३० भदौ २०८३, मंगलबार | September 15, 2026

भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन सुरु



भैरहवा । महिला उद्यमीको विकास, विस्तार एवं प्रवर्द्धनका साथै महिला सशक्तीकरणमा सहयोग पुर्याउने उद्देश्यसहित आजदेखि भैरहवामा दुईदिने राष्ट्रिय महिला उद्यमी सम्मेलन सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले पहिलोपटक राष्ट्रिय महिला उद्यमी सम्मेलनको आयोजना गरेको हो ।

महिला उद्यमीद्वारा उत्पादित वस्तुको बजारीकरण गर्ने उपायको खोजी गर्ने सम्मेलनको उद्देश्य रहेको छ । सरकारको नीति तथा देशभरिका वित्तीय संस्थाका व्यवस्थापकमा अझै पनि महिलाको पहुँच हुन नसकेकाले महिला उद्यमी बढ्न नसकेको पाइएको छ । सो विषयमा समेत सम्मेलनमा व्यापक छलफल गरी समाधान खोज्ने जमर्कोसहित कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक एवं नेपाल उद्योग वाणिज्य महासङ्घको महिला उद्यमी विकास समितिकी संयोजक कमला श्रेष्ठले बताइन् ।

सम्मेलनमा सातवटै प्रदेशबाट महिला उद्यमी सहभागी छन् । संयोजक श्रेष्ठले भनिन्, “यसको मुख्य उद्देश्य देशैभरि छरिएर रहनुभएका महिला उद्यमीको पहिचान र उत्पादित वस्तुको बजारीकरण गर्नु हो ।” महिला उद्यमीका चुनौती तथा व्यवसाय गर्दा आइपर्ने समस्याको समाधान निस्किने गरी छलफल गरिने उनले बताइन् । सम्मेलनमा महिला उद्यमशीलता र नतिजा, वित्तीय पहुँच, बजार पहुँच, पर्यटनका सम्भावना र चुनौती तथा युवा महिला उद्यमीले सुरुआतमा गरेका पहलबारे छलफल गरिने छ ।

संयोजक श्रेष्ठले भनिन्, “उद्यमशीलताका लागि अवसर दिइँदा पनि घरबाट निस्किन नचाहने र निस्कन चाहे पनि एक्लै आउन नचाहने समस्या छ, त्यस्ता महिलालाई सशक्तीकरण गराई शिक्षासहितको आत्मबल प्रदान गर्नु सम्मेलनको उद्देश्य हो ।”

नेपालको अर्थतन्त्रमा महिलाको पूर्णरूपमा सहभागिता होस् भन्ने अपेक्षा राखेको नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । महिलालाई काम गर्ने वातावरण तयार गर्नु नै सम्मेलनको उद्देश्य रहेको उनले बताए । “महिला उद्यमीलाई कुन–कुन अवरोध छन्, कहाँ रोकावट भएको छ । यसको पहिचान गरिने छ”, अध्यक्ष शर्माले भने ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदै गर्दा विशेषगरी युरोप र अन्य विकसित मुलुकमा नेपालले पाइरहेको भन्साररहित सुविधा बन्द हुने बताए । यसबाट साना र विशेषगरी महिला उद्यमी बढी प्रभावित हुने उनको तर्क छ । “पर्यटन क्षेत्रमा महिलाको सहभागिता र सुरक्षा पनि चासोको विषय हो”, वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने ।

कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले सम्मेलनबाट निस्केको निष्कर्षलाई प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रममा समेट्ने बताए । सम्मेलनमा ७७ वटै जिल्लाबाट झण्डै तीन सय महिला उद्यमी व्यवसायी तथा व्यवसाय सञ्चालनका लागि इच्छुक महिलाको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ९ : २९ बजे

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा रहेको मणिबराही युवा क्लबले

यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ खर्चवामा बर्सेनि तीजको समयमा मादल

दूध उत्पादन बढाउन अनुदान

तनहुँ । तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा