१७ बैशाख २०८१, सोमबार | April 30, 2024

बुटवलबाट गाईगोरु धपाउ अभियान, स्थानीय खुसी, निरन्तरतामा चुनौती

नगरप्रमुख पाण्डेय भन्छन् — ‘हरेक प्रदेशमा एक विराट गौशाला चाहियो’



बुटवल । बुटवल उपमहानगर १४ सेमलारका संदीप गुरुङ बुटवलको राजमार्ग चौराहाको छेउको सर्बिसलेनमा आफ्नो बुलेट बाइक पार्किङ गरेर नजिकैको पसलमा पसेकामात्र थिए, दुईवटा साँढे जुध्दै आए र उनको लाखौं मुल्यको बाइक सहित सडक किनारमा राखेका बाइकहरु ढाल्दै लामो समय साँढेको मल्लयुद्ध चल्यो ।

साँढेको जुधाइबाट भाग्ने क्रममा विद्यालय जाँदै गरेका ३ किशोरीहरु सडक किनारमा लडे, २ जनालाई चोट लाग्यो । गुरुङको ४ लाख बढी परेको बाइक नराम्रो गरि बिग्रीयो । ‘सडकमा छाडा छाडिएको साँढे, कोसँग क्षतिपुर्ति माग्नु ?’ गुरुङले भने, ‘आफै गएर झण्डै १ लाख खर्च गरेर बाइक मरमत गरें ।’ बाइकको पेट्रोल टंकी सहित बिभिन्न भाग कुच्चिएर फेर्नु परेको उनले बताए ।

राजमार्ग चौराहामा नै द्वारीका सिनेमामा फिल्म हेर्न आएकी बुटवल ९ दीपनगरकी सुश्मा सोमै साँढेको जुढाईबाट भाग्दा ढक्कन नलागेको नालामा खसेर घाइते भइन् । सडक यात्रीले उद्दार गरेर उनको उपचारपछि घर पठाइएको थियो । बुटवलको राजमार्ग चौराहा, मिलन चोक, ट्राफिक चौक लामो समयदेखि साँढेको जुधाइको क्रिडास्थल बन्दै आएको छ ।

पाल्पा तिनाउबाट खाद्यान्न लगायतको घरयासी सामान किनेर मोटर साइकलको लेगगार्डमा झुण्ड्याएर बिपि चोकको एउटा पसलमा जुत्ता किन्न पसेका उत्तम बुढा पसलमा पस्न भ्याएका थिएनन्, गाईले लेगगार्डको झोला तानेर खाद्यान्न सडकभरी छरपस्त पारिदियो । उनले हाटबजारबाट केहीबेर अगाडी किनेको दाल, चिनी लगायतका खाद्यान्न सडकको माटोमा मिल्यो । ‘१५ सय जतिको सामान किनेको थिएँ, गाइले सबै माटोमा मिलाइदियो ।’ बुढाले गुनासो गरे ।

बाइकको लेगगार्डमा मात्र होइन बुटवलमा आँखा झिमिक्क पार्दा पसलमै पसेर तरकारी र खाद्यान्न पशुचौपायाले नष्ट गरिदिने दिन चर्या नै बनेको छ । बुटवल १० योगी कुटी चोकमा फलफुलको पसल गर्ने सीता ज्ञवालीलाई ग्राहक कुर्नुसँगै फलफुललाई पशुचौपायाबाट बचाउन गोठालै बस्नु पर्ने अवस्था छ । ‘दायाँबायाँ जानै हुँदैन पसलमा गाइगोरु पस्छन् र फलफुल नष्ट गरिदिन्छन् ।’ ज्ञवालीले भनिन् ।

पछिल्लो समय बुटवलको अर्को पहिचान नै छाडा पशुचौपायाको शहर जस्तै बन्न थालेपछि भने बुटवल उपमहानगरपालिकाले पशुचौपाया व्यवस्थापनमा गम्भीर चासो देखाएको छ । सडक दुर्घटना देखि बिचसडकमै साँढे भिडन्त हुन थालेपछि पशुचौपायाको दिगो व्यवस्थापनका लागि उपमहानगर तातेको हो । अचेल बुटवलका नगर प्रमुखको बिहानको दिनचर्या नै सडकको गाईगोरु धपाउने र नजिकैको शिवनगर बन क्षेत्रको नन्दनी गौशालामा पु¥याउने बनेको छ । उपमहानगरको छाडा चौपाया नियन्त्रण गर्ने अभियानलाई नगरबासीले पनि खुलेर साथ दिएका छन् । उपमहानगरले हरेक शनिबारको बिहान मेयर खेलराज पाण्डेको अगुवाइमा सडकका चौपाया गौशाला भित्राउने अभियान नै चलाएको छ । पहिलो चरणमा चैत्र मसान्त सम्म अभियान चल्ने र आवश्यकता अनुसार अझै अभियान जारी राखिने उपमहानगरले जनाएको छ ।

तस्वीर : दिनेश कुमार श्रेष्ठ/खबरकुरा डट कम

बुटवल उपमहानगरको तिनाउ पुलवारीको घना बस्तीमा मात्र ९ सय बढी छाडा चौपाया रहेको उपमहानगरले अनुमान गरेको छ । जस अन्तर्गत मुल सडक र त्यस आसपासबाट ७ सय चौपाया गौशालामा पु¥याइएको छ भने २ सय अझै सडकमा रहेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले बताए । उनले शिवनगर सामुदायिक बन क्षेत्रमा बनाइएको नन्दनी गौशाला निकै साँघुरो भएको र त्यसको विकल्प खोज्न जरुरी भएको पनि जनाए । ‘बुटवलमा अन्यत्रबाट चौपाया आउने जानेक्रम चलिरहन्छ, त्यसैका आधारमा चौपायाको संख्या थपघट हुन्छ,’ उनले भने, ‘पछिल्लो आँकलनमा ९ सय चौपाया बुटवलको घनाबस्तीमा रहेको उपमहानगरले तथ्यांक संकलन गरेको छ ।’

बुटवल उपमहानगरले हालको गौशालामा वडा नम्बर १ देखि १० सम्मका चौपायालाई व्यवस्थापन गर्दै आएको छ । दोस्रो चरणमा वडा नम्बर ११ देखि १९ सम्मका चौपाया व्यवस्थापन गर्न वडा नम्बर १२ मा अस्थायी गौशाला निर्माण गर्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत खनालले बताए । उनका अनुसार पुशुचौपाया व्यवस्थापनका लाथि उपमहानगरले सुरुमा ४० लाख र पछि ३० लाख गरि ७० लाख बिनियोजन गरेको छ । भौतिक निर्माण मै खचै हुने उक्त बजेटले दिगो व्यवस्थापन असम्भव भएको खनालले बताए । प्रदेश सरकार सहित बिभिन्न निकायलाई गौशाला संचालन र व्यवस्थापनका लागि सहयोग माग गरिएको उनले बताए ।

अभियानमा निरन्तर खटेका बुटवलका नगर प्रमुख खेलराज पाण्डेयले स्थानीय तहले मात्र छाडा चौपायाको दिर्घकालिन व्यवस्थापन गर्न नसक्ने बताउँछन् । बुटवलमा छाडा चौपायाको आतँक मच्चिनुमा बुटवलका नागरिकको नगन्य सहभागिता रहेको दाबी गर्दै उनले अन्य पालिका र भारतीय सिमापारीबाट आएका चौपायाले ठुलो समस्या जन्माएको बताए । ‘बुटवलमा देखिएका चौपायामा बुटवलबासीले दुध खाने र खुल्ला छाड्नेको संख्या ५-१० प्रतिशत भन्दा बढी छैन,’ उनले भने, ‘बुटवलमा ठुलो संख्यामा अन्य पालिका र सिमापारीबाट चौपाया आउने गर्दछन् ।’

तस्वीर : दिनेश कुमार श्रेष्ठ/खबरकुरा डट कम

संघीय र प्रदेश सरकारको प्रत्यक्ष सहभागीता बिना छाडा चौपाया असम्भव रहेको बताउँदै त्यसका लागि संघले नीति नै बनाएर आउनु पर्ने उनले औंल्याए । संघले स्थानीय सरकारहरुको समन्वयमा एक प्रदेश एक गौशालाको अवधारणा ल्याउन उनले माग गरे ।

अभियानले केही दिन शान्त भए जस्तो देखिएपनि संघ र प्रदेशको योजना र नीति नआए पुनः समस्या जस्ताको तस्तै हुने मेयर पाण्डेयले चिन्ता प्रकट गरे । ‘विकासका योजनामा यसैपनि बजेट खर्च हुन नसकेको अवस्थामा पुश चौपाया व्यवस्थापनमा ठुलो बजेट खर्च गर्नुपर्ने बाध्यता आएको छ ।’ उनले भने ।

उपमहानगरको अभियानले स्थानीयबासी खुसी

छाडाचौपायाबाट समस्यामा परेका स्थानीयबासीले उपमहानगरको चौपाया नियन्त्रण अभियानको प्रशंसा गरेका छन् । उनीहरुले बुटवलको पहिचान नै बिगार्ने गरि शहरमा आतँक मच्चिएको चौपाया व्यवस्थापनको कदम अत्यन्त राम्रो भएको बताएका छन् ।

बुटवल ८ सुख्खानगरमा पुजा सामाग्री सहित फलफुलको पसल गर्ने ध्रुव भट्टराईले ढिलै भएपनि उपमहानगरले पशु चौपाया व्यवस्थापनको धरै राम्रो अभियान थालेको बताए । पहिलो चरणमा नै बजारमा निर्धक्क हिँड्न सकिने भएको भन्दै यो अभियानलाई उपमहानगरले निरन्तरता दिनु पर्ने बताए । ‘सहर भित्र बाइक चलाउँदा आँखा चिम्लँदा गाईगोरु ठोक्कीने हुन् की भन्ने चिन्ता हुन्थ्यो, त्यो अहिले केहिदिनबाट सहज बनेको छ ।’ उनले भने ।

तस्वीर : दिनेश कुमार श्रेष्ठ/खबरकुरा डट कम

उपमहानगरको कदममा अहिले बुटवलका बिभिन्न संघ संस्थाहरुले समेत सक्रियता देखिएका छन् । जन्मदिन, बैबाहिक बर्षगाँठ, पितृ तर्फण जस्ता कार्यहरुमा गौशालामा गाईलाई दाना खुवाउने अभियान जस्तै चलेको छ । रुपन्देही डेरी व्यवसायी संघका अध्यक्ष रामकृष्ण शर्माले उपमहानगरको अभियानमा डेरी व्यवसायी सक्रियापूर्णक सहकार्य गरिरहेको बताए । उनले संघ सहित सबैलाई पशुचौपायालाई आवश्यक पर्ने दाना, पानी उपलब्ध गराउन आह्वान गरिएको बताए । संघको सहकार्यमा महिला प्रहरीहरुको संगठन, फूलवारी मर्निङवाक समुह लगायतले गौशालामा दाना खुवाउने कार्यक्रम संचालन गरेको उनले जानकारी दिए ।

सुत्केरी गाई, साना बाच्छाबाच्छी र साँढेहरुको बासस्थान अलग अलग हुने गरि व्यवस्थापन गरिदिन उनले उपमहानगरसँग माग गरे । छाडा चौपाया नियन्त्रण अभियानमा डेरी व्यवसायीहरु खुलेर लाग्न तयार रहेको जनाउँदै उनले बुटवलका सहकारी, संघ संस्थाहरुलाई पनि छाडा चौपाया व्यवस्थापनमा योगदान गर्न आह्वान गरे । ‘केही दिनकै प्रयासले नगर सुन्दर देखिएको छ,’ उनले भने, ‘तर अभियानलाई निरन्तरता दिन भने निकै चुनौती छन् ।’

तस्वीर : दिनेश कुमार श्रेष्ठ/खबरकुरा डट कम
तस्वीर : दिनेश कुमार श्रेष्ठ/खबरकुरा डट कम
तस्वीर : दिनेश कुमार श्रेष्ठ/खबरकुरा डट कम
तस्वीर : दिनेश कुमार श्रेष्ठ/खबरकुरा डट कम

 

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ६ : ५८ बजे

इलाम-२ मा सुहाङ नेम्वाङ विजयी

इलाम । इलाम-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङ विजयी भएका

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि