२८ माघ २०८२, बुधबार | February 12, 2026

जाजरकोट : त्रिपालमा आश्रित भूकम्पपीडित बिरामी



जाजरकोट । भेरी नगरपालिका-१ घुयलनेटाकी देउमा रानाको घर भूकम्पले तहसनहस भयो । उनकी छोरी घाइते भइन । प्रदेश अस्पतालमा उपचार गरेर बल्ल छोरी फर्किएकी छिन । आमा र छोरीसँगै सुतेको समयमा भूकम्प गएको थियो । भूकम्पबाट आमालाई केही नभए पनि छोरी एकमाया राना घाइते भइन । घाइते भएकी छोरीलाई अहिले पनि हिँड्दा भूकम्प आएझैँ हुने गरेको छ ।

आमा देउमा भग्नावशेषमा परिणत भएको घरभित्र रहेका मालसमान निकाल्न लागेकी छिन । घरभित्र भएका कुनै पनि सामान देउमाले सग्लो पाएकी छैनिन । अहिले उनको १० जनाको परिवार स्थानीय विद्यालयको चौरमा त्रिपाल टाँगेर बसिरहेको छ । संयोगले भूकम्प गएको समयमा देउमाका छोरा नवीनसहित अन्य घरका आफन्त छिमेकी गाउँ मैदेमा तिहारको लागि रोटी तयार गर्नका लागि गएका थिए ।

घरमा आमा, छोरीमात्र भएको समयमा आएको भूकम्पले छोरीलाई घाइते बनायो भने आमाले छोरीलाई उद्धार गर्न सफल भएको बताइन । त्यस्तै छिमेकी कर्णबहादुर रानाले दाइ नै गुमाउनुपर्यो । माटाले निर्माण गरेका कच्ची घरमा सुतेको कर्णका दाइ रवीन्द्र (गाउँमा बोलाउने नाम) बोल्न नपाइ भूकम्पको झड्कामै ज्यान गएको थियो ।

अहिले घुयलनेटाको पूरै गाउँ शोकमा रहेको छ । घाइते भएका र मृतकका आफन्त अहिले पनि सामूहिकरुपमा त्रिपालमा बसेका छन् । भूकम्प नआए पनि उनीहरुको मनमा धेरै पटक भूकम्प गएझैँ हुने गरेको छ । यो सदरमुकामभित्रको पालिका भए पनि अति दुर्गम बस्तीभित्र पर्दछ । जनयुद्धकालमा समेत यहाँको बस्तीमा धेरै पटक बमबाढी गरिएको थियो ।

पटकपटक पीडा खप्दै आएको यो गाउँ फेरि पनि भूकम्पको मारमा परेको छ । डाँडामाथिको बसाइका कारण बालबालिकामा आँखा पाक्ने रोगसमेत देखा पर्न थालेको स्थानीय कलिमान रानाले बताए ।

भेरी नगरपालिका-४ खलङ्गास्थित कस्तुरी बोर्डिङ स्कुलको प्राङ्गणमा त्रिपालमा एक सातादेखि बसिरहेकी १८ दिनकी सुत्केरी विमला तिरुवा त्रिपालमा दैनिकी चलिरहेको छ । चिसो र आवश्यक स्याहारसुसार नहुँदा आमाका साथै बच्चा पनि बिरामी रहेका छन् । त्रिपालको चिसोले आमा र नवजात शिशु दुवैका मुख, आँखा, हात खुट्टा सुनिएको छ ।

कुशे गाउँपालिका-९ निवासी १८ वर्षीय उनी सदरमुकामस्थित गोरख तिरुवा सदरमुकाममा भाडामा बस्दै आएको समयमा भूकम्पले घर भत्किएपछि अहिले त्रिपालकै सहारामा खुला चौरमा रहेका छन ।

भूकम्प जानुभन्दा तीन दिन अघि सुत्केरी भएकी उनी दैवले हात थाम्दा बाँचेको बताउँछिन । श्रीमान् वीरेन्द्र ज्याला मजदूरी गरेर परिवारको समस्य समाधान गर्दै आएको उनको भनाइ छ । भूकम्प गएदेखि त्रिपालको सहारामा रहेको यो परिवारले नयाँ भाडामा बस्नका लागि घर पाएको छैन । पाँच जनाको परिवारलाई कामै गरेर जीवन धानिरहेको यो परिवार अहिले कामविहीन मात्र होइन, घरमा खाने कुरा नभएर हैरानमा रहेको छ । त्रिपालकै सहारामा बसिरहेको अर्को हेमन्त जंग सिंहको परिवारलाई त्यस्तै खालको समस्य रहेको छ । एउटा त्रिपालभित्र सबै परिवारका सदस्य बस्दा दैनिक समस्य हुँदै आएको छ । साना नानी, बाबु त्रिपालभित्र बिरामी भएका छन् भने ठूलालाई समेत बस्न मुस्किल परिरहेको छ ।

भेरी नगरपालिका-१ डिँगा कि २१ वर्षीया पुष्पा सिंहको दुई महिना अगाडि मात्र निर्माण गरेको घर भूकम्पले भत्किएपछि त्रिपालमा बस्दै आएकी छिन । दुई महिनाको छोरासहित बस्दै आएकी उनको दैनिकी पनि समस्याले गाजेको छ । छोरीलाई आँखा पाक्ने रोगले हैरान बनाएको छ ।

पुष्पाले भनिन, “अरु नदेखिने समस्य त के हामीलाई थाहा छैन ।” धन्न घर भत्किँदा बाचेको जिन्दगी त्रिपालको सहारामा कसरी बाँच्ने सङ्र्घष सुरु भएको उनको बताइन । “त्रिपालबाट पनि शीत चुहिन्छ । जसका कारण छोरी बिरामी परेकी हो । न खाने अन्न छ न जीउ ढाक्ने कपडा नै । घर भत्किएर लत्ताकपडा र खाद्यान्न सबै पुरियो अब के खाएर बाँच्ने रु,” उनले भनिन, “राहतका नाममा अहिलेसम्म एक सरो त्रिपालबाहेक केही पाएका छनौँ । चिसो र भोकले मर्ने बेला भो ।”

त्रिपालमा बसेका धेरै सुत्केरी र बालबालिकामा रुघाखोकी ज्वरो, निमोनियालगायत समस्या देखिन थालेको नलगाड नगरपालिका-१ पालीकी कल्पना विकले बताइन । उनले सुत्केरी, गर्भवती र बालबालिकालाई पोषिलो खानेकुराको कमी भएको बताइन ।

“जाजरकोटका ९५ प्रतिशत मानिस घरबाहिर छन् । शौचालय भत्किएका छन् । पोषणको अभाव छ । सुत्केरी, गर्भवती, वृद्धवृद्धा र बालबालिका बिरामी पर्न थालेका छन् उपचारको व्यवस्था हुन नसकेको छैन । शौचालय नहुँदा बस्ती नजिक खुला ठाउँमा शौच गर्न थालिएको छ । धेरै मानिस मानसिकरूपमा डराइरहेको अवस्था छ,” नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले भने । प्रमुख रावतले गर्भवती र सुत्केरीलाई तत्काल पोषिला खानेकुरा दिएर रोग प्रतिरक्षा शक्ति बढाउनु अवस्था रहेको बताए । स्वास्थ्य संस्थामा पनि स्वास्थ्यकर्मी र औषधिको व्यवस्थाका लागि पहल भइरहेको उनको भनाइ छ ।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा प्रतीक्षा भारतीले चिसोले धेरै बालबालिका बिरामी पर्न थालेको बताउँदै उपचारको व्यवस्था मिलाउन सम्बन्धित पालिका र स्वास्थ्य संस्थालाई आग्रह गरिएको बताइन । पालिकाका स्वास्थ्य संस्थासमेत त्रिपालमा सञ्चालन भएकाले सबैलाई एकैपटक उपचार गर्न सम्भव नहुने देखिएको छ ।

नलगाडको नगर अस्पताल त्रिपालमा चलिरहेको छ । बिरामीलाई भर्नादेखि सबै काम त्रिपालबाट भइरहेको छ । त्यस्तै बारेकोटको लिम्सास्थित १० श्ययाको अस्पतालसमेत त्रिपालमा चलिरहेको छ । जाजरकोटमा छ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ४ : २५ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी