१२ श्रावण २०८१, शनिबार | July 27, 2024

खोरबाट उद्धार गरिएकी फुरदिकुको उपचार



खोटाङ । खोरमा थुनिएको अवस्थाबाट उद्धार गरिएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको ललितपुरस्थित मानसिक अस्पताल लगनखेलमा उपचार सुरु भएको छ । मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि गत माघ १६ गतेदेखि खोरमा थुनिएकी फुरदिकुलाई सोमबार उद्धार गरेर अस्पताल लगिएको हो ।

उपचार अभावमा खोरमा थुनेर राखिएकी फुरदिकुलाई निःशुल्क उपचार गर्नेगरी अस्पताल भर्ना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताएका छन । “राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीको परामर्शमा मानसिक अस्पताल लगनखेलका निर्देशक डा अनन्त अधिकारीसँग कुराकानी गरेर उपचार सुरु गरिएको छ । बिरामीलाई बस्ने, खाना, खाजा र औषधि निःशुल्क हुने व्यवस्था मिलाइएको छ”, उनले भने, “उपचारमा संलग्न डाक्टरले फुरदिकुको समस्या चाँडै ठिक हुन्छ भनेका छन् । बिरामीलाई बस्ने, खाना, खाजा र औषधि निःशुल्क हुन्छ । फुरदिकुको कुरुवाका रूपमा बस्ने एकजना अभिभावकलाई खाने र बस्ने व्यवस्था नगरपालिकाले गर्छ ।”

मान्छे देख्दा झनक्क रिसाउने, आक्रमण गर्ने, गालीबेइज्जत बोल्ने, बेठेगान तरिकाले हिँड्नेलगायतका अनियन्त्रित व्यवहार देखाउन थालेपछि फुरदिकुलाई परिवारले आँगनमा खोर बनाएर थुनेर राखेको थियो । मानसिक सन्तुलन गुमाएका कारण फुरदिकु खोरमा थुनिन बाध्य भएको समाचार फागुन १२ गते सार्वजनिक भएपछि नगरपालिकाले निःशुल्क उपचारमा तदारुकता देखाएको हो ।

आर्थिक अभावमा खोरमा थुनिएकी फुरदिकुलाई नगरपालिकाले जीपमा चढाएर सोमबार अपराह्न अस्पताल पुर्याइएको थियो । विसं २०६७ मा एसएलसीको तयारी गरिरहेका बेला फुरदिकुलाई मानसिक समस्या देखा पर्न सुरु भएको पारिवारिक स्रोतले जनाएको छ । त्यसबेला औषधि सेवन गराएपछि स्वास्थ्यमा सुधार भएको जनाइएको छ ।

कोभिड–१९ को महामारीका बेला पनि फुरदिकुमा दोस्रोपल्ट मानसिक स्वास्थ्य समस्या दोहोरिएको थियो । पाटन अस्पतालमा दुई महिना उपचार गरेपछि निको भएको फुरदिकुलाई पुनः गत माघ ३ गतेदेखि अस्वस्थ बनेको आमा निम्ले शेर्पाले बताउनुभएको छ । पछिल्लो समय फुरदिकुले अचानक अनियन्त्रित व्यवहार दखाउन थालेपछि खोरभित्रै खाना, खाजा, चिया दिनेगरी थुनेर राखिएको थियो । फुरदिकु नुनथलाकै जालपा माध्यमिक विद्यालबाट विसं २०६७ मा एसएलसी उत्तीर्ण गरेकी छिन ।

एक छोराकी आमा फुरदिकुले विसं २०७२ मा छिमेकी जिल्ला भोजपुरको अन्नपूर्ण गाउँपालिकाका दाजाङ शेर्पासँग विवाह गरेकी थिइन । प्रेम विवाह गरेकी फुरदिकुको श्रीमान् दाजाङको मुटुको समस्याका कारण विसं २०७६ मा मृत्यु भयो ।

पच्चीस वर्षकै उमेरमा बिधवा बनेकी फुरदिकु तीन वर्षअघि छोरा पसनुरी शेर्पालाई लिएर पुनः माइतीघर नुनथला फर्किइकी थिइन । श्रीमान् दाजाङको मृत्यु भएको वर्ष दिनपछि फुरदिकुलाई पुनः मानसिक सन्तुलन गुमाउने समस्या दोहोरिएको बुवा पेमाछेतर शेर्पाले बताए ।

आमासँगै मावलीघर नुनथला बस्दै आएका छ वर्षीय पसनुरी कक्षा ३ मा पढ्दै आएका छन् । तीन वर्षकै उमेरमा बुवा गुमाएका पसनुरीको आमासमेत मानसिक रोगी भएपछि उनको भविष्य अन्योलमा परेको छ । मानसिक सन्तुलन गुमाएर खोरमा थुनिएकी फुरदिकुको लागि शुभेच्छुकबाट आर्थिक सहयोग जुट्न थालेको छ । दर्दनाक अवस्थामा खोरमा थुनिएको समाचार पढेपछि फुरदिकुको उद्धार एवं उपचारका लागि हालसम्म ३२ दाताबाट रु ५१ हजार तीन सय १२ सहयोग सङ्कलन भइसकेको पत्रकार चिसाङ शेर्पाले बताए ।

फुरदिकुको सहयोगमा २६ जनाबाट सङ्कलन भएको रु ३० हजार पाँच सय भने सोमबार बुवा पेमाछेतरलाई हस्तान्तरण गरिसकिएको छ । फुरदिकुका लागि जुटेको सहयोग रकम छोरा पसनुरीको शिक्षादीक्षामा उपयोग गर्नेगरी हस्तान्तरण गरिने सहयोग सङ्कलनको नेतृत्व गर्नुभएका पत्रकार चिसाङले बताएका छन ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ८ : ०४ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान