१६ बैशाख २०८१, आइतबार | April 29, 2024

छ महिनामै उप्कियो लोकमार्गको कालोपत्र



बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको घोडाबाँधे–गलकोट खण्डको कालोपत्र छ महिना नबित्दै उप्किएको छ । कालोपत्र उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ ।

एक दशकअगाडि कालोपत्र भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि मर्मत गरिएको थियो । निर्माण कम्पनीले गत असोजमा कालोपत्र गरेको सडक एक महिनापछि उप्किन थालेको थियो । अहिले लोकमार्गको बीच भागमा ठूला–ठूला खाल्डा परेका छन् । कालोपत्र उप्किएपछि सडक हिलाम्य र धुलाम्मे बन्ने गरेको छ ।

गुणस्तरहीन कामका कारण कालोपत्र उप्किएको स्थानीयले आरोप लगाएका छन् । विसं २०७९ असार २२ मा लोकमार्ग कार्यालयसँग सम्झौता गरी जोशी निर्माण कम्पनी काठमाडौँले मर्मतको काम गरेको थियो । निर्माण कम्पनीले कालोपत्र गरेको लोकमार्गको घोडाबाँधे भ्यूटावर, काफलठुटा, झाँक्रीस्थान नरठाँटीलगायत दर्जनौँ ठाउँमा उप्किएको छ । कालोपत्र उप्किएर खाल्डाखुल्डी बनेपछि सडकमा यात्रा जोखिमपूर्ण भएको सवारी चालक बलबहादुर सुनारले बताए ।

“ठेकेदारले सुरुमा राम्रो काम गरिरहेको थियो तर कालोपत्र गर्ने बेलामा कमसल सामान प्रयोग गरेछ । अहिले गाडी कुदाउने खालको सडक छैन । जताततै खाल्डाखुल्डी र हिलोधुलो छ”, चालक सुनारले भने, “गुणस्तरहीन काम भएकाले सरकारले यस्तालाइ कारबाही गर्नुपर्छ ।”

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले लोकमार्गअन्तर्गत गलकोट खण्डको धेरै ठाउँमा समस्या भएको बताए। नरेठाँटीदेखि भ्यू टावरसम्मको सडक कतै कालोपत्र उप्किएको, कतै नाली पुरिएको त कतै सडकको ‘लेभल’नै नमिलेको उनको भनाइ छ ।

लोकमार्ग मर्मतका लागि निर्माण कम्पनीले रु १३ करोड ९९ लाखमा आगामी असोज २१ गतेसम्म सडक मर्मत सक्ने गरी ठेक्का लिएको थियो । मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका सूचना अधिकारी इञ्जिनियर पवन सुवेदीले निर्माण कम्पनीले समयमै काम सके पनि गुणस्तरीय नभएको स्वीकारे । इञ्जिनियर सुवेदीले कालोपत्र भएको एक महिना नबित्दै उप्किएको सडकलाई पुनः मर्मत गर्न लगाएको र बिग्रिएको ठाउँमा थप मर्मत गर्न आग्रह गरेको बताए ।

“निर्माण कम्पनीले जिम्मा लिएको जति स्थानमा सडक भत्किएको छ, कालोपत्र उप्किएको छ, त्यो सबै उसैले बनाउनुपर्छ, यसको जिम्मेवार निर्माण गर्ने कम्पनी नै हो । उनीहरुलाइ काम गर्नुप¥यो भनेर हामीले भनिरहेका छौँ,” सुवेदीले भने, “काम गरिरहेकै बेला पनि कालोपत्र उप्किएको गुनासो आएपछि मर्मत गर्न लगाएका थियौँ । अहिले फेरि धेरै ठाउँमा उप्किएछ । त्यो निर्माण कम्पनीले जिम्मेवार भएर मर्मत गर्नुपर्छ ।” मध्यपहाडी लोकमार्ग बागलुङ जिल्लाभित्र करिब एक सय ४२ किलोमिटर पर्छ । त्यसमध्ये बिउँ खण्डको १२ किलोमिटरबाहेक अधिकांश सडक कालोपत्र भइसकेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  १ : १३ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क