१ जेष्ठ २०८१, मंगलबार | May 15, 2024

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै म्याग्दीको प्राविधिक शिक्षालय



म्याग्दी । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक विद्यालयका विद्यार्थीले यस वर्ष रु दुई लाख ५० हजार आम्दानी गरेका छन् । जिल्लाको एकमात्र प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित पनि गरेको छ ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिमस्थित क कृषि प्राविधिक शिक्षालयका विद्यार्थीले पढाइका अतिरिक्त मौसमी तथा बेमौसमी तरकारी खेती र मौरीपालन गर्दै आएका छन् । शिक्षालयमा बाली विज्ञान विषयमा अध्ययन गर्ने ४० जना विद्यार्थीले तरकारी खेती गर्नुका साथै मौरीपालन गरेका छन् । विद्यालय परिसरमा मौरीका छ वटा घार छन् । विद्यार्थीले मह उत्पादन प्रक्रिया, चाका सङ्कलन, मौरीको घारको रेखदेख र मह निकाल्ने सम्पूर्ण प्रक्रिया सिकेका छन् । वर्षमा दुईपटक मह निकालेर स्थानीयलाई बिक्री गर्ने गरिएको शिक्षालयका प्राचार्य जङ्गबहादुर गर्बुजाले जानकारी दिए ।

प्राचार्य गर्बुजाका अनुसार पहिलो चरणमा छ वटा घारबाट मौरीपालनको अभ्यास गरेका विद्यार्थीले अहिले आफ्नो घरमा घार राख्न थालेका छन् । विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले गरिएको मौरीपालनलाई तोरी फुल्ने समयमा मौरीको चरन क्षेत्र, वर्षा याममा स्थानीय प्रजातिका फूलमा चराउन कसरी लैजाने भन्नेसम्मको ज्ञान विद्यालयमा सिकेपछि विद्यार्थी उत्साहित छन् । मौरीपालनसँगै शिक्षालयले विद्यार्थीको प्रत्यक्ष सहभागिता हुनेगरी अन्य कृषि कर्म पनि गर्दै आएको छ ।

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै बाली विज्ञान, पशु चिकित्सा पद्धतिबारे पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण बढेको छ । यो शिक्षालयमा २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीन वर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीनवर्षे पशु विज्ञान पाठ्यक्रम सुरु गरेको हो ।

हाल शिक्षालयमा ११ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका शिक्षालयका प्राचार्य गर्बुजाले बताए । “पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीलाई आत्मनिर्भर हुन प्रेरित गरिरहेका छौँ”, उनले भने । विद्यार्थीले उत्पादन गरेको तरकारी बिक्रीबाट आएको नाफा ७५ प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने र २५ प्रतिशत चाहिँ विद्यालयले शैक्षिक भ्रमणसहितका कार्यमा प्रयोग गर्दै आएको प्राचार्य गर्बुजाले जानकारी दिए। विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीले नयाँ उत्पादनका लागि तत्काल आवश्यक परेमा विद्यालयले ऋणको सुविधासमेत दिने गरेको उनको भनाइ छ ।

‘पढ्दै–कमाउँदै’ गर्न चाहने विद्यार्थीका लागि ऋण दिनुका साथै आवश्यक संरचना पनि उपलब्ध गराउने गरेको प्राचार्य गर्बुजाले बताए । “विद्यार्थीले च्याउ, आलु, धान, किबीलगायत मौसमी र बेमौसमी तरकारीका साथै फलफूल उत्पादन गरेर वार्षिक दुई लाख ५० हजारभन्दा बढीको आम्दानी लिएका छन्”, उनले भने ।

कृषि पढ्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले किसानका खेतबारीमा नै पुगेर प्रयोगात्मक अभ्यास गराउनाका साथै फलफूल खेती, तरकारी खेती, दलहन बाली र रैथाने कृषिउपज बिक्री गर्ने गरिएको कृषि प्राविधिक शिक्षालयका संयोजक विष्णु सुवेदीले जानकारी दिए। “विद्यार्थीका लागि नयाँ सिकाइमा केन्द्रित छौँ । यहाँबाट पढेर गएका सबै विद्यार्थी आत्मनिर्भर छन् । लोभलाग्दो कमाइ गरिरहेका छन्”, सुवेदीले भने ।

संयोजक सुवेदीका अनुसार यहाँबाट वार्षिक छ क्विन्टल च्याउ बिक्री गर्ने गरिएको छ । विद्यार्थीले विभिन्न प्रजातिका फलफूल, तरकारीको बेर्ना बेचेर राम्रो कमाइ गर्ने गरेका छन् । विद्यालयले २० रोपनीभन्दा बढी जग्गा भाडामा लिएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिँदै आएको छ । शिक्षालयका धानखेत, च्याउ र तरकारी गरी आठ वटा ‘टनेल’सँगै व्यवस्थित कृषि फार्म भएकाले विद्यार्थीलाई उत्पादन र बिक्रीमा सहज हुन्छ । खेतबारीमा नै पुगेर किसानसँगै अभ्यास गर्दा अझ व्यावहारिक बन्न सहज भएको बागलुङबाट बाली विज्ञान पढ्न आएकी सिर्जना विकले बताइन ।
रासस

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ९ : ५६ बजे

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठ पक्राउ

पोखरा । पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको

पूर्वराष्ट्रपति यादवद्वारा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक विमोचन

काठमाडौं । ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक आजदेखि

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका

नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउनुपर्छ : एफएनसीसीआई अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नीति

विद्यालय चिटिक्क पारेर मनाए मध्यबिन्दुको युवा संघका युवाले स्थापना दिवस

मध्यविन्दु । राष्ट्रिय युवा संघ नेपाल मध्यविन्दु नगर कमिटी नवलपरासीले