४ आश्विन २०८३, आइतबार | September 20, 2026

व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी



कैलाली । पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गरेका छन । व्यावसायिक च्याउखेतीमा लागेका चौधरीले गाउँमा नमुना किसानको परिचय बनाएका छन ।

विसं २०७६ मा सुरु गरेको च्याउखेतीले उनलाई सफल किसान बनाएको छ । उनले व्यवसायलाई बढाउँदै लगेका छन । “मैले सिजनअनुसार छ किसिमका च्याउको खेती गर्दै आएको छु, बेमौसममा उत्पादन भएको च्याउले बजारको मागलाई पूरा गर्न सकिएको छैन । उत्पादन भएको च्याउ बिक्रीका लागि बजार पुग्नै पर्दैन । घरबाटै सबै बिक्री हुन्छ”, उनी भन्छन ।

चौधरीले हिउँदमा कन्यालगायत प्रजातिको च्याउ उत्पादन गर्दै आएका छन । गर्मीमा ब्लुक्याप, पिङ्की च्याउ उत्पादन गर्दै आएका उनले बर्खामा दुधेच्याउ लगाउँदै आएका छन । लगानीका हिसाबले तेब्बरभन्दा बढी आम्दानी लिन सकिने व्यवसायबाट वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको उनी बताउँछन । “लगानीको तुलनामा आम्दानी अधिक छ । त्यसैले व्यवसाय विस्तार गरेको छु”, उनी भन्छन, “परिवारका अन्य सदस्यलाई पनि व्यवसायमा जोडेर काम गरिरहेको छु ।” उनले च्याउखेतीमात्रै नभई बेमौसमी तरकारीखेती र तरकारीको बेर्ना पनि उत्पादन गर्दै आएका छन । अहिले उनको तरकारी बारीमा बेमौसमी तरकारी उत्पादन भइरहेको छ । “च्याउखेतीबाट बचेको समय बेमौसमी तरकारीमा लगाउने गरेको छु । तरकारीका बेर्नाबाट पनि प्रशस्त आम्दानी हुन्छ, तरकारी र तरकारीको बेर्नाबाट वार्षिक रु चारदेखि पाँच लाख आम्दानी हुन्छ”, उनले भने । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइबाट बीउमा अनुदान पाएका उनलाई गाउँपालिकाले प्राविधिक सहयोग गर्दै आएको छ ।

जानकी गाउँपालिका-४ कञ्चनपुरका श्रीराम कठरिया २०७२ सालदेखि च्याउखेतीमा छन । उनले च्याउखेतीमा करिब रु ५० लाख लगानी गरिसकेका छन । व्यवसायबाट अहिलेसम्म भएको आम्दानी उनले व्यवसाय वृद्धिमा नै लगाएका छन । “मैले नौ वर्ष गरेको आम्दानी यही व्यवसायमा भएको लगानी हो । करिब रु ५० लाख लगानी भइसकेको छ, आजसम्म भएको आम्दानी लगानीमा सकियो । अबको आम्दानी बचतमा जान्छ”, उनी भन्छन । च्याउखेतीका लागि उनले एसी प्लान्ट जोडेका छन । जहाँ एकैपटक एक हजारभन्दा बढी च्याउ राख्न मिल्छ । च्याउखेतीसँगै केरा, तरकारी र मकैखेती गर्दै आएका कठरिया अहिले सबै छाडेर च्याउ उत्पादनमा व्यस्त भएका छन । उनले गाउँका अन्य युवालाई पनि व्यावसायिक खेतीका निम्ति प्रेरित गर्दै आएका छन ।

जानकी गाउँपालिकाकै ममता चौधरीले स्नातक तहको अध्ययनसँगै च्याउखेती सुरु गरेकी छिन । पढ्दै खेतीमा लागेकी उनलाई एन्जिल चौधरीले सिकाएका थिए । साथीहरूबाट सिकेको ज्ञानसँगसँगै स्नातक तहको अध्ययन सकिन भने व्यवसायलाई विस्तार गर्दै त्यसको निरन्तरतामा लागिन । परिवारको दबाबले एक वर्ष कानुन पढ्न धनगढीमा बिताएकी ममतालाई व्यवसायबाट हुने गरेको मनग्य आम्दानीले धनगढीबाट घर फिर्ता गर्यो । उनी भन्छिन, “अब स्नातकोत्तर गर्छु । व्यवसायलाई पनि निरन्तरता दिनेछु ।”

बाह्र महिना च्याउ उत्पादनमा लागेकी उनले ठूलो धनराशि लगानी गरेकी छैनिन । यो वर्ष रु एक लाख लगानी गरेको उनको च्याउ खेतीबाट रु छ लाख आम्दानी भएको छ । “च्याउखेतीमा खासै लगानी छैन । त्यही प्लास्टिक र पराल हो चाहिने, पराल आफैँसँग हुन्छ प्लास्टिक किन्नुपर्छ । लगानीभन्दा आम्दानी तेब्बर छ”, उनी भन्छिन । उनको पाँचजना परिवारका पाँच जना च्याउखेतीमा नै व्यस्त छन् ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ८ : १८ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब