८ पुस २०८२, मंगलबार | December 23, 2025

मुस्ताङको ढि खोलाको तातोपानी मुहान संरक्षणका पर्खाइमा



म्याग्दी । मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका-४ ढि खोलाको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ । अध्ययन अनुसन्धान र उपयुक्त प्रविधिको पहिचान हुन नसक्दा ढि खोलाले बनाएको खोंचभित्र रहेको तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो । लो-घेकर दामोदरकुण्ड गाउँपालिका-४ का पूर्ववडाध्यक्ष हिरा गुरुङले ढि खोलाको तातोपानी खेर गइरहेको बताए ।

“चिसो हावापानी र मौसम हुने मुस्ताङको तातोपानी प्रकृतिको वरदान हो”, उनले भने, “तातोपानीलाई व्यवस्थितरुपमा उपभोग गर्नसक्ने हो भने पर्यटन र आर्थिक हिसाबले धेरै राम्रो हुने थियो ।”

मुहानको तातोपानीलाई नजिकै स्नान गृह र पोखरी बनाएर प्रयोगमा ल्याउन पहल गरिए पनि अनुसन्धान तथा प्रविधिमा पहुँच नपुग्दा सफल हुन नसकेकामा पूर्ववडाअध्यक्ष गुरुङले चिन्ता व्यक्त गरे ।

खोंचभित्र पहाडबाट तातोपानीको फोहरा निस्कने गर्छ । बर्खामा तातोपानीको फोहोराभन्दा माथि खोलाको सतह पुग्छ । हिउँदमा खोलामा हिँडेर करिब ५० डिग्री सेल्सियस तातोपानीको फोहरा निस्कने ठाउँसम्म सहजै पुग्न सकिने लो-घेकर दामोदरकुण्ड गाउँपालिका-४ ताङ्ग्या गाउँका पासाङ छिरिङ गुरुङले बताए ।

“पाइपबाट जस्तै पहाडको प्वालबाट निस्कने तातोपानीको फोहराले मानिसलाई ढलाउला झैँ गर्छ”, उनले भने, “मुहानबाट आएको तातोपानी मिसिएको खोलामा स्नान गर्न सकिन्छ ।” तातोपानीको मुहान वरपर झरना र तलाउ चिसोले जमेर बरफ बनेको छ । बेनी-जोमसोम-कोरला सडकमा पर्ने लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ गाउँदेखि ३० मिनेट गाडीमा यात्रा गरेपछि ढि गाउँमा पुगिन्छ । ढि गाउँदेखि ३० मिनेट पैदल हिँडेर तातोपानीको मुहानमा पुग्न सकिन्छ । साविक सुर्खाङ गाविसको भूगोलमा रहेको यो तातोपानीको मुहान नजिकै सुर्खाङ, ढि, यारा र घारा गाउँ छन् ।

उपल्लो मुस्ताङ घुम्न आउने पर्यटकका लागि ढि खोलाको तातोपानी नयाँ आकर्षण बन्नसक्ने सम्भावना छ । दिगोरुपमा बाह्रै महिना नियमित तातोपानीलाई प्रयोगमा ल्याउने आधार पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता रहेको पूर्ववडाध्यक्ष गुरुङले बताए ।

स्थानीयवासीका अनुसार मुस्ताङको पूर्वराजपरिवारका सदस्य स्नानका लागि ढि खोलामा आउने गर्दथे । उनीहरुले मुहान नजिकै स्नानका लागि आउनेहरुका लागि आश्रयस्थल बनाइदिएका थिए । स्थानीयवासीहरु हिउँदयाममा ढि खोलाको तातोपानी नुहाउन जान्छन् । व्यवस्थित हुन नसकेकाले पर्यटक भित्र्याउन सकिएको छैन । गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले ढि खोलाको तातोपानीलाई व्यवस्थित गर्न पहल गरिने बताए ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ८ : ०१ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको