४ चैत्र २०८२, बुधबार | March 19, 2026

ढकमक्क गुराँसले रङ्गियो घोडेपानी


२० चैत्र २०८०, मंगलबार  

143
Shares

म्याग्दी । “घोरेपानी डाँडैमा, गुराँस फुल्यो झललल, आ हा हा हा।। लाउने भए लाउहै माया, घर हाम्रो म्याग्दी हजुर” श्रीप्रसाद पुर्जा पुनको शब्द, पूर्ण रामजाली पुनको सङ्गीत र चन्द्रकुमार पुर्जा पुनको गायन रहेको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी गुराँस फुलेर मनमोहक बनेको छ ।

प्रकृतिमा रमाउनका लागि समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा रहेको घोडेपानी क्षेत्रको जङ्गल आकर्षक गन्तव्य बनेको छ । घोडेपानीका बासिन्दा मीना पुनले गुराँस फुलेर मनमोहक र आकर्षक बनेको घोडेपानीको जङ्गल घुम्न, पुनहिलबाट सूर्योदय र हिमाल अवलोकन गर्न आउने पर्यटकको चहलपहल बढेको बताए। “पाखामा ढकमक्क गुराँस फुलेर रङ्गिएपछि घोडेपानीमा पाहुनाको चहलपहल बढ्न थालेको छ”, घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्षसमेत रहेका उनले भने, “घोडेपानीको दायाँ र बायाँ रहेको जङ्गलमा ढकमक्क लालीगुराँस फुलेपछि मनमोहक बनेको छ ।”

अन्नपूर्ण गाउँपालिका–५ शिखबाट घोडेपानी घुम्न गएका सुरेन गुरुङले स्वच्छ हावापानी र शान्त वातावरणले तन÷मन चङ्गा बनाएको अनुभव सुनाए। “गुराँस, चराको चिरबिर आवाज र हिमालको दृश्यले लट्ठै बनायो”, उनले भने, “हिमाल हेर्दै गुराँससँग रमाउँदा समय बितेको पत्तै पाइँदैन ।” दैनिक एक सय ५० देखि दुई सयजना पर्यटक घोडेपानी आउन थालेको पुनले बताए। गुराँसले ढाकेको वनमा चराको आवाज सुनेर डुल्दा रमाइलो महसुस र तनावमुक्त भइने आन्तरिक पर्यटक तिलक तिलिजा पुनले बताए । तिलिजाको टोली गत शनिबार घोडेपानी पुगेर गुराँसका बोटमा रमाउने र तस्बिर खिचाएर फर्किएको हो ।

चैत–वैशाख गुराँस फुल्ने याम हो । समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलमा सूर्योदय र हिमशृङ्खलाको दृश्य अवलोकन गर्न जाने बाटोमा गुराँसको जङ्गल छ । यहाँ रातो, सेतो, चिमाली, सिमालीलगायत जातका गुराँस पाइन्छ । पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धौलागिरी, गुर्जा, अन्नपूर्ण, माछापुच्छे«लगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ । विश्वमा ४२ प्रजातिको गुराँस पाइन्छ । त्यसमध्ये नेपालमा ३२ प्रजातिका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययनअनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छ । लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो ।

एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जङ्गल गण्डकी प्रदेशकै ठूलो भएको दाबी अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्षसमेत रहेका घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले गरे । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय गन्तव्यमा समेटिएको घोडेपानी भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले ‘गुराँस पार्क’ निर्माण भएको छ । ठूलाठूला अक्षरको ब्लकबाट पोखरा–जोमसोम उडान भर्ने पर्यटकले जहाजबाटै हेर्न सक्ने गरी गुराँस पार्क लेखेको सेल्फी बोर्ड बनाइएको कालीसार गुराँस पार्क निर्माण समितिका अध्यक्ष सुशील पुनले बताए ।

पार्कको छेउमा खोल्सा परेको भाग थुनेर वन्यजन्तुका लागि पानी पिउने पोखरी पनि बनाइएको छ । अघिल्लो वर्ष यही क्षेत्रमा हर्स राइडिङ ट्रेल, साइक्लिङ ट्रेल र वर्ड वाचिङ पोइन्ट बनाइएको थियो ।

घोडेपानी–पुनहिल भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउनका लागि गुराँसपार्क सहयोगी बन्न थालेको वडाअध्यक्ष रामबहादुर खड्काले बताए। घोडेपानी बस्तीको सिरानबाट पश्चिमोत्तर आधा घण्टा गुराँसे जङ्गलभित्र हिँडेपछि कालीसारस्थित गुराँस पार्क पुगिन्छ । घोडेपानीबाट ४५ मिनेट उकालो हिँडेपछि पुगिने समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिल सूर्योदय र हिमालको दृश्यावलोकनका लागि प्रसिद्ध गन्तव्य हो ।

गुराँस पार्कबाट थप १५ मिनेट अगाडि बढेपछि गुराँसकै जङ्गलभित्र रहेको सुन्दर प्यारीबराह ताल पुगिन्छ । फर्कंदा प्यारीबराहबाट भलखराचौर हुँदै ४० मिनेटमा घोडेपानी बस्तीको पुछारमा आइपुगिन्छ । घोडेपानीको सिरानबाट कालीसार गुराँस पार्क हुँदै प्यारीबराह ताल पुगेर भल्खराकोबाट तल्लो बाटो हुँदै घोडेपानी साइक्लिङ गर्न सकिन्छ । प्यारीबराहबाट घोडेपानीसम्मको घोडचढी (पोन्नी ट्रेल) मा जान सकिन्छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  १२ : ५४ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन