२४ भदौ २०८३, बुधबार | September 9, 2026

दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज



म्याग्दी । वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा कृषि उत्पादनको क्षेत्र भनेर चिनिने बागलुङको कुडुले गाउँ । म्याग्दी र बागलुङको साँध बनेर बगेको ढोडेनी खोलाका वारि र पारि पर्ने यी दुवै गाउँ पर्यटकीय गाउँ हुन् । यी दुवै गाउँलाई जोड्ने ढोडेनी खोला माथि बनेको ३८८ मिटर लामो झोलुङ्गे पुल स्थानीयको सुविधाको माध्यम त बनेको छ नै पर्यटकीय आकर्षणको केन्द्र समेत बन्दै गएको छ ।

म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौर र छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिका-४ कुडुले जोड्ने ३८८ मिटर लम्बाइ तथा १७० मिटर उचाइ भएको यो झोलुङ्गे पुलमा रमाई प्राकृतिक दृश्यावलोकन गर्न म्याग्दीको रत्नेचौर र बागलुङको पञ्चकोट तथा कुडुलेस्थित शालग्राम सङ्ग्रहालय अवलोकनका लागि आएका पर्यटकहरू आउने गरेका रत्नेचौरका सुशीला भण्डारीले बताईन ।

तीन वर्षअघि २०७९ सालमा सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले ढोडेनी खोलामाथि रु तीन करोड ५० लाखको लागतमा निर्माण गरेको यो पुलले दुई जिल्ला जोड्नाका साथै कृषि उपजको बिक्री र पर्यटन विकासमा पनि महत्वपूर्ण सहयोग पुगेको बेनी नगरपालिका-१ का वडाअध्यक्ष टेकबहादुर थापाले बताए ।

“पहिला पहिला कुडुले पुग्न एक डेढ घण्टा हिँड्नु पथ्र्यो । पुल बनेपछि डेढ घण्टाको बाटो पाँच मिनेटमा छोटिएको छ,” वडाअध्यक्ष थापाले भने, “पुलले सुविधा मात्रै दिएको छैन, रत्नेचौरमा उत्पादन हुने तरकारी र दूध बजारीकरण गर्न र बागलुङको पञ्चकोट, कुडुलेको शालग्राम सङ्ग्रहालयको अवलोकनका लागि आएका धार्मिक पर्यटक र रत्नेचौरको भाइरल रोड, तोरीबारी र ज्यामरुककोटमा आएका पर्यटकहरू समेत पुलमा पुगेर रमाउँदै म्याग्दी, बागलुङ र पर्वतका प्राकृतिक सौन्दर्यको अवलोकन गर्न पाएका छन् ।”

बेनी-बागलुङ सडक खण्डको पूर्वतर्फ रत्नेचौरस्थित श्रीलक्ष्मीहरि मन्दिर नजिकै निर्माण भएको यो पुलले अर्जम, रत्नेचौर, ज्यामरुककोट, फापरखेत, खबरा, फेदी, कुडुले, बान्द्रे, भान्सालगायतका गाउँका बासिन्दाले उत्पादन गरेका कृषि उपजको बजारीकरण र आर्थिक कारोबारमा पनि सुविधा पुगेको रत्नेचौरका मेखबहादुर बोगटीले बताए ।

“पुलकै कारण बागलुङ आएका पर्यटकहरू रत्नेचौरको खेलमैदान, श्रीलक्ष्मीहरि मन्दिर र धवलागिरि क्षेत्रकै सबैभन्दा ठूलो मानवनिर्मित बुढोपोखरीको पर्यटन विकासमा सहयोग पुगेको छ ।”

म्याग्दीमा तीन सय मिटरभन्दा लामा तीनवटा पुल निर्माण भएका छन् । यसअघि उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेग र बादुक जोड्ने ३६५ दशमलव ८० मिटर लामो र १४८ मिटर अग्लो झोलुङ्गे पुल निर्माण भएको थियो । त्यसैगरी, पश्चिम म्याग्दीको मालिका गाउँपालिका-७ बिमवाङ र धवलागिरि गाउँपालिका-६ रिख जोड्ने ३५० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  ७ : ३५ बजे

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

मधेस प्रदेशमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

जनकपुरधाम । मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ काउसीबोट र वडा नं ४