१७ बैशाख २०८१, सोमबार | April 29, 2024

व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी



कैलाली । पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गरेका छन । व्यावसायिक च्याउखेतीमा लागेका चौधरीले गाउँमा नमुना किसानको परिचय बनाएका छन ।

विसं २०७६ मा सुरु गरेको च्याउखेतीले उनलाई सफल किसान बनाएको छ । उनले व्यवसायलाई बढाउँदै लगेका छन । “मैले सिजनअनुसार छ किसिमका च्याउको खेती गर्दै आएको छु, बेमौसममा उत्पादन भएको च्याउले बजारको मागलाई पूरा गर्न सकिएको छैन । उत्पादन भएको च्याउ बिक्रीका लागि बजार पुग्नै पर्दैन । घरबाटै सबै बिक्री हुन्छ”, उनी भन्छन ।

चौधरीले हिउँदमा कन्यालगायत प्रजातिको च्याउ उत्पादन गर्दै आएका छन । गर्मीमा ब्लुक्याप, पिङ्की च्याउ उत्पादन गर्दै आएका उनले बर्खामा दुधेच्याउ लगाउँदै आएका छन । लगानीका हिसाबले तेब्बरभन्दा बढी आम्दानी लिन सकिने व्यवसायबाट वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको उनी बताउँछन । “लगानीको तुलनामा आम्दानी अधिक छ । त्यसैले व्यवसाय विस्तार गरेको छु”, उनी भन्छन, “परिवारका अन्य सदस्यलाई पनि व्यवसायमा जोडेर काम गरिरहेको छु ।” उनले च्याउखेतीमात्रै नभई बेमौसमी तरकारीखेती र तरकारीको बेर्ना पनि उत्पादन गर्दै आएका छन । अहिले उनको तरकारी बारीमा बेमौसमी तरकारी उत्पादन भइरहेको छ । “च्याउखेतीबाट बचेको समय बेमौसमी तरकारीमा लगाउने गरेको छु । तरकारीका बेर्नाबाट पनि प्रशस्त आम्दानी हुन्छ, तरकारी र तरकारीको बेर्नाबाट वार्षिक रु चारदेखि पाँच लाख आम्दानी हुन्छ”, उनले भने । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइबाट बीउमा अनुदान पाएका उनलाई गाउँपालिकाले प्राविधिक सहयोग गर्दै आएको छ ।

जानकी गाउँपालिका-४ कञ्चनपुरका श्रीराम कठरिया २०७२ सालदेखि च्याउखेतीमा छन । उनले च्याउखेतीमा करिब रु ५० लाख लगानी गरिसकेका छन । व्यवसायबाट अहिलेसम्म भएको आम्दानी उनले व्यवसाय वृद्धिमा नै लगाएका छन । “मैले नौ वर्ष गरेको आम्दानी यही व्यवसायमा भएको लगानी हो । करिब रु ५० लाख लगानी भइसकेको छ, आजसम्म भएको आम्दानी लगानीमा सकियो । अबको आम्दानी बचतमा जान्छ”, उनी भन्छन । च्याउखेतीका लागि उनले एसी प्लान्ट जोडेका छन । जहाँ एकैपटक एक हजारभन्दा बढी च्याउ राख्न मिल्छ । च्याउखेतीसँगै केरा, तरकारी र मकैखेती गर्दै आएका कठरिया अहिले सबै छाडेर च्याउ उत्पादनमा व्यस्त भएका छन । उनले गाउँका अन्य युवालाई पनि व्यावसायिक खेतीका निम्ति प्रेरित गर्दै आएका छन ।

जानकी गाउँपालिकाकै ममता चौधरीले स्नातक तहको अध्ययनसँगै च्याउखेती सुरु गरेकी छिन । पढ्दै खेतीमा लागेकी उनलाई एन्जिल चौधरीले सिकाएका थिए । साथीहरूबाट सिकेको ज्ञानसँगसँगै स्नातक तहको अध्ययन सकिन भने व्यवसायलाई विस्तार गर्दै त्यसको निरन्तरतामा लागिन । परिवारको दबाबले एक वर्ष कानुन पढ्न धनगढीमा बिताएकी ममतालाई व्यवसायबाट हुने गरेको मनग्य आम्दानीले धनगढीबाट घर फिर्ता गर्यो । उनी भन्छिन, “अब स्नातकोत्तर गर्छु । व्यवसायलाई पनि निरन्तरता दिनेछु ।”

बाह्र महिना च्याउ उत्पादनमा लागेकी उनले ठूलो धनराशि लगानी गरेकी छैनिन । यो वर्ष रु एक लाख लगानी गरेको उनको च्याउ खेतीबाट रु छ लाख आम्दानी भएको छ । “च्याउखेतीमा खासै लगानी छैन । त्यही प्लास्टिक र पराल हो चाहिने, पराल आफैँसँग हुन्छ प्लास्टिक किन्नुपर्छ । लगानीभन्दा आम्दानी तेब्बर छ”, उनी भन्छिन । उनको पाँचजना परिवारका पाँच जना च्याउखेतीमा नै व्यस्त छन् ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ८ : १८ बजे

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल