२७ कार्तिक २०८३, शुक्रबार | November 13, 2026

ऋण खोजेर उपचार गर्दै हात्तीपीडित घाइते



झापा । मेचीनगर-११ कालिका टोलकी ४२ वर्षीया सङ्गीता निरौला गहिरो निन्द्रामा थिए । ‘हात्तीले घरमा आक्रमण गर्यो भाग् भाग्’ भनेर गाउँलेले चर्को आवाजले चिच्याएको सुनेपछि ब्युँझिएर पति मेघनाथ निरौलालाई डो¥याउँदै उनी कोठाबाट बाहिर निस्किए । कोठाबाट आँगन छिचोल्न नपाउँदै निरौला दम्पतीलाई जङ्गली हात्तीले आक्रमण ग¥यो । सङ्गीताका पति मेघनाथ दुईवटै आँखा देख्दैनन । हात्तीले दुवैलाई सुँढले बेरेर पछार्यो । भुइँमा ढलेका दम्पती बेहोस भए । हात्ती हिँडेपछि गाउँलेले नजिकको मेची आम्दा अस्पतालमा उपचारका लागि पुर्याए ।

“आत्तिएर भाग्ने क्रममा थियौँ, अगाडि हात्ती उभिइरहेको रहेछ,” सङ्गीताले दुई साताअघिको घटनाबारे जानकारी दिँदै भनिन, “सुँढले च्याप्प समातेको थाहा छ, त्यसपछि एकैचोटि आम्दा अस्पतालमा मात्र हाम्रो होस खुलेको थियो ।”

हात्तीको आक्रमणमा मुस्किलले ज्यान जोगाएका निरौला दम्पतीले ऋण खोजेर उपचार गराउनु परेको बताएका छन् । आफ्नो जग्गा नभएका उनीहरु झापाकै एउटा विद्यालयको १७ धुर जग्गामा वार्षिक ठेक्का तिर्ने सर्तमा बस्दै आएका छन । टिनले छाएको भुइँतले दुई कोठाको घर छ । मेघनाथ न्यून दृष्टिका कारण दुवै आँखा देख्न सक्दैनन । सङ्गीताले नजिकको कालिका सिमसार पर्यटकीय क्षेत्रमा चटपटे बेचेर दम्पतीको गुजारा चलाइरहेका छन ।

“आँखा नदेख्ने भएकाले मैले उहाँ (मेघनाथ)लाई डोहोर्याएर कोठाबाट बाहिर निकालेको थिएँ,” सङ्गीताले भनिन, “हात्तीले आँगनमै झम्टेला भन्ने कल्पना पनि गरेका थिएनौँ, धन्न बाँचियो ।”

धुलाबारीको मेची आम्दा र भद्रपुरको ओमसाई पाथीभरा हस्पिटलमा उपचार गरेर निरौला दम्पती अहिले घरमै बसेर औषधि खाइरहेका छन् । सङ्गीताको कम्मर र मेरुदण्डमा असर परेको छभने दुवै खुट्टाको लिगामेन्ट च्यातिएको चिकित्सकहरुले बताएका छन् । मेघनाथको खुट्टामा भित्री चोट छ ।

अस्पतालमा पुग्दा चटपटे बेचेर कमाएको रु पाँच सय मात्र थियो सङ्गीताका साथमा । गाउँलेसँग रु २६ हजार सापटी मागेर अस्पतालको उपचार खर्च व्यहोरेको उनले बताइन । अस्पतालमा लामो बस्दा खर्चको बिल बढ्ने भएकाले अहिले उनीहरु घरमै आएर ओछ्यान परेका छन । हिँड्डुल गर्न नसक्ने भएकाले चटपटे बेच्न जान नपाउँदा दैनिक गर्जो टार्नै मुस्किल परिरहेको सङ्गीताको भनाइ छ ।

निरौला दम्पती जस्तै हात्तीपीडित घाइतेहरु उपचारमा ठूलो धनराशि खर्च भएका कारण बिचल्लीमा परेका छन् । उपचार सहयोग पाउन सरकारी अस्पतालमा उपचार गराएको हुनुपर्ने नियमप्रति पीडितहरु असन्तुष्ट छन् ।

मेचीनगर-२ बाहुनडाँगीका ४२ वर्षीय गोपाल रिजाललाई गत कात्तिक १९ गते घाँस काट्न जाँदा जङ्गली हात्तीले आक्रमण गरेर गम्भीर घाइते बनायो । उनको छातीको १० वटा करङ भाँचिएको थियो भने फोक्सोमा रगत जमेको थियो । डेढ महिना विर्तामोडको बी एन्ड सी हस्पिटलमा उपचार गराएपछि ह्विलचियरमा बस्न सक्ने भएका उनी हालै अस्पतालबाट घर फर्किएका छन । उनको उपचारमा रु २२ लाख खर्च भएको छ । एककोठे सानो झुपडीमा बस्दै आएका उनीसँग उपचार खर्च व्यहोर्ने सामथ्र्य थिएन । दुई भाइले विदेशमा कमाएर घर बनाउने भनेर ल्याएको रकम उनको उपचारमा खर्च गरिएको छिमेकी कल्याण काफ्लेले बताए । “गाउँमा तीन लाख जति चन्दा उठ्यो,” काफ्लेले भने, “वैदेशिक रोजगारीबाट भर्खरै फर्किएका भाइले ल्याएको सबै रकम लगाउँदा पनि नपुगेपछि आफन्त र छिमेकीहरुबाट ठूलो रकम ऋण लिइएको छ ।”

विदेशमा कमाएको सबै सम्पत्ति दाजुको उपचारमा खर्चिएका भाइहरुको पनि बिचल्ली भएको उनले बताए । कुनै पनि सरकारी कोषबाट उनले हालसम्म उपचार सहयोग पाएका छैनन ।

विगत दुई महिनामा झापामा हात्तीको आक्रमणमा चारजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए । सरकारले वन्यजन्तुको आक्रमणमा मृत्यु भएकालाई रु १० लाख दिने र घाइते भएमा अवस्था हेरेर रु २० हजारदेखि रु दुई लाखसम्म उपचार खर्च व्यहोर्ने गरेको छ । घाइतेको उपचार खर्च पाउन सरकारी अस्पतालमा उपचार गराएको हुनुपर्ने नियम छभने अस्पतालको बिल भरपाईसहित निवेदन दिएको लामो समयपछि मात्र उपचार रकम पीडितले पाउने गरेका छन् ।

हात्तीले आक्रमण गरेको ३५ दिनभित्र पीडितले डिभिजन वन कार्यालयमा उपचारको बिलसहित निवेदन दिइसक्नुपर्ने राईले बताए । बालीको क्षति पनि सरकारले व्यहोर्ने गरेको छ । सरकारले ढिलो र झन्झटिलो प्रक्रियाबाट रकम उपलब्ध गराउने भएकाले विपन्न परिवारका पीडितले बेलैमा उपचार नपाउने अवस्था आएको हात्तीपीडित मेचीनगर-२ का कल्याण काफ्ले बताउँछन । स्थानीय पालिकाबाटै छिटोछरितो तरिकाले हात्तीपीडितलाई उपचार सहयोग पुर्याउन राहत कोष वितरणको व्यवस्था हुनुपर्ने उनको धारणा छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ८ : २३ बजे

जनकपुरले जित्यो टस, चितवनलाई फिल्डिङको निम्तो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत शुक्रबार

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ

काठमाडौं । सर्वोच्च अदालतका लागि नियुक्त भएका चार जना न्यायाधीशले

भीमफेदी दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु, शवको पर्खाइमा आफन्त

सर्लाही । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा एकै

काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

काठमाडौं । काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स

भारत, चीन र इजरायलका प्रस्तावित राजदूतलाई एग्रिमो, नियुक्तिको बाटो खुल्यो

काठमाडौँ । भारत, चीन र इजरायलका लागि नेपाल सरकारले प्रस्ताव