१६ बैशाख २०८१, आइतबार | April 28, 2024

धनकुटामा वाडाङ्मी र पापनीको रौनक



धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष गरेर जिल्लाका चार स्थानीय तहमा रहेका राई समुदायले चार दिनदेखि १५ दिनसम्मका लागि यो पर्व मनाइरहेका छन् ।

अहिले धनकुटा नगरपालिका र सहिदभूमि गाउँपालिकाको सबै ठाउँमा ढोलनाच, मारुनी नाच तथा भोज खाएर चाड मनाउने क्रम जारी छ । पाख्रिबास नगरपालिकाको फाङ्दुवा क्षेत्रमा गत बिहीबार यस वर्षको वाडाङ्मी चाड सकिएको छ भने साँगुरीगढी गाउँपालिकाको आहाले-महाभारत क्षेत्रमा पनि पापनी तथा वाडाङ्मी शनिबार सकिएको छ ।

आफ्ना इष्टदेव बराह, मार्गा, जिमी मार्गा, सुब्बा मार्गा, फुडाहाङ (बुढाहाङ)को दैविक आह्वान गर्ने तथा पितृ पूजा (श्राद्ध) गरेर यो पर्व मनाउने गरिन्छ । समुदायअनुसार कुखुरा, सुँगुर, परेवा, राँगा आदिको बलि पूजा गरेर जाँड, रक्सीसँग खाने र जमरा तथा सयपत्री फूलको माला लगाएर यो पर्व मनाइन्छ ।

ढोल र मादलको आवाजले गुञ्जयमान जिल्लामा आउने आगन्तुक तथा पाहुना पर्यटकले अहिले ढोलनाच, मारुनी मादलको रमितासँगै स्थानीय परिकार र पेय पदार्थको आनन्द लिन सक्नेछन् ।

आठपहरियालाई वाडाङ्मेट (वाडाङ्मी) मनाउने चटारो

धनकुटा नगरपालिकाको १० वडाभित्र करिब पाँच हजार जनसङ्ख्या रहेको यो समुदायलाई अहिले तोकिएको समयसीमाभित्र वाडाङ्मी चाड सक्नैपर्ने चटारो छ । वर्षभरि देहान्त भएका आफन्तको बरखी बारेका तीर्थालु दुःख बहाउनका लागि बराह धामको सामूहिक तीर्थयात्रासँगै सुरु भएको चाड औँशी आउनुभन्दा एक दिनअघि सक्न आठपहरिया समुदाय चाडमा व्यस्त छन् ।

विसं २०३० सम्म छ किपट (बिर्ता)सहित नौ पगरीको राजसी अधिकार पाएका यी समुदायको संस्कृति जीवन्त छ । विसं २०५८ बाट आफूहरू राई नभएको जनाउँदै आठपहरिया जातिको नामबाट पहिचान खोजिरहेका यो समुदाय अझै पनि आफ्नो परापूर्वकालीन सांस्कृतिक तथा धार्मिक कानुनमा सञ्चालित छ । तथापि यो समुदायले आफ्नो सबैभन्दा ठूलो पर्व वाडाङ्मीमा खुलेर आफूसँग भएको ऋण, धन खर्च गरेर चाड मनाउने गरेका छन् ।

कार्तिक शुक्ल पूर्णिमाको चार दिनअघिबाट बराह क्षेत्रको सामूहिक तीर्थयात्रासँगै यी समुदाय चाड मनाउन व्यस्त रहेको किरात आठपहरिया समाजका केन्द्रीय सदस्य कोमल आठपहरिया ९राई०ले जानकारी दिइन । पन्ध्र दिनभन्दा बढी मनाइने यो पर्वमा आफ्ना सबै काम छाडेर यो समुदाय एक वर्षभित्रमा आफ्नो परिवारमा जन्मदेखि मृत्युसम्ममा घटेका सबै खालका सांस्कारिक घटनाबाट चोखिन व्यस्त छन् ।

विशेषगरेर वर्षभरि मृत्यु भएकाका बरखी बारेका आफन्त यही पर्वमा ५२ किमी दक्षिणमा रहेको आफ्ना मुख्य इष्टदेव बराह धाममा तीर्थ गएर उनलाई चाडमा आउने निम्तो दिने र कपाल खौरेर सप्तकोशीसँगै रहेको कोकाहा खोलामा दुःख बहाउने गर्दछन् ।

नियमानुसार चार दिनको पैदल र बास बसेर बराह मन्दिरबाट ल्याएको पानीले घर चोख्याउने तथा नगरमा रहेको ५२ चुले घरबाट दैवी आह्वान (माङ उठाउने) कामपछि यो समुदायमा चाड सुरु हुने गर्दछ । त्यसपछि नगर क्षेत्रमा रहेका यी समुदायको २२ देवालय (मार्गा)मा कुखुराको चल्ला, सुँगुरको पाठा पूजा गर्ने, पितृ पूजा गर्ने, मार ९भेजो० हान्ने, भोजभतेर गरेर यो पर्व मनाउने प्रचलन छ । यस अवधिमा मृत्यु भएकाहरूको घर चोख्याएर नयाँ कपडा लाउने, नयाँ घर चोख्याउने, नयाँ सन्तान ९छोरा० जन्मिएको भए हर्षबढाइँ गर्ने, घर-घरमा घुमेर तिहारमा देउसी खेलेझैँ ढोल नाच्ने गरिन्छ ।

साथै आफ्नो पायक पर्ने तोकिएको मुख्य पुजारीहरूको घरमा प्रत्येक घरको आगामी वर्षको जोखाना (बत्ती हेर्ने), अनिवार्यरूपमा राँगाको मासु, मदिरा खाएर ढोल र मारुनी नाचेर भव्यरूपमा चाड मनाइन्छ । अन्त्यमा औँशीभन्दा एक दिनअघि यी समुदायका करिब एक दर्जन ढोलनाच टोलीले आ-आफ्नो क्षेत्रमा राँगा काटेर भोज (खोइ) खाएर चाडको अन्तिम भोज खाने गर्दछन् । त्यसको भोलिपल्ट मारुनी टोलीले पनि आफ्नो क्षेत्रका तोकिएको जङ्गली क्षेत्रमा सरस्वतीको पूजा, मारुनी नाच र वनभोज गरेर बराहदेवलाई बिदाइ गरेपछि यो चाडको अन्य हुने केन्द्रीय सदस्य आठपहरियाले जानकारी दिइन ।

खाल्सा क्षेत्र पनि पापनी (वाडाङ्मी) व्यस्त

सहिदभूमि गाउँपालिकाको सम्पूर्ण खाल्सा क्षेत्र साविक आँखिसल्ला, खोकु र छिन्ताङ गाविसका राई समुदाय पनि वाडाङ्मी चाड मनाउन व्यस्त छन् । यस क्षेत्रको वाडाङ्मीमा नाचिने ढोल अर्थात् पापनी नाच जिल्लामा नै प्रख्यात छ । यसका कारण खाल्सा क्षेत्रमा मनाइने वाडाङ्मी चाडलाई नै पापनी भन्ने चलन छ ।

सहिदभूमि-६ आँखिसल्लाका पापनी पर्व सम्बन्धी जानकार नरेन्द्र राई (कश्चित)का अनुसार सो क्षेत्रमा कार्तिक शुक्ल पूर्णिमाको पहिलो मङ्गलबारबाट पापनी सुरु भएको छ । यो समुदायले पर्व घर-घरमा पितृ पूजा गरेर आफ्नो इष्टदेव फुडाहाङ (बुढाहाङ)को पूजाआराधनासँगै पापनी पर्व सुरु हुने उनले जानकारी दिइन ।

बुडाहाङको प्रतिनिधि मानिने ङाङ्सुबा र उनकी श्रीमती मानिने छाम्बाक (मुन्धुमविद्ह)रूको घरमा माङ्ला हेर्ने (दैविक आह्वान) काम गरिन्छ । त्यपछि सो क्षेत्रमा भएका मुख्य पाँच पुजारीका गढीघरमा आफ्नो अनुकूलतामा पापनी गीत गाएर ढोल नाच्ने, मुन्धुम गाउने प्रचलन छ ।

यस अवधिमा यस क्षेत्रमा बालीनाली थन्क्याउन वा छुन नहुने, पापनी चाड अवधिभरि कुनै पनि महिला वा पुरुष गाउँ छाडेर बाहिर गएमा दण्डित गरिने धार्मिक कानुन पालना गर्नुपर्ने नियम रहिआएको छ । चाडको अन्तिम दिन छरिएर रहेका सबै पाँचवटा गढीघरअन्तर्गतका ढोलनाच टोली मुख्य पुजारीको गढीघरमा भेला भई उल्टो पापनी नाचेर फुडाहाडलाई बिदा गर्ने चलन छ । त्यसपछि एक वर्षको लागि ढोल झ्याम्टा नचलाउने र सोही दिन सरस्वती थानमा मारुनी मादल नाचेर मादल बजाउन फुकुवा गरेर आफ्नो भाकल बुझाएपछि पापनी पर्वको अन्त्य हुने राईले जानकारी दिइन ।

फाङ्दुवामा सकियो वाडाङ्मी

पाख्रिबास नगरपालिकाको वडा नं ३ फाड्दुवा, कसेनी र वडा नं १० चुनवाङका आठपहरियाले पनि एक हप्ता वाडाङ्मी चाड मनाएर बिहीबार समापन गरेका छन् । धनकुटा नगरपालिकामा राईबाट आठपहरिया जातिमा सूचीकृत हुन स्थापित आठपहरिया समाजले विसं २०६० तिर समटेको यो क्षेत्रमा भने परिमार्जन गरेर वाडाङ्मी मनाउने गरिएको छ ।

एकमात्र थातथलो रहेको यो क्षेत्रमा १५ दिन मनाइने वाडाङ्मी परिमार्जन गरेर भाइटीकाको दिनबाट एक हप्तासम्म मनाइँदै आएको वडा नं ३ का वडाध्यक्ष सरोज राईले जानकारी दिए । राईबाट पछिल्लो समयमा नयाँ नाम आठपहरिया पाएका यहाँका समुदायले यहाँको एकमात्र सुब्बा मार्गा, गढीघर र घर-घरमा पितृ पूजा गरेर चाड मनाउने गरेका छन् ।

यहाँका समुदायले सप्तकोशी किनारमा रहेको बराहक्षेत्र तीर्थ जाने चलनको अन्य गरेर धनकुटा र भोजपुरको सङ्गममा रहेको अरुण नदीको सुनबालुवा भन्ने स्थानमा गएर कपाल खौरेर दुःख बगाउने र त्यहाँबाट पानी ल्याएर घर चोख्याउने गरेका छन् । उनीहरूले पनि वर्षभरि भएका सबै कर्मकाण्ड यही वाडाङ्मीमा सकेर नयाँ अध्यायको सुरु गर्ने गरेका छन् । तर उनीहरूले घर-घरमा डुलेर ढोल नाच्ने चलनलाई छाडेर एक दिन मुख्य पुजारीको गढीगाउँमा भेला भएर सबै घरको बत्ती हेर्ने ९जोखाना हेर्ने०, ढोल तथा मारुनी नाचेर चाड सक्ने गरेको वडाअध्यक्ष राईले जानकारी दिए ।

आहाले-महाभारतमा चारदिने वाडाङ्मी

साँगुरीगढी गाउँपालिका क्षेत्रको साविक महाभारत र आहाले गाविस हाल वडा नं ८ र ९ का राई समुदायले सबैभन्दा छोटो चाड मनाएर शनिबारबाट वाडाङ्मी सकिएको छ । वर्षभरि देहान्त भएका आफन्तले कार्तिक एकादशीमा बराह र त्रिवेणी नदीमा कपाल काटेर दुःख बहाएर आएपछि पूर्णिमाको पहिलो बुधबारबाट यस क्षेत्रमा चाड सुरु हुने गर्दछन् ।

बुधबारबाट किलघर (पुजारी घर)मा माड उठाउने काम (दैवी आह्वान)पछि चाडका लागि तोकिएको चारदिने समयसीमासँगै शनिबारदेखि चाड सकिएको साँगुरीगढी गाउँपालिका वडा नं ८ सिङ्कुलाका महेन्द्र राईले जानकारी दिए ।

यहाँका राई जातिले वाडाङ्मी पर्वका अवसरमा बुढाहाङलाई पोथी कुखुरा, घरघरमा चुलोमा भाले, आँगनमा परेवाको बलि दिएर पितृ पूजा गरेर चाड मनाउँछन् । पितृ पूजापछि बेलुका रातभरि घर-घरमा पापनी (ढोल) नाच्ने, भोज खाने र अन्तिम दिन सरस्वतीको पूजा गरेर मारुनी नाचसँगै यस क्षेत्रको पापनी अर्थात् वाडाङ्मी सकिएको राईले जानकारी दिए । उनका अनुसार यस पर्वलाई यहाँका समुदायले वर्षभरि देहान्त भएकाका आफन्त दुःख कर्मबाट चोखिने र पितृलाई सम्झने पर्वका रूपमा मनाउने गर्दछन् ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ९ : १८ बजे

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश

अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको अनुभव : ‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ’

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीले नेपालमा लगानीमैत्री वातावरण भएको

बझाङमा कांग्रेसलाई माओवादीले उछिन्यो, एमालेको अग्रता कायमै

काठमाडौं । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

बुटवलको मिलनचोकमा खुल्यो महालक्ष्मी स्वीट्स

बुटवल । बुटवलको मिलनचोकमा गुणस्तरीय, शुद्ध मिठाई र शुद्ध शाकाहारी