६ जेष्ठ २०८३, बुधबार | May 21, 2026

नबिकेपछि खेतमै कुहिन लाग्यो सयपत्रीफूल



झापा । व्यावसायिक सयपत्री फूलको खेतीमा लगानी गरेका किसान फूल नबिकेपछि समस्यामा परेका छन् । तिहार र छठपर्वमा पनि नबिकेका फूल अब खेतमै कुहिने अवस्था पुगेको छ ।

बिर्तामोड नगरपालिका वडा नं ९ का दलबहादुर अधिकारीले यस वर्ष एक बिघा पाँच कठ्ठा जग्गामा सयपत्री फूलको खेती लगाएका थिए । गत वर्ष १० कठ्ठामा मात्र फूलखेती गर्दा मनग्य आम्दानी भएपछि उत्साही बनेर यसपालि खेती विस्तार गर्दा लगानी नै बर्बाद भएको उनले गुनासो गरे ।

तिहारको मुखैमा भारतबाट आयातित फूलको माला र थुँगाले बजार जमाएपछि स्वदेशी सयपत्री फूलको उत्पादन बिक्री नभएको उनको भनाइ छ । “भारतबाट सयपत्री फूल र कागजको माला भित्र्याउन पाइँदैन भन्ने सुनिएको थियो”, उनले भने, “जब तिहारमा फूल बिक्री हुने दिन सुरु भयो, भारतबाट ल्याइएका सयपत्री फूलको मालामात्र होइन थुँगा नै बजारभरि देखियो । हामीले कत्रो मेहनत गरेर फुलाएका फूल बिक्दै बिकेनन् ।”

अहिले उनको फूलखेतीमा दुई हजार पाँच सय केजी (२५ क्विन्टल) सयपत्री ढकमक्क फुलेको छ । कोलकाताबाट झिकाइएको बाह्रमासे सयपत्रीले यसपालि राम्रो उत्पादन दिएको उनको भनाइ छ । हालको बजारभाउअनुसार तिहारमा कम्तीमा रु पाँच लाखको फूल बिक्री हुने आशा गरेकाको उनले रु ७० हजारको मात्र फूल बिकेको जानकारी दिए । उनले फूलखेतीमा रु एक लाखभन्दा बढी लगानी गरेको बताए ।

सुरुमा प्रतिकेजी रु दुई सय ५० मा फूल बोटबाटै बिक्री भएता पनि तिहारको मुख्य दिनमा रु ५० प्रतिकेजीका दरले बेच्न खोज्दासमेत ग्राहक नपाउँदा ज्यादै निराश बनेको उनको गुनासो छ । “ताजा फूललाई बोलेरो गाडीमा राखेर साउन्ड सिस्टमबाट प्रचार गर्दै गाउँसहर डुलाउँदासमेत बिकेन”, उनले बताए ।

जिल्लामा तिहारको बेला रु एक करोडको सयपत्री फूल र रु १० करोडको झिलीमिली बत्ती बिक्री हुने गरेको छ । खुला सीमा भएका कारण भारतबाट सस्तो मूल्यका सपयत्रीका माला चोरी निकासी भएर भित्रिने गरेका छन् ।

स्थानीय व्यापारीहरू भारतबाट आएको सयपत्री फूलको माला रु २५ प्रतिकेजीका दरले बिक्री भएको बताउँछन् । भन्सार अधिकारीहरूका अनुसार नेपालको फूल उत्पादक संस्थाले भारतबाट सयपत्री आयातमा प्रतिबन्ध लगाएको प्रचार गरेता पनि सरकारी निकायबाट कुनै प्रतिबन्ध घोषणा भएको थिएन ।

खेतमै खेर जाने अवस्थामा रहेका सयपत्री फूललाई आयुर्वेदिक औषधि उत्पादकहरूले खरिद गरेर लैजान्छन् भनेर सुनेता पनि त्यस्तो कुनै संस्था सम्पर्कमा नरहेको बिर्तामोडका किसान दलबहादुर अधिकारीले बताए । चाडपर्व बितिसकेको हुँदा मालाका लागि फूल बिक्ने अब सम्भावना छैन ।

सयपत्री फूललाई सात डिग्री सेल्सियस तापक्रममा राख्दा केही अवधि ताजा राख्न सकिन्छ । तर बिर्तामोडका शीतभण्डारले अरु उत्पादन राखेका कारण सयपत्री फूलका लागि उचित तापक्रम मिलाउन गाह्रो पर्ने बताएको अधिकारीले बताए। “शीतभण्डारमा राख्न पाइएन र कसैले किनेर लगेनन् भने खेतमै सयपत्री कुहिएर गएको टुलुटुलु हेर्नुपर्ने अवस्था आउँछ”, उनले भने ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ७ : ४० बजे

केही जिल्लामा भारी वर्षा, सुदूरपश्चिम र लुम्बिनीमा अझै तातो दिन कायम रहने

काठमाडौँ । तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

डाबर नेपालको ‘डाबर हनी’ गुणस्तरहिन्, बजारबाट फिर्ता गर्न उत्पादकलाई आदेश

काठमाडौं । डाबर नेपालले बजारमा बिक्रि वितरण गरिरहेको डाबर हनी(मह)

काठमाडौँको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट

नगरप्रहरीद्वारा दुर्व्यवहारको घटनामा क्षतिपूर्ति प्रदान

सुर्खेत । काफल बेच्ने महिलामाथि नगरप्रहरीले दुर्व्यवहार गरेको घटनामा वीरेन्द्रनगर