२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

हात्ती धपाउन रातभर जाग्राम



कञ्चनपुर । खेतभर हात्तीका डोबैडोब छन् । ठाउँठाउँमा आगो बालेको खरानीको थुप्रो । टुसाउन लागेको गहुँबाली कुल्चिएको छ । खेतको किनारमा लहरै प्लाष्टिक झुण्ड्याइएका छन् ।

हात्ती धपाउन स्थानीयले अपनाएको यो जुक्तिले काम गरेको छैन । भीमदत्त नगरपालिका-१९ बागफाँटाका स्थानीय अँध्यारो हुनेबित्तिकै हात्ती धपाउन खेतमा व्यस्त हुन्छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको बागफाँटाको बैजनाथ टोलमा एक सातादेखि जङ्गली हात्तीले आतङ्क मच्चाइरहेको छ ।

निकुञ्जबाट आउने हात्तीको बथानबाट खेत र घरभित्रको खाद्यान्न जोगाउन स्थानीय बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन् । “राति पर्नेबित्तिकै हात्ती आइहाल्छन् । घर र खेतको बालीनाली जोगाउनै हम्मेहम्मे पर्छ”, स्थानीय लक्ष्मी महराले भनिन, “गहुँका बोट साना छन् । त्यसैले खान नसक्दा हात्ती सिधैँ घर भएतिर आउन खोज्छन् ।”

होहल्लाका साथै पटाका पड्काएर हात्ती धपाउने गरेको उनले बताइन । एक सातादेखि निरन्तर हात्तीको बथान आउन थालेकाले राम्ररी सुत्न नपाइएको उनको भनाइ छ । “आगो बालेर चिसोमा खेतमै रात काट्छौँ । दश-बीसको सङ्ख्यामा हात्ती आउँछन्”, उनले भनिन, “निकुञ्जबाट हात्ती सुरुमा यहाँ पस्छन् । त्यसपछि खानेकुरा केही नपाएपछि अन्यत्र जान्छन् ।”

जङ्गली हात्ती घरनजिकै पुग्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । स्थानीय ठगुराम डगौँराले एक सातादेखि सुत्न पाएका छैनन । हात्ती घरनजिकै आउन थालेपछि त्रसित भएर बस्नुपरेको उनको भनाइ छ । “छिमेकमा हात्तीले सेफ्टीट्याङ्की भत्कायो । कतिबेला घरभित्रै पस्ने खतरा छ । डराइडराइ बस्नुपरेको छ”, उनले भने, “खेतको गहुँ पूरै कुल्चिएको छ ।”

डगौँराले यहाँ दुई बिघा जमिनमा गहुँखेती गरेका छन । राति विद्युत्को व्यवस्था नहुँदा अँध्यारोमा आगो बालेर हात्ती धपाउनुपरेको स्थानीय खड्कसिंह विष्टले बताए । “साइरन माग गरेको डेढ वर्ष बितिसक्यो । अहिलेसम्म पाएका छैनौँ । उज्यालोको व्यवस्था पनि छैन”, उनले भने, “छवटा चिम मागका थियौँ । बजेट अभाव भएको भन्दै नगरपालिकाले दिएन ।”

‘साइरन’ भए हात्ती धपाउन सहज हुने स्थानीयको विश्वास छ । निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दा वन्यजन्तुको पीडाले हायलकायल छन् । भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्का उज्यालोका लागि तत्काल बल्ब उपलब्ध गराउने प्रतिबद्धता जनाउँछन ।

“निकुञ्जसँग जोडिएको बस्तीमा जङ्गली जनावरको समस्या छ । धेरै ठाउँमा उज्यालोका हामीले बल्ब उपलब्ध गराएका छौँ”, उनले भने, “छुटेका ठाउँमा उज्यालोका लागि तत्कालै बल्ब वितरण गर्छौँ ।”

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ७ : ४५ बजे

फेवातालमा कार खस्दा चालकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक

कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई

दार्चुला । दार्चुला सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली

खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकको आयआर्जन वृद्धि र व्यावसायिक

आज मध्यान्नसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

आज भ्यालेन्टाइन डे

काठमाडौं । आज फेब्रुअरी १४, विश्वभर मनाइने भ्यालेन्टाइन डे अर्थात्