साहसिक पदयात्रा पर्यटनको प्रवर्द्धनका लागि देवचुली डाँडाको फेदी कीर्तिपुरमा सप्ताहव्यापी कार्यक्रम पहिलोपटक गर्न लागिएको हो”, उनले भने ।

उक्त स्थानको सुन्दरता देशव्यापी बनाउने र त्यस क्षेत्रमार्फत नेपालको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यले सप्ताहव्यापीरूपमा यो महोत्सवको आयोजना गरिएको सापकोटाले बताए ।

देवचुली नगरपालिका प्रमुख संरक्षक रहेको पर्यटन सप्ताहको आयोजना देवचुली जेसिजले गरेको हो । पर्यटन सप्ताहअन्तर्गत वडास्तरीय खुला भलिबल प्रतियोगिता, नवलपुरमा पर्यटनको सम्भावना विषयक वक्तृत्वकला प्रतियोगिता, व्यापारिक तथा व्यावसायिक स्टलहरूमार्फत स्थानीय उत्पादनको पहिचान र प्रवरद्धन, जिल्लाको कृषि उपज प्रदर्शनी एवं व्यापार, स्थानीय कला-संस्कृति, सांस्कृतिक झाँकी र नाच प्रस्तुति गरिने छ ।

स्थानीय कला र संस्कृतिको प्रवर्द्धनका लागि विविध सांस्कृतिक कार्यक्रमको पनि प्रस्तुति गरिने बताइएको छ । साथै पालिकास्तरीय युवा नेतृत्व र बहस कार्यक्रम, स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति प्रदर्शन, टिकटक प्रतियोगिता, कवि गोष्ठी एवं रचना बाचनसँगै दैनिक देवचुली डाँडाको पदयात्रा सञ्चालन गरिने सापकोटाले बताए ।

कार्यक्रमलाई अझ प्रभावकारी र रचनात्मक बनाउन देवचुली पर्यटन दौडअन्तर्गत दलदलेबाट नगरपालिका कार्यालयसम्म वडाध्यक्षहरूको दौड, नगरपालिकाबाट कीर्तिपुरसम्म मार्चपास, नवलपुरको पर्यटन साथमा देवचुली विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितासमेत समावेश गरिएको कार्यक्रम संयोजक वसन्त पोखरेलले बताए ।

देवचुली डाँडा पर्यटकीय क्षेत्रका रूपमा जिल्लाकै गौरव रहेकाले यस क्षेत्रको विकासमा पर्यटन सप्ताह आयोजना गरिएको देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले बताए । “देवचुली डाँडा जिल्लाकै पर्यटकीय क्षेत्र हो, हामीले प्राथमिकता दिएका छौँ, नगरमात्रै होइन राष्ट्रियरूपमा यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा चिनारी गराउन पर्यटन सप्ताह फलदायी हुने विश्वास लिएका छौँ”, उनले भने ।

पर्यटन सप्ताहको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आज उद्घाटन गर्ने नगरप्रमुख न्यौपानेले बताए ।

तीनतले जिल्ला (पहाड, भित्री मधेस र तराई)का रूपमा रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पर्यटकीय क्षेत्रमध्ये देवचुली डाँडा पदयात्राका लागि परिचित रहेको छ । समुद्र सहतबाट करिब एक हजार नौ सय ३४ मिटरको उचाइमा रहेको पर्यटकीय क्षेत्र देवचुली डाँडा पदयात्रीहरूको रोजाइमा पर्ने गरेको छ ।

यहाँबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न भू-भागसहित तनहुँ, पाल्पा, कास्की, चितवनका भू-भाग अवलोकन गर्न सकिन्छ । देवचुली डाँडाको चुचुरोबाट उत्तरतर्फ देखिने मनमोहक हिमशृङ्खलाको दृश्यले यहाँ पुग्ने जो-कोहीलाई पनि आनन्दित बनाउने गरेको छ । साथै दक्षिणतर्फ नारायणी नदी, पूर्व-पश्चिम राजमार्ग छेउका घना बस्ती, चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रसहित समथर भू-भाग डाँडाबाट सहजै अवलोकन गर्न सकिन्छ ।

थारू समुदायले प्रत्येक वर्ष चैत पूर्णिमाका दिन देवचुली डाँडामा विशेष पूजा गर्ने गर्दछन् । यस दिन डाँडामा मेलासमेत लाग्ने गर्दछ । थारू समुदायमा यहाँ पूजाआजा गर्नाले आफ्नो कूलमा सुख, समृद्धि हुने विश्वास रहिआएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  १० : १२ बजे

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको