२० बैशाख २०८१, बिहिबार | May 2, 2024

जहाज नबस्ने अन्तराष्ट्रिय विमानस्थल र कहिल्यैै नसकिने बुटवल-नारायणगढ सडक देखेर निरास रुपन्देहीका पर्यटन व्यवसायी



बुटवल । भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल र बुटवल-नारायणगढ सडकको स्तर उन्नतीपछि रुपन्देहीको पर्यटन ब्यवसायले गति लिने आशामा करोडौं लगानी गरेका पर्यटन ब्यवसायीहरु बिमान स्थल बनेर पनि नचलेपछि र बुटवल-नारायणगढ सडकखण्ड पुरा हुन बिलम्ब भएपछि निरास हुँदै गएका छन् । जहाज चढेर बिदेशी पर्यटक र गाडी चढेर आन्तरिक पर्यटकले लुम्बिनी र त्यस आसपासको क्षेत्र भरिभराउ हुने सपना बोकेर लगानी गरेका होटल ब्यवसायीहरुले बिमानस्थलमा जहाज नबसेपछि र सडक बन्न बर्षौं लाग्ने देखेपछि निरास बनेका हुन् ।

उनीहरुले बिमानस्थलमा जहाज नबस्दा र सडकको काममा बिलम्ब हुँदा भएकै ब्यपारमा पनि ५० प्रतिशत घटेको गुनासो गरेका छन् । बुटवल नारायणगढ सडकको दुरवस्थाका कारण आन्तरिक पर्यटनमा ठुलो क्षति भएको उनीहरुको भनाई छ ।

पर्यटकस्तरदेखि पाँचतारेसम्मका होटेल व्यवसायीहरुको संस्था नेप्लिज होटेलियर्स एशोसिएसन (एनएचए) लुम्बिनीले सडकको दूरावस्थाले व्यापार व्यवसायमा असर परेको निष्कर्ष निकाल्दै बुटवल नारायणगढ सडक विस्तारको काम छिटो पूरा गर्न माग गरेको छ । सडकको दुरावस्थाले ५० प्रतिशत व्यापार घटेको दाबी गर्दै होटल संचालकहरुले सडक विस्तारको काम छिटो सक्न माग गरेका हुन् ।

एशोसिएसनको पहिलो विस्तारित बैठकले सडकको दुरावस्थाका कारण रुपन्देहीको होटल व्यवसायमा ५० प्रतिशत गिरावट आएको दावी गर्दै सडक विस्तारको काम छिटो पूरा गराउन दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको एनएचएका अध्यक्ष प्रविणबहादुर पाठकले जानकारी दिए ।

एशोसिएसनले रुपन्देहीमा पर्यटकको बसाइ कम्तीमा एक हप्ता लम्ब्याउन बुद्ध जन्मस्थल लुम्बिनीसहित रुपन्देहीका बिभिन्न पर्यटकिय स्थललाई केन्द्रमा राखेर चितवन, पोखरा, नेपालगन्ज र बर्दियासम्मको टुर प्याकेज योजना बनाएपनि बुटवल–नारायणगढ सडकको कन्तबिजोकले योजनामा असर गरेको अध्यक्ष पाठकले बताए ।

पर्यटकको चहलपहल बढ्ने सिजनमा निर्माणाधीन सडकको दूरावस्थाले रुपन्देही आउने पर्यटक अन्यत्र डाइभर्ट भइरहेको होटल एशोसियसन नेपाल (हान)का केन्द्रीय सदस्य गोपाल रानाले बताए । उनले पश्चिमबाट चितवन लगायतका स्थानमा जाने र पुर्वबाट लुम्बिनी सहित बर्दिया, शुक्लाफाँटा जान चाहने पर्यटकलाई सडकका कारण आउन मन नलाग्ने अवस्था आएको उनले बताए । सडकको दुरावस्थाले पर्यटन ब्यवसायलाई असर पर्नुका साथै आम सर्वसाधारणको स्वास्थ्यमा समेत गम्भीर असर परेको बताउँदै रानाले सडककै कारण लाखौंका सवारी साधनहरु जिर्ण बनेको बताए ।

एकातिर गौतमबुद्ध विमानस्थल पूर्णक्षमतामा सञ्चालन हुन नसक्नु, अर्कोतिर पूर्व–पश्चिम राजमार्गको मध्य खण्डमा भइरहेको विस्तारको काम कछुवा गतिमा हुँदा बुटवल र समग्र रुपन्देहीको पर्यटन व्यवसायमा असर पुगेको एशोसिएसनका उपाध्यक्ष दिलिप गौचनले गुनासो गरे ।

बुटवल–नारायणगढ सडक विस्तार आयोजनाका प्रमुख सशांक मिश्रले समयमा काम सम्पन्न हुन नसक्नुमा नेपालको कागजी प्रक्रिया जिम्मेवार रहेको आरोप लगाए । उनले सुरुको अवस्थामा बनक्षेत्रमा रुख कटानका लागि बन मन्त्रालयबाट रुख कटानको अनुमति दिन गरिएको ढिलाई र ५ हजार रुख कटानको स्वीकृति पाएकोमा साइडमा १२ हजार बढी रुख काट्नु पर्ने अवस्था जिम्मेवार रहेको उनले बताए ।

त्यस यता स्थानीय तहहरुले आवश्यक परेजति माटो र ढुंगा गिटी उपलब्ध गराउन नसक्दा कामले गति लिन नसकेको मिश्रले बताए । आयोजनालाई माटो ३ लाख घनमिटर, ढुंगा र गिटी ६ लाख घनमिटर गरी ९ लाख घनमिटर ‘म्याटेरियल’ आवश्यक रहेको भएपनि चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि स्थानीय तहहरुले निर्माण सामग्री दिनेबारे निर्णय नगर्दा समस्या परेको आयोजना प्रमुख मिश्रले बताए । माटो नपाएकै कारण बुटवल बर्दघाट खण्डमा लामो समयदेखि फिलिङको काम हुन नसकेको उनले बताए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते बुटवल–नारायणगढ सडकखण्ड विस्तारको बुटवलमा शिलान्यास गरेका थिए । ११४ किलोमिटर लामो यो सडक विस्तारको काम दुई वर्षमा पूरा गर्ने गरी चाइना स्टेट कम्पनीले ठेक्का पाएको छ ।

१७ अर्ब लागतको यो परियोजना एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सुरु भएको विस्तारको काम सम्झौता अनुसार २०७९ साउनमा सकिनुपर्ने भएपनि रुख कटान सहित कोरोना महामारीका कारण समयमा सम्पन्न हुन नसकेको परियोजनाको भनाई छ । पहिलो पटक २०८० भदौ ११ गतेसम्मका लागि म्याद थप गरिएको भएपनि निर्माण सामग्री अभाव लगायतका कारण देखाएर ठेकेदार कम्पनीले काम सम्पन्न नगरेपछि फेरि एक वर्ष म्याद थपिएको छ । साढे ४ वर्षको अवधिमा अहिले ४० प्रतिशत मात्र काम सकिएको छ । अहिले धुलो र खाल्डाखुल्डीले गर्दा यात्रा कष्टकर हुने गरेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १ : ३२ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य