७ चैत्र २०८२, शनिबार | March 22, 2026

बुढ्यौलीमा मौलिक भाकाको संरक्षणमा जुटेका लालबहादुर



म्याग्दी । उमेरले ७४ वर्ष पार गरेका लालबहादुर पुन मौलिक भाका र पुख्र्यौली संस्कृतिको संरक्षणमा सक्रिय छन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ दोबा घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका पुन लोप हुने अवस्थामा पुगेका मौलिक गीत र नाचको संरक्षणमा लागेका छन ।

नेपाल प्रहरीबाट सेवा निवृत्त भएपछि सामाजिक सेवामा लागेका उनी पछिल्लो समय सिरफुले, यानिमया, सालैजो, ठाडो, खेली, साइलोलगायतका पुराना र मौलिक भाकाहरूको संरक्षणमा जुटेका हुन । उमेरले बुढ्यौली लाग्दै गए पनि आफू भने हराएर जाने अवस्थामा रहेका गीत र संस्कृति संरक्षणको अभियानमा जुटेको पुनले बताए ।

विसं २०७२ मा मगर समुदायको मौलिक भाकाका रूपमा रहेको पुख्र्यौली गीतको म्युजिक भिडियो तयार गरेका पुनले अहिलेसम्म २० वटा परम्परागत र मौलिक भाकामा तयार गरिएका गीतको म्युजिक भिडियो नै तयार गरिसकेका छन । पुख्र्यौली गीतको म्युजिक भिडियोमा बुढ्यौली लागेका पुन आफैँ मादले बनेर नाच्ने गर्छन ।

गाउँमा मेलाजात्रा, रोधी बस्दा, घाँस दाउरा गर्न जङ्गल जाँदा, खेतबारीमा काम गर्दा र विवाह, व्रतबन्ध, छेवरलगायतका परम्पराजन्य कार्यक्रममा गुञ्जिने मौलिक भाका हराउन थालेपछि आफू संरक्षणमा जुटेको उनको भनाइ छ ।

“मेरो अधिकांश समय पुराना हराएर जाने अवस्थामा पुगेका भाकामा गीत तयार गर्नमा बित्ने गर्छ, गीत तयार भएपछि आफैँ पनि स्वर भर्ने गर्छु, कतिपय अन्य कलाकारलाई समेत स्वर भर्न लगाउँछु र त्यसलाई छायाङ्कन गरेर म्युजिक भिडियोसहित बाहिर ल्याउने गरेको छु”, सर्जकसमेत रहेका कलाकार पुनले भने ।

पुनले तयार गरेको पुख्र्यौली गीत हालै जिल्लाको अन्नपूर्ण-८ काफलडाँडामा रहेको धार्मिक पर्यटकीयस्थल करबाकेलीमा म्युजिक भिडियो छायाङ्कन गरिएको छ । कलाकार पुनले खेली, चुट्के खेली, साइलो भाका, यानिमयालगायतका विभिन्न छवटा गीतमा आफैँ स्वरसमेत दिएका छन ।

गाउँका परम्परागत मौलिक भाकाका गीत सुनिन छाडेपछि पुनले अभियान नै चलाएर पुराना भाकाहरूको सङ्कलन र गीत लेखन सुरु गरेका थिए । “गाउँमा बुवाआमाले गाउने भाका कहीँकतै पनि सुन्न पाउने अवस्था छैन, कम्तीमा हामी गीत सुनेकाले यसको संरक्षण गरे भाकाहरू पुस्तान्तरण हुन पाउँछन्, मैले सिर्जना गरेका सबै गीतको लय र ताल पुराना र मौलिक छन्, त्यसैमा मैले शब्द सिर्जना गरेर गीत तयार गर्दै आएको छु”, पुनले भने ।

गाउँका रैथाने संस्कृति हराएर जान नदिन आफूले ठेट लय नबिग्रने गरी गीत बनाउने गरेको उनको भनाइ छ । पुनका चारवटा सालैजो, पुख्र्यौली सोरठी भाकामा रेकर्ड भएका गीतलाई म्युजिक भिडियो बनाउने तयारी गरिएको छ । म्याग्दीका विभिन्न गाउँबस्तीमा गाइने रेलिमै, सेदोलगायतका भाकामा समेत गीत बनाउने पुनले तयारी गरेका छन । उनले मगरहरूको पुख्र्यौली गीतिसङ्ग्रह पुस्तकसमेत प्रकाशन गरेका छन । यस पुस्तकमा पुख्र्यौली नाचका विभिन्न ५९ गीत समावेश गरिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ९ : २४ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा