काठमाडौं । प्रतिनिधि सभा बैठक सोमबार बिहान ११ बजे बस्दैछ । बैठकमा सरकारले प्रि-बजेट छलफलका लागि आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत गर्दैछ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
सरकारको नयाँ बजेट तालिका अनुसार आगामी आवको बजेट आउनुभन्दा तीन महिना अगाडि नै बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेस हुन लागेको हो ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देबराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन् । राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधयेक टेबुल गरिनेछ ।
साथै, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हालेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय सभामा उत्पति भएको विद्युत व्यापार विकेयक २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।



















प्रतिक्रिया