२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

हात्ती आक्रमणबाट १२ जनाको मृत्यु, १३ घाइते



झापा । जिल्लामा डेढ वर्षको अवधिमा हात्ती आक्रमणबाट १२ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जङ्गलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट उनीहरुको ज्यान गएको हो ।

डिभिजन वन कार्यालयका अधिकृत ऋषि पराजुलीका अनुसार विसं २०८० को वैशाखदेखि हालसम्म एक गैरनेपालीसहित छजनाको हात्ती आक्रमणमा ज्यान गएको छभने छजना घाइते भएका थिए । यसैगरी, विसं २०७९ मा सातजनाको मृत्यु र आठजना घाइते भएको उनले जानकारी दिए ।

सोही अवधिमा छ हात्ती मरेको तथ्याङ्क वन कार्यालयमा रहेको छ । गत वर्ष तीन र चालु आर्थिक वर्षमा तीन गरी छ हात्ती मरेका हुन् । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार २०६८ देखि २०८० पुस २० सम्ममा झापामा ५८ जनाको मृत्यु भइसकेको छ । त्यसमा सात गैरनेपाली पनि छन् । एक दशकमा ७५ जना हात्तीको आक्रमणमा घाइते भएको वन कार्यालयले जनाएको छ ।

जिल्लामा चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ । चार दशकदेखि गुज्रिरहेको जङ्गली हात्ती र मानवबीच द्वन्द्वको कहिल्यै नसिद्धिने यो सिलसिलाबाट अहिले पनि झापा, मोरङ र सुनसरी आक्रान्त छन् । यो अवधिमा कति मानिसको ज्यान गयो भन्ने पूर्ण तथ्याङ्क उपलब्ध छैन ।

मेचीपारी भारतमा महानन्द वन्यजन्तु निकुञ्ज छ । पश्चिम बङ्गालको वन्यजन्तु संरक्षण गरिने उक्त जङ्गलमा आसामदेखि आउने हात्तीले बासस्थान बनाउने गरेका छन् । त्यहाँ दिनभर आराम गर्ने हात्तीको बथान साँझ परेपछि आहारको खोजीमा सीमा तरेर बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने गरेका छन् ।

खेतबारीमा लगाएका अन्न र फलफूल खाएर विनाश गर्ने हात्तीले मानिसलाई पछिल्लो समयमा अधिक आक्रमणको निशाना बनाउँदा अकालमा धेरैले ज्यान गुमाउनुपरेको हात्ती संरक्षण अभियानकर्मी शङ्कर लुइँटेल बताउँछन । सीमामै हात्ती छेक्न गरिएको अन्तिम उपाय विद्युतीय तारबारले काम गर्न छाडेपछि पछिल्लो समय हुल बाँधेर हात्ती नेपाल प्रवेश गर्न थालेका छन् ।

गत कात्तिक १९ गते बाहुनडाँगीको गौडाबाट नेपाल प्रवेश गरेका ३६ हात्तीले हाल मोरङ र सुनसरीमा बितण्डा मच्चाइरहेका छन् । एक दशकयता नेपालकै जङ्गलमा बस्दै आएका रैथाने हात्तीले मानिसको ज्यान लिने गरेको बुद्धशान्ति गाउँपालिका वडा नं ३ का सीताराम वाँस्तोलाले बताए । एक्लै र हुलमा हिँड्ने रैथाने हात्ती मानव बस्तीको भित्री भागसम्म पुग्ने गरेका छन् ।

सरकारले वन्यजन्तुबाट मानवीय तथा भौतिक क्षति भएमा राहत तथा क्षतिपूर्ति रकम दिने कानुनी व्यवस्था गरेको छ । अधिकांश पीडितले बेलैमा सो रकम नपाएको गुनासो छ । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०७५ मा हात्तीको आक्रमणमा मृत्यु भएको परिवारले रु १० लाख राहत दिने व्यवस्था छ ।

सख्त घाइतेको उपचार सम्पूर्ण व्यहोर्ने र सामान्य घाइतेलाई उपचार खर्चबापत रु २० हजारसम्म दिने कानुनी व्यवस्था छ । घरगोठ भत्काएको, भण्डारण गरेको अन्नबाली खाएमा र खाद्यबालीमा क्षति पुर्याएको अवस्थामा रु १० हजारसम्म क्षतिपूर्ति दिने सरकारी व्यवस्था रहेको डिभिजन वन कार्यालयका अधिकृत पराजुलीले बताए ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ७ : ०६ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक