२७ श्रावण २०८३, बुधबार | August 13, 2026

संस्कृति जोगाउन दलित समुदाय अग्रसर



पाल्पा । देउसीभैलो खेल्ने नाममा समाजमा तडकभडक भित्रिएको छ । सहरबजारमा मात्र नभई गाउँघरमा परम्परागत संस्कृति संरक्षणभन्दा पनि आधुनिकताका नाममा विकृति–विसङ्गति बढ्दै गएको छ ।

तिहार अर्थात भाइटीकामा खेलिने देउसीभैलोमा मौलिकपन हराउन थालेपछि सिर्जनशील दलित मुक्ति समाज रामपुर नगरपालिका–३ रजघरा पाल्पा भने परम्परागत संस्कृति संरक्षणमा लागेको छ । समाजले गाउँ–गाउँमा देउसीभैलोमार्फत मौलिकता जोगाउन सन्देश दिएको छ ।

ढोलक, बाजा, झुर्मा, ट्याम्को, नरसिंहा, विकुल, सहनाइलगायतका विभिन्न वाद्यवादनसहित देउसीभैलोका नाममा अहिले भित्रिएको विकृतिलाई रोक्न सामूहिकरूपमा देउसीभैलो अभियानमा लागेको समाजका अध्यक्ष देवबहादुर विक बताउँछन् । “अहिले देउसीभैलोको मौलिकपन नै भेटिदैन, संस्कृतिमा पूरै विकृति भित्रिएको छ, पुराना संस्कार, संस्कृति मौलिकरूपमा मनाइनुपर्छ, यस अभियानमा हामी सामूहिकरूपमा जुटेका छौँ”, उनले भने ।

समाजले गत वर्ष रु एक लाख ६० हजारको विभिन्न वाद्यवादनका सामग्री खरिद गरेको अध्यक्ष विकले बताए । नयाँ पुस्तामाझ देउसीभैलोको मौलिक परम्परा नै मेटिसकेको र आधुनिकताले समाजमा विकृति ल्याएको बताउँछन्, समाजका ज्येष्ठ सदस्य मोहनबहादुर विक । उनले पहिला–पहिलाको देउसीभैलोको तुलनामा हिजोआज धेरै फरक रहेको बताए । आधुनिकताले परम्परागत संस्कृतिमा विकृति भित्रिएकामा उनी चिन्तित छन् ।

बालबालिका, युवा, उमेर ढल्कदो अवस्थाका व्यक्ति बाजा बजाउँदै देउसीभैलोमा गाउँ–गाउँमा पुग्दा मौलिकता जोगाउन गरेको यस कार्यमा घरभेटीले खुसी हुँदै दानदक्षिणा दिने गरेको युवा मनु विक बताउँछन्। देउसीभैलोबाट सङ्कलित रकम सामाजिक कार्यमा लगाउने उनले बताउँछन्। नयाँ पुस्तालाई पुरानो परम्परा, रीतिरिवाजबारे अवगत गराउँदै अर्काको देखासिकी नभई मौलिकरूपमा नै चाडपर्व, संस्कार, संस्कृति मनाउन समाजले देउसीभैलोमार्फत अनुरोध गरेको छ ।

मौलिक बाजाको तालमा देउसीभैलो समूह घर–घरमा आउँदा स्थानीय पनि दङ्ग छन् । मेमोरीकार्ड, क्यासेट गीत, युट्युबबाट हिन्दी, रिमिक्स, पप, आधुनिक, लोकगीतमा देउसीभैलो खेल्नेको जमात बढ्दो छ । मौलिकता जोगाउन नभई मनोरञ्जनका लागि मात्रै देउसीभैलो खेल्ने गर्दा परम्परागत संस्कार, संस्कृति लोप हुँदै जान थालेको छ ।

देउसीभैलोबाट चाडपर्व मनाउने नाममा विकृति विसङ्गति भित्रिन नदिन दलित मुक्ति समाजले गरेको यस कार्यलाई सबैले सकारात्मक रूपमा लिएका छन् । समाजमा ८० घरपरिवार दलित समुदायमात्र आबद्ध छन् । आफ्नो समाजभित्र हुने विभिन्न सामाजिक कार्य, अप्ठ्यारोमा परेका परिवारलाई सहयोग गर्दै आइरहेको समाजले जनाएको छ ।

हिजोआज खैँजडी, मादल, मजुरा, गितार, बाँसुरीका तालमा भट्याउँदै देउसीभैलो खेल्ने परम्परा हिजोआज कतै देखिँदैन । कोहीले भट्याउने कोहीले गाउने, स्थानीयस्तरमा प्रचलित विभिन्न वाद्यवादनका तालमा नाच्दा तिहारको रौनकता नै बेग्लै हुन्थ्यो । पश्चिमा संस्कृतिको देखासिकी र प्रभावले पुराना परम्परा हराउँदै गएको छ भने देउसीभैलोमा मौलिकपन नहुँदा खल्लो लाग्न थालेको पाकापुस्ताको बुझाइ छ ।

बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् । उज्यालै उज्यालैको पर्वका रूपमा लिइने तिहार दाजुभाइ र दिदीबहिनीबीचको मायाप्रेम प्रगाढ बनाउने पर्व हो । चाडपर्वमा पहिलेजसो मौलिकपनको सट्टा नयाँपन दिन खोज्दा पुरानो इतिहास नै मेटिन पुगेको बूढापाका बताउँछन् ।

रासस

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ९ : ३८ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको