६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

अर्गानिक तरकारी खेतीमा रमाउँदै थारु महिला



नेपालगन्ज । अर्गानिक तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारु महिला बिहानै तरकारी लिएर नेपालगन्ज आउने गरेका छन् । अर्गानिक तरकारीको माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारु महिलाले आफ्नै खेतबारी उत्पादित तरकारीबाट प्रशस्त कमाइ गर्न थालेका हुन् ।

नेपालगन्ज ल्याइएका तरकारी तत्काल बिक्री भई राम्रो आम्दानी हुन थालेपछि उत्पादनतर्फ अधिकांश थारु महिला आकर्षित भइरहेका बाँके खजुरा–४ की रामदुलारी थारुले बताइन् । उनले विभिन्न किसिमका तरकारी बिक्री गरेर मासिक रु १५ देखि रु २० हजारसम्म आम्दानी गरिरहेको जानकारी दिइन् ।

बाँकेको नौबस्तामा घर वरिपरी तरकारी खेती गरिरहेकी वसन्ती थारुले उत्पादित तरकारी एकाबिहानै नेपालगञ्ज ल्याएर बिक्री गर्ने गरेको बताइन् । त्यस्तै, कोहलपुर मैटहवाकी सुनिता चौधरीले घरबाट ताजा तरकारी ल्याएर नेपालगन्जको पुष्पलाल चोकमा केही समयमै बिक्री हुने गरेको बताइन् ।

बर्दियाको बढैयाताल गाउँपालिका–३ का महिला वडासदस्य दुसानी थारुले दैनिक बर्दियाबाट नेपालगन्ज अर्गानिक तरकारी ल्याएर बिक्री गर्दै आएकी छन् । उनले हरेक दिन बिहानै नेपालगन्जको सडकमा तरकारी बिक्री गर्न थालेको वर्षौँ भइसकेको बताइन् ।

महिला उद्यमीका साथै वडासदस्य समेत रहेकी थारुले वर्षौँदेखि आफूले कृषि पेसा गर्दै आएको बताइन् । “म पहिलादेखि नै कृषि पेसामा आबद्ध थिएँ, विगत १० वर्षदेखि कृषि पेसामा आवद्ध छु । अर्गानिक तरकारी साइकलमा राखेर नेपालगन्ज ल्याएर बिक्री गर्दै आएकी छु”, उनले भनिन्, “स्थानीय चुनावमा महिला सदस्यका रुपमा निर्वाचित भएपछि तरकारी खेती गरेर पनि आत्मनिर्भर बन्न सकिन्छ भनेर महिला दिदीबहिनीलाई सम्झाउने गरेकी छु ।”

आफू जनप्रतिनिधि भए पनि कृषि पेसामा रमाइरहेको भन्दै दुसानीले बिहानभरी नेपालगन्जमा तरकारी बिक्री गर्ने र दिउँसो घर पुगेपछि जनताका काममा लाग्ने गरेको बताइन् । पहिला साइकलमै राखेर तरकारी बेच्न नेपालगन्जसम्म आउने गरेकामा अहिले भने गाडीको प्रयोग गर्न थालेको उनको भनाइ छ ।

नेपालगन्जको धम्बोझीस्थित सिटिजन बैंक अगाडि सडकको किनार (सडक पेटी)मा महिलाले तरकारी बजार लगाउने गरेका छन् । सडकमा तरकारी राखेर बेच्दा बिहान ९ बजेपछि नगर प्रहरीले लखेट्ने गरेको दुसानीले गुनासो गरिन् । “यसरी व्यावसायिक रुपमा तरकारी बेच्न थालेको तीन वर्ष भयो । अहिले १५ कठ्ठा जग्गामा विभिन्न तरकारीजन्य वस्तु उत्पादन गर्दै आएकी छु”, उनले भनिन् ।

तरकारी बिक्रीबाटै पाँच जनाको परिवारको जीविकोपार्जन भइरहेको दुसानीले बताइन् । “देशमा केही गर्न सकिन्न भनेर विदेश गएर धेरै नेपाली नागरिकले दुःख पाएका छन्, मैले यहीँ तरकारीबाटै राम्रै आम्दानी गरिरहेकी छु”, उनले भनिन् ।

स्थानीयस्तरमै उत्पादन हुने घरेलु तथा अर्गानिक वस्तुलाई सरकारले प्रवर्द्धन गर्नुपर्ने र बिक्री वितरणका लागि छुट्टै स्थान बनाइदिनुपर्ने उनको माग छ । नेपालगन्ज सडकमा दुसानी थारुजस्ता धेरै किसान बाँके र बर्दियाबाट एकाबिहानै तरकारी ल्याएर बिक्रीवितरण गर्दै आएका छन् । रासस

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १ : ३३ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र