५ चैत्र २०८२, बिहिबार | March 19, 2026

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण



म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ स्थित घोडेपानी-पुनहिल क्षेत्रको भ्रमण गरेका छन् ।

विसं २०८० को वैशाखदेखि चैतसम्म ३१ हजार चार सय ३९ जना पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेका पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ । चौकीले घोडेपानी भित्रिने र बाहिरिने पर्यटकको विवरणसहितको अभिलेख राख्दै आएको छ ।

गत वर्ष २५ हजार दुई सय ७९ जना पर्यटक भित्रिएका र छ हजार एक सय ६० जना घोडेपानी हुँदै अन्यत्र गएका घोडेपानी प्रहरी चौकीका वरिष्ठ हवल्दार टेकबहादुर सुनारी मगरले बताए । सबैभन्दा बढी चैत महिनामा पाँच हजार आठ सय ४९ जना पर्यटक घोडेपानी आएका छन् ।

वैशाखमा चार हजार चार सय १४, जेठमा एक हजार दुई सय ८१, असारमा चार सय ४१, साउनमा नौ सय ४७, भदौमा नौ सय ७२, असोजमा चार हजार दुई सय ९८ र कात्तिकमा चार हजार तीन सय ५७ जना पर्यटक आएका छन् । कात्तिकमा चार हजार तीन सय ५७, मङ्सिरमा तीन हजार एक सय ९९, पुसमा एक हजार छ सय २७, माघमा एक हजार पाँच सय ७७ र फागुनमा दुई हजार चार सय ७७ जना पर्यटक आएका थिए ।

विसं २०७९ मा २६ हजार तीन सय एक जना पर्यटकले घोडेपानी घुमेका थिए । घोडेपानी टोल सुधार समितिका उपाध्यक्षसमेत रहेकी होटल व्यवसायी जुलीठकुरी पुनले कोरोनाअघिकै लयमा फर्कन नसके पनि पर्यटक आगमन सुधार हुन थालेकाले आशा जागेको बताइन ।

“अनुकूल मौसम र बिदाको समय भएकाले आन्तरिक पर्यटकको आगमन पनि राम्रो छ”, उनले भनिन, “आन्तरिक पर्यटकले यहाँको होटल व्यवसाय धानिएको छ ।” कोरोनाअघि वार्षिक ६० देखि ७० हजार जना पर्यटक घोडेपानी आउने गरेका थिए ।

समुद्र सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन् । घोडेपानीमा साना ठूला गरी २७ होटल छन् । ती होटलमा एक दिनमा एक हजार जना बास बस्न सक्छन् ।

पुनहिल प्रवेश शुल्क र पुनहिलमा चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षका लागि माइलादाइ होटल तथा रेष्टुराँलाई रु ६३ लाख ११ हजारमा ठेक्का सम्झौता गरेको छ । पुनहिल प्रवेश गर्न हरेक नेपालीले रु ५० र विदेशीले रु एक सय ५० शुल्क तिर्नुपर्छ ।

पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सूर्योदयको दृष्यावलोकन गर्न पाउनु पुनहिलको अर्को विशेषता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँस जङ्गल छ । हिजोआज गुराँसले ढकमक्क भएको जङ्गलमा रमाउने पर्यटकको चहलपहल बढेको घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताए ।

अन्नपूर्ण परिक्रमा गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी-उल्लेरी, छोम्रोङ-घान्द्रुक-टाडापानी, नागी-महरेबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन् । आन्तरिक पर्यटकको अभिलेख राख्ने गरिएको छैन । म्याग्दीको पोखरेबगर-घार-शिख-चित्रे हुँदै घोडेपानी सडकमा सवारी साधनमा पुग्न सकिन्छ । पोखरा-घोडेपानी बस सेवा पनि सञ्चालनमा छ ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ८ : १८ बजे

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौं । गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा

‘लालीबजार’ मा फरक भूमिकामा छु : अभिनेत्री खड्का

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार

समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश