६ मंसिर २०८३, आइतबार | November 23, 2026

सुन्तलाको बगैँचा पस्न डराउँछन् दोसल्लेवासी



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तलाको दाना कसरी टिप्ने भन्ने चिन्तामा छन ।

दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि मर्न थालेका छन् । ४२ घरधुरीको बसोबास रहेको दोसल्लेका बासिन्दाले पूरै गाउँमा सुन्तलाखेती गरेका छन् । नौ हजार सुन्तलाको बोट भएको बगैँचाको बीचमा रहेको ११ केभी क्षमताको विद्युतको नाङ्गो तारले हाँगा छुन थालेको छ । बगैँचाभित्र पस्न विद्युतको करेन्ट लागेर दुर्घटना हुने जोखिम रहेको अन्नपूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरले बताइन ।

“सुन्तलाको बोटले बिजुलीको वितरण लाइनको तार छोएकाले बगैँचामा जाँदा करेन्टको झट्का आउँछ”, दोसल्ले व्यावसायिक सुन्तला कृषक समूहका अध्यक्ष पाइजाले भने, “तारमा छोइएर सुन्तलाको बोट मर्न थालेका छन् । रहेका बोटका सुन्तलाको दाना टिप्न, गोडमेल र मलजलका लागि बगैँचामा पस्दा करेन्ट लागेर दुर्घटना हुने डर छ ।”

सुन्तलाको बोट हुर्कदै गएपछि हाँगाले नाङ्गो तार छोएर जोखिम बढेको हो । चार सय भोल्टको विद्युत् प्रवाह हुने नाङ्गो तारले छोइएर सुन्तलाका बोट मर्न थालेका हुन् । गोडमेल गर्दा र सुन्तलाको फल टिप्दा करेन्ट लाग्ने जोखिम रहेको स्थानीय बेगबहादुर पाइजाले बताए ।

“सुन्तला बगैँचाभित्र जाँदा करेन्ट लागेर ज्यानै जाला भन्ने डर छ”, उनले भने, “तारले छोएको बोटको सुन्तला माया मार्नुपर्ने अवस्था छ । बगैँचा पस्दा कता करेन्ट लागेर मरिने हो भन्ने डर छ ।” केही दिनअघि दोसल्ले गएका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीलाई स्थानीयवासीले विद्युतीय दुर्घटनाको जोखिम न्यूनीकरणका लागि नाङ्गो तार हटाएर एबिसी केबुल भएको कालो तार जडान गर्ने व्यवस्था गर्न माग गरेका थिए ।

“दोसल्लेको विद्युतीय दुर्घटनाको जोखिमको अवस्थाका बारेमा नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रमा जानकारी गराएपछि प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको छ”, उनले भने, “जति सक्दो छिटो नाङ्गा तार हटाएर एबिसी केबुल राख्ने तयारी गरेका छौँ ।”

सदस्य भण्डारीको नेतृत्वमा आइतबार नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख प्रताप बराल, इञ्जिनियर शिव पौडेल, लेखा प्रमुख श्याम रानासहितको टोलीले दोसल्लेको विद्युत् वितरण लाइनको स्थलगत निरीक्षण गरेको छ ।

केन्द्रका प्रमुख बरालले सुन्तला बगैँचाभित्र नाङ्गो तारको विकल्पका एबिसी केबुल राख्न प्रक्रिया अघि बढाएको र केही दिनमै तार परिवर्तन गरिने बताए । अन्नपूर्ण गाउँपालिकाको दोवा, बेनी नगरपालिकाको बास्कुनालगायत ठाउँमा बस्ती र बगैँचामाथि रहेको विद्युत्को तार व्यवस्थापन गर्न पहल गरिरहेको प्रदेशसभा सदस्य भण्डारीले बताए ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ७ : ३६ बजे

Your email address will not be published.

प्रधानमन्त्रीको भारत भ्रमण : हवाई मार्ग खुल्ने आशमा लुम्बिनी

बुटवल । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणसँगै लुम्बिनी क्षेत्रमा नयाँ

प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

नयाँदिल्ली । छिमेकी मित्रराष्ट्र भारतको दुईदिने राजकीय भ्रमणमा यहाँ रहेका

प्रधानमन्त्री शाह नयाँदिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत

नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारतको

प्रधानमन्त्री बालेन भारत प्रस्थान, लिएनन् सम्मान गारद

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन भारत प्रस्थान गरेका छन् ।

सामान्य रूपमा नयाँ दिल्ली प्रस्थान गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आइतबार दिउँसो दुई दिने