३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

आधारभूत अस्पतालको भवन शिलान्यासमै सीमित



खोटाङ । बराहपोखरी गाउँपालिकामा निर्माण गर्ने भनिएको पाँच श्ययाको आधारभूत अस्पताल भवन निर्माण शिलान्यासमै सीमित भएको छ । बराहपोखरी-४ फाक्टाङको धर्तुङमा निर्माण हुने सो अस्पताल भवनका लागि बजेटको सुनिश्चितता नहुँदा शिलान्यासमै सीमित भएको हो ।

ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित तत्कालीन प्रधानमन्त्री केपी ओलीले विसं २०७७ मङ्सिर १५ गते भर्चुअल माध्यमबाट एकैसाथ पाँच, दश र १५ श्ययाको तीन सय नौ वटा अस्पतालको शिलान्यास गरेका थिए । दुई वर्षभित्रै सञ्चालनमा ल्याउने गरी शिलान्यास गरिएका त्यही तीन सय नौ आधारभूत अस्पतालको सूचीमा बराहपोखरीको पनि समावेश भएको थियो ।

धर्तुङमा आधारभूत अस्पताल बनाउनका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष रु दश लाख खर्च गरेर घडेरी सम्याउने काम सम्पन्न गरेको गाउँपालिकाका प्रशासन सहायक एवं सूचना अधिकृत रमेश पोखरेलले जानकारी दिएका छन । धाप्लाङ-धर्तुङ सडक नजिकै आधारभूत अस्पताल निर्माणका लागि गाउँपालिका उपाध्यक्ष भूवलराज राईले चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

पालिकास्तरीय अस्पताल भवन निर्माणका लागि जग्गा जुटाएर भवनको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर अर्थमन्त्रालयमा बजेट माग्न जाँदा बजेटको सुनिश्चितता भएपछिमात्रै भवन बन्ने जवाफ आएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए । “पूर्वप्रधानमन्त्रीले शिलान्यास गर्दा हाम्रो पनि परेछ । अस्पताल बनाउन भनेर जग्गा जुटाएर घडेरी सम्यायौँ । डिपिआर पास गरेर अर्थमन्त्रालय गयौँ । मन्त्रालयले सबै पैसाको सुनिश्चितता छैन भन्छ । ”

अस्पताल भवन निर्माणका लागि अर्थ मन्त्रालयबाट आर्थिक वर्ष २०८०/०८१ मा रु २० लाख विनियोजन भएको गाउँपालिका प्रमुख बञ्जराले जानकारी दिएका छन । तर, सो रु २० लाख रकमले ठेक्का खोल्नै नपुग्ने गाउँपालिकाले जनाएको छ ।

कार्यपालिकाको निर्णय, जग्गा व्यवस्थापन, डिपिआर तयार, बोलपत्र लगायतका प्रक्रिया पूरा नभएका कारण जिल्लामा शिलान्यास गरिएका धेरैजसो अस्पताल भवन निर्माणका लागि विनियोजित बजेट ‘फ्रिज’ भइरहेका छन् । दश स्थानीय तह रहेको जिल्लामा बराहपोखरीसँगै दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकामा दुई वर्षअघिमात्रै पाँच÷पाँच श्ययाको अस्पताल निर्माणका लागि योजना परेको थियो ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पहिलो वर्षअर्थात् आव २०७७/०७८ मा छवटा स्थानीय तहका लागि योजना परेको थियो । हलेसी तुवाचुङ नगरपालिका तथा ऐसेलुखर्क, रावाबेँसी, केपिलासगढी, साकेला र जन्तेढुङ्गा गाउँपालिकामा अस्पताल भवन निर्माणको योजना परेको हो ।

पहिलो वर्ष नै योजना परेका अस्पतालको कामसमेत अहिलेसम्म सम्पन्न भएका छैनन् । जन्तेढुङ्गा गाउँपालिकाको चिसापानीमा निर्माणाधीन पाँच श्ययाको अस्पताल भवनमा ठेकेदार कम्पनीको लापर्वाहीका कारण गुणस्तरहीन बालुवा÷गिट्टी प्रयोग भएको नपाइएपछि पुनः भत्काएर निर्माण सुरु गरिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र तथा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा यसअघि नै १५ श्ययाको सरकारी जिल्ला अस्पताल सञ्चालनमा थियो । उनन्तीस वर्षसम्म १५ श्ययामा सञ्चालन हुँदै आएको जिल्लाको एकमात्र सरकारी अस्पताललाई अहिले ५० श्ययामा स्तरोन्नति गर्ने गरी स्तरोन्नतिको काम तीव्रगतिमा भइरहेको छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ८ : २६ बजे

जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै

बेइजिङ । नयाँ अध्ययनले जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम

असन्तुष्ट नेताहरूसँग सहकार्यका लागि जुनसुकै पद दिन तयार छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र असन्तुष्ट रहेका

दीप बोर्डिङले गर्यो एसइई-२०८२ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

बुटवल । यस क्षेत्रकै पुरानो तथा अब्बल विद्यालयको पहिचान बनाउन

देशभरका सुकुम्बासी बुटवलमा, सरकारविरुद्ध प्रदर्शन, वैकल्पिक व्यवस्थाको माग (फोटो फिचरसहित)

बुटवल । सार्वजनिक जग्गा संरक्षणका नाममा वैकल्पिक व्यवस्था नगरी सरकारले