५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

सकियो सगरहवा मूर्ति कार्यशाला



लुम्बिनी । कपिलवस्तुको ऐतिहासिक, पुरातात्विक स्थल सगरहवामा पुस २३ गतेदेखि शुरु भएको प्रथम कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला सोमबार सकिएको छ । लुम्बिनी विकास कोष मुख्य आयोजक, कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौं, पर्यटन डिभिजन कार्यलय लुम्बिनी प्रदेश रुपन्देही सहित स्थानीय संघसंस्थाहरुको आयोजनामा कार्यशाला १५ दिनका दिन एक समारोहका विच समापन गरिएको हो ।

राष्ट्रिय स्तरमा ख्याती प्राप्त १५ जना मूर्तिकार र १५ जना सहयोगी मूर्तिकाहरुले सगरहवासँग सम्बन्धित विषयमा रहेर १८ वटा मूर्ति तयार पारेका छन् । कार्यशाला समापनमा बोल्दै राष्ट्रियसभा सदस्य बिमला घिमिरेले लुम्बिनी विकास कोषले कपिलवस्तुको विकासमा वेवास्ता गरेको जनस्तरमा गुनासो भइरहेको बेला सगरहवाको ऐतिहासिकता ढुंगामा कुँदेर सम्बोधन गरेको बताईन । उनले कपिलवस्तु खुल्ला संग्राहालयका रुपमा रहेको तर यहाँको बुद्धकालिन स्थलहरुको प्रचार प्रसार र विकास हुन नसकेको बताईन । यस्तै प्रदेशसभा सदस्य एंव पूर्वमन्त्री विष्णु पन्थीले सगरहवामा स्थानीयहरुको अपनत्वमा कार्यशाला मार्फत पर्यटनको निभ शुरु भएको बताए । उनले सगरहवाको ऐतिहासिकता, पुरातात्विक महत्व बुझाउन र जगदीशपुर क्षेत्रलाई पर्यटन प्रवद्र्धनमा कासेढुंगा सावित हुने बताए । सांसद पन्थीले सगरहवामा भएको कार्यशालाको देशभरी प्रचार भएको बताउँदै यो कार्यशाला कसैका लागि नभई सिंगो कपिलवस्तुबासीका लागि भएको बताए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कपिलवस्तुमा सञ्चालित मूर्तिकार्यशाला प्राज्ञिक, साँस्कृतिक प्राविधिक र ऐतिहासिक काम भएको बताए । उनले सर्जकहरुले निकै मेहनतका साथ सगरहवाको ऐतिहासिक र यहाँको कथालाई मूर्तिमा उतार्ने काम गरेको बताए । उनले यस्ता कला र प्राज्ञिक कामका लागि प्रदेश र स्थानीय तहमा पनि प्रज्ञा प्रतिष्ठानहरु स्थापना गर्न आग्रह गरे ।

कार्यक्रममा कार्यशाला निर्देशक समितिका संयोजक एंव लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले सगरहवाको पुरातात्विक स्थलको ऐतिहासिकता उजागर गर्न र यहाँको पर्यटन प्रवद्र्धनका लागि जनतासँग मिलेर पहिलोपटक नयाँ मोडेलमा काम गरेको बताए । उनले ठेक्कापट्टाबाट गरिने कामले जनतालाई जोड्न नसकिने बताउँदै ओझेलमा परेको सगरहवाको ऐतिहासिकता र महत्व अब मूर्ति मार्फत आम नागरिकले बुझ्न पाउने बताए ।

उनले मूर्तिकार्यशालाबाट तयार भएका मूर्तिहरुको दीगो संरक्षण र व्यवस्थापनका लागि स्थानीय समुदायविच एकता र सहकार्य आवश्यक रहेको बताए ।

त्यसैगरी कपिलबस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले कुनै बेला आफु लुम्बिनी विकास कोषले कपिलवस्तुलाई हेरेन भनेर देशभरी साईकल यात्रा गरेको स्मरण गर्दै अहिले कार्यशाला गरेर कोषले कामको शुरुवात गरेको बताए । उनले मूर्ति बन्ने वितिकै पर्यटकहरुको ओइरो लाग्ने नभई कामको शुरुवात भएकाले सबै मिलेर अगाडि बढनुपर्नेमा जोड दिए । नगरप्रमुख पौडेलले अब कपिलबस्तुका बुद्धिष्ट साईटहरुको गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभाग प्रम्रख दिनेश्वर महतो, विज्ञ समितिका संयोजक पोमनारायण पौडेल, कार्यशाला सचिवालय सदस्य ललित गुरुङ, कुमारी बैंकका क्षेत्रिय प्रबन्धक राममनि अधिकारी, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका लुम्बिनी प्रदेश डेपुटी प्रबन्धक ज्ञानेन्द्र पन्त, दामोदर सापकोटा लगायतले बोल्दै कार्यशाला सफलतापूर्वक सम्पन्न भएको बताए ।

कार्यशाला समापनमा मूर्तिकार, कार्यशालाका लागि सहयोग गरेका विभिन्न संस्था, नेपाल पत्रकार महासंघ कपिलवस्तु, विभिन्न स्थानीय आमा समूह, होमस्टे, उपसमिति, स्थानीय जनप्रतिनिधि र विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । उक्त अवसरमा कार्यशालामा मूर्तिकारहरुको खर्च लुम्बिनी विकास कोषका तर्फबाट नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मार्फत भुक्तानीका लागि २६ लाख २५ हजारको चेक कार्यक्रममै प्रदान गरिएको थियो । प्राचिन कपिलवस्तु राज्यको पतनको मुख्य कारण मानिएको सगहरवामा शाक्यहरुको सामूहित नरंसहारको घटनालाई प्रस्तरमा उतार्नका लागि कार्यशाला गरिएको थियो ।

कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट ९ कि.मी. र तिलौराकोटवाट ६ कि.मी. उत्तरमा रहेको छ भने पूर्व पश्चिम राजमार्गको बनगाईबाट ७ किमी तथा नेपालको दोस्रो पंक्षी आरक्ष जगदिशपुर तालको दक्षिणमा रहेको छ । सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार भएपछि उनीहरुको सम्झनामा सयौं स्तुुपहरूको निर्माण गरेको चीनियाँ यात्री हुुयन् साङ्को सन् ६३६ को यात्रा बृतान्तमा उल्लेख गरिएको पाइन्छ । सन् १८९७ मा डा. फुरर्हरद्वारा गरिएको उत्खनन् तथा अन्वेषणमा शाक्य सेनाहरुको सम्झनामा १७ वटा निर्माण गरिएका ठूलो वर्गाकार स्तुपहरु र धेरै संख्यामा साना स्तुप भेटिएको थियो । स्तुपभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल तथा रुबी जस्ता सामाग्री प्राप्त भएका थिए । जगदिशपुर तालको काखैमा रहेको लम्बु सागर रुपमा परिचित सगरहवा ५८ विघा क्षेत्रफलमा फैलिएको छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ९ : ४३ बजे

भरतुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन

उच्च अदालत नेपालगन्ज इजलासबाट १० महिनाको अवधिमा ९८.२७ प्रतिशत मुद्दा फर्छ्योट

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले चालु आर्थिक वर्ष

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौँ ।  एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२०