१६ माघ २०८२, शुक्रबार | January 30, 2026

सखिया नाचको गीतले थारु बस्तीमा रौनक थपिँदै



दाङ । माघी पर्व नजिकिएसँगै थारु बस्तीमा सखिया नाचको गीतले यतिबेला रौनक छाउन थालेको छ । थारु समुदायमा यतिबेला ‘माघी पर्व’ को चहलपहल सुरु भएसँगै गाइने पुरानो गीत ‘सखिए हो’ अहिले सबैको जनजिब्रोमा छाएको छ । दाङका थारु बस्ती माघीमय भएका छन् ।

पश्चिम नेपालको दाङका थारु बस्तीमा मादलुको तालमा खेलिने सखिया नाचले सबै उमेरका व्यक्तिमा नयाँ उमङ्ग एवं उत्साह जगाउने गरेको छ । सखिया नाचले थारु समुदायको सदियौँदेखिको वेषभूषा, परम्परा र लोकसंस्कृति झल्काउने गरेको घोराही उपमहानगरपालिका–७ का ७२ वर्षका थारु अगुवा बेझलाल चौधरी बताउँछन् ।

पुस्तौँदेखि मनाइँदै आएको ठूलो चाड माघी पर्व मनाउन थारु समुदायका घरमा विषेश तयारी भइरहेको छ । चौधरीले भने, “नयाँ वर्षका रुपमा माघी पर्वलाई उत्सवका साथ मनाइन्छ, घरमा पकाइएका खानाका मिठा परिकारको खानपिन र नाचगान गरेर रमाइलो गरिन्छ ।” थारु समुदायका बस्तीमा माघीको सखिया नाचका मादल घन्किएका छन् । युवायुवतीले आफ्नो वेषभूषामा सजिएर नाचगान गरी माघीको तयारी गरिरहेका छन् ।

घोराही–४ सुनपुरका धनकुमारी चौधरीले थारु बस्तीमा माघीको तयारी भइरहेको बताए । उनले भने, “पुरुष घर बाहिरको चाजोपाँजो मिलाउन व्यस्त हुनुहुन्छ । महिला खानपिनको तयारीमा छौँ, दाउरा, पातको बन्दोबस्ती गरिसकेका छौँ । ढिक्री, अनदीको भात रोटी, पुरी, घोघी र घरकै अन्न प्रयोग गरी जाँडलगायतका खानाका मिठा परिकारका लागि चाहिने वस्तुको व्यवस्थापन गर्न व्यस्त छौँ ।”

माघमा नाचिने मघौटा नाचको तयारी पनि भइरहेको छ । बेलुकाको खानापछि गाउँका दिदीबहिनी मतवाको घरमा जम्मा भएर नाचको तयारी गर्ने गरेको उनले बताए । सखिए नाचको मादलले गाउँघर रमाइलो भएको छ । थारु संस्कृतविद् अशोक थारुले आधुनिकताका कारण थारु संस्कार, संस्कृति ओझेलमा पर्न थालेकाले यसलाई सबैले जगेर्ना गर्नुपर्ने बताए ।

थारु समुदायका व्यक्तिले माघीको अघिल्लो दिन रातभरि आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिस एकै स्थानमा जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी या खोलामा नुहाउने गर्दछन् । नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिएर घरमा आएपछि खिचडी दान गर्ने गरिन्छ । खिचडीमा मासको दाल, चामल र नुन राखिएको हुन्छ । यो खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइएको हुन्छ ।

उनले भने, “माघमा नाचगान, खानपिन र वार्षिक कार्ययोजनालाई विशेष महत्वका साथ हेर्ने गरिन्छ, पुसको महिना तयारी गर्ने र माघमा गाउँघरमा मघौटा नाच हुने गर्दछ, त्यसको तयारी एक महिनाअघिदेखि गरिन्छ, माघीपर्वसँगै गाउँको मुख्य व्यक्तिका रुपमा रहने भलमन्सा (बडघर)लगायत छनोट हुने गर्छ ।”

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  १ : ५० बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी