६ माघ २०८२, मंगलबार | January 20, 2026

फेरियो चैते दशैँ मेला, हराए मौलिक गीत



बागलुङ । ‘एउटो पैसो कैलेलाई, चैते दशैँलाई, त्यो पनि मागे, दिन्न कसैलाई’

यो गीतले चैते दशैँका लागि वर्षभरी पैसा जम्मा गरेर राख्ने परम्परा झल्काउँछ । गीतले भनेजस्तो वर्षभरी पैसा जम्मा पारेर चैते दशैँमा खर्च गर्ने परम्परा अहिले हराइसकेको छ ।

चैते दशैँको अवसरमा बागलुङ कालिका मन्दिर परिसरमा शुक्रबारदेखि चैते दशैँ मेला लागिरहेको छ । ऐतिहासिक चैते दशैँ मेला लागेपनि मेलाको रुप पहिलेको भन्दा फरक छ । मौलिक भाका हराइसकेका छन् । चैते दशैँमा कालिका मन्दिर दर्शन गर्न आउने र वर्षभरीलाई आवश्यक सामग्री खरिद बिक्री गर्ने चलन अब रहेन ।

चैतेदशैँको अवसरमा गाइने ‘रेरे साइलो’, ‘यानीमया’, ‘ठाडो भाका’ र सालैजो’ जस्ता मौलिक भाका सुन्नै छाडिएको छ । रेकर्ड गरिएका गीतमा नाचगान गर्ने चलन बढेको छ । मेलामा लिङ्गे पिङ र चर्खेपिङ देखिन छाडेको छ । त्यसको सट्टामा रमाइलो झुला (आधुनिक पिङ) राखिएका छन् ।

“चैते दशैँ मेला ८० वर्ष अघिसँग तुलना त हुन्न, समय अनुसार परिवर्तन हुने नै भयो, डाला, नाङ्ला र ठेकीको व्यापार अहिले हुँदैन”, स्थानीय ८६ वर्षीय दुर्गा अचार्यले भने, “रातभरी रेरे साइलो, सालैजो गीत गाएर जाग्राम बसिन्थ्यो, अहिले त कलाकारले ट्र्याकमा गीत गाउँछन्, मौलिकता हरायो, मेलाप्रतिको चाख घटेको छ तर दर्शनार्थीको सङ्ख्या चाहीँ बढेको छ ।”

‘चैते दशैँ मेलैमा
माया बस्यो ख्याल ख्यालैमा’
‘बागलुङ बजार मेलैमा
झर्छ आँशु छुट्ने बेलैमा’

गायक विमलराज क्षेत्रीको यो गीतले बागलुङको चैतै दशैँ मेलामा प्रेमी प्रेमिकाको भेट हुने ठाउँ रहेको पुष्टी गर्छ । मेलामा भेटिएका जोडीले पुनः अर्को मेलामा भेट्ने बाचाका साथ छुटेको भावलाई गायक क्षेत्रीले धेरै वर्ष पहिले गीतमा उतारेका थिए ।

चैते दशैँ मेला फेरिएजस्तै चैतैदशैँसँग सम्बन्धित मौलिक भाकासमेत फेरिएका छन् । चैते दशैँमा गाइने लोकदोहरीले सयौँ कलाकार बागलुङले जन्माइसकेको छ । कालिका भगवती मन्दिर यस क्षेत्रकै चिनारीको रुपमा प्रसिद्ध छ । जिल्लाको आर्थिक सामाजिक र सांस्कृतिक विकासमा कालिका मन्दिरको छुट्टै महत्व छ । त्यसैले बागलुङ कालिका मन्दिर र चैतेदशैँ मेलालाई लिएर थुप्रै गीत गाइएका छन् ।

“पहिले चैते दशैँ मेला लोकदोहोरी गाउने चौतारी जस्तो थियो, यहीँ गीत गाउने धेरै जना राष्ट्रियकलाकार बने”, स्थानीय हरिओम शर्माले भने, “अहिले तिनै कलाकारले चैते दशैँ विर्सेका छन्, मेलाको महत्व घटेको छ तर मन्दिरको महत्व बढ्दै छ ।”

चैते दशैँ मेलाका लागि पैसा साँचेर राख्ने र मेलामा नरिवल, मिस्री किनेर खाने चलन अहिले हराएको शर्माको भनाइ छ । चैते दशैँ मेला बागलुङको मौलिक परम्परा भएपनि संरक्षणमा स्थानीय निकायले चासो नदिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

बागलुङ कालिका मन्दिरमा आउने दर्शनार्थीले किनबेच गर्ने थलो नै चैते दसैँ मेलाको रुपमा विकास भएको हो ।

“यो मेला समग्र बागलुङ जिल्लावासीको हो, मेलाले पर्यटन प्रवद्र्धन गर्दै बागलुङ बजारको खस्कँदो व्यापारलाई बढाएको छ तर मेलालाई नाफाको रुपमा नलिइ परम्परा धान्ने काम मात्र भएको छ”, अध्यक्ष खड्काले भने “चैते दशैँ मेलामा रु ५५ लाख खर्च हुने गरेपनि कालिका मन्दिरले पूरै खर्च धान्न सक्दैन, स्थानीय तहले मेलाको अपनत्व नलिँदा परम्परा धान्नै समस्या भएको छ ।”

विक्रम संम्वत १५९१ मा पर्वते राजा प्रतापीनारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसँग विवाह गरेको र राजकुमारीले आफुसँगै दाइजोको रुपमा ल्याएकी माझकी देवीको मूर्तिलाई अहिलेको कालिका मन्दिर भएको ठाउँमा राखियो । पछि मूर्तिसहितको डोली उठाउन खोज्दा उठाउन नसकेपछि त्यही ठाउँमा मन्दिर स्थापना गरिएको किंवदन्ती छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ४ : ५५ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच