६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

समयअगावै यसरी ‘ब्रेक थ्रु’ भयो सुनकोशी मरिणको सुरुङ



काठमाडौं । तराई-मधेसमा १२ महिना नै सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरूगरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वीच थिचेपछि सुरुङ छिचोलिएको हो ।

एकाध सेन्टिमिटरमात्रै सुरुङ खन्न बाँकी रहेको र आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले स्वीच थिचि सुरुङ छिचोलिएको घोषणा गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए ।

सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङ छिचोलिए पनि त्यसलाई पानी बहाउन मिल्ने बनाउन अझै एकदेखि डेढ बर्ष समय लाग्नेछ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका-७ कानढुङ्ग्री नजिकै विशेष समारोहको आयोजना गरिएको हो । समारोहमा प्रधानमन्त्री प्रचण्ड, ऊर्जामन्त्री बस्नेत, दुवै जिल्लामा जनप्रतिनिधि, उच्च सरकारी अधिकारीका साथै यहाँस्थित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका-२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । यस्तै सो आयोजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुनेछ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री बस्नेतले आयोजना प्रमुखलगायत अधिकारीलाई आयोजना स्थल नछाड्न, स्थानीयस्तरमा नै समस्या समाधान गर्न स्पष्ट निर्देशन दिएका कारण सुरुङ निर्माणमा उल्लेख्य सफलता हासिल भएको हो । उनले निर्माण व्यवसायी परिचालनमा विशेष ध्यान दिन तथा आवश्यक सहजीकरणगरी हरेक १५ दिनमा जलस्रोत तथा सिँचाइ विभागमा प्रगति विवरण उपलब्ध गराउनसमेत निर्देशन दिएका थिए । यस्तै, हरेक एक महिनामा आयोजनाको समग्र प्रगति विवरण प्रस्तुत गर्न मन्त्री बस्नेतले दिएको निर्देशनअनुसार आयोजनाको प्रगति प्रभावकारीरूपमा अगाडि बढेको हो । प्रधानमन्त्री प्रचण्डले नियमितरूपमा आयोजनाबारे चासो राख्दै आएका थिए ।

प्रविधिले साथ दियो र काम गराउने मानिस राज्यप्रति इमान्दार भयो भने जुनसुकै आयोजनाले पनि अपेक्षित सफलता पाउनसक्छ । त्यसैको उदाहरण बन्न सफलभएको छ, सो आयोजना । मुलुकका अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुबै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यानाकृष्ट गरेको छ । नेपालमा यो गतिमा पनि काम हुनसक्छ र भन्दै अधिकांशले आश्चर्य प्रकट गरेका छन् । आयोजनाको निर्माणमा देखिएको सकारात्मक प्रभाव अन्य आयोजनामा समेत पर्ने भन्दै खुसी व्यक्त गर्नेहरु पनि उत्तिकै छन् ।

सुरुङ खन्दैजाँदा चुरे र महाभारत पर्वत श्रृङ्खलाका बीचमा समस्या देखिँदा केही दिन प्रभावित भएको काम त्यसको समाधानसँगै नियमितरूपमा अगाडि बढेको आयोजना प्रमुख बरालको भनाइ छ । उनका अनुसार विसं २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरूगरिएको सो आयोजनामा कुल १३ दशमलव तीन किलोमिटर लामो सुरुङ निर्माण भएको हो । करिब दुई बर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि १९ महिनामा नै सुरुङ चिछोलिएको हो । सिन्धुलीको कमलामाई नगरपालिका २ कुमुमटारबाट टनेल बोरिङ मेशिन (टिबीएम) ले सुरुङ खन्न थालेको थियो । आज टिबीएम सुनकोशी नदी किनारमा निस्केको छ ।

नेपालका विद्युत तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टिबिएम प्रयोग गरेर खनिएको हो । यसअघि भेरी-बबई डाइभर्सन आयोजनामा पनि टिबिएमको प्रयोग गरिएको थियो । पहाडी भूभाग बढीभएको नेपालमा सुरुङ खन्न अब टिबिएम प्रभावकारी उपकरणका रूपमा स्थापित भएको छ । यसबाट अन्य आयोजनामा समेत सोही प्रकृतिको मेसिन प्रयोग गर्न सकिने वातावरण बन्दैगएको देखिन्छ । आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काममा भने सोहीअनुसार हुनसकेको छैन । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन त्यसको खास कारण बनेको भन्दै आलोचनासमेत हुने गरेको छ । हाल आयोजनाको ‘कफर ड्याम’ निर्माण भइरहेको छ ।

निर्माण व्यवसायीले काम गरिरहेको भए पनि बाँध निर्माणमा अपेक्षित प्रगति हुननसक्दा भेरी-बबईको परिणती दोहोरिने त होइन भन्ने चिन्ता यहाँ पनि छ । अहिले आयोजनाको अर्को महत्वपूर्ण विद्युत् गृह र प्रसारणलाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ । प्रसारणलाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सकिएको छ । यस्तै हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फको काम पनि अगाडि बढाउन लागिएको आयोजनाले जनाएको छ ।

भेरी-बबई आयोजनामा पनि दुई वर्ष पहिल्यै सुरुङ निर्माण सम्पन्न भए पनि बाँधस्थल र विद्युत् गृह निर्माण सकिएको छैन । ती काम कहिले सकिन्छ भन्नसक्ने अवस्थामा आयोजनाका सम्बद्ध अधिकारी छैनन् । यद्यपि आयोजनाको अन्य कामलाई गतिदिन मन्त्रालयले आयोजनाका सम्बद्ध अधिकारी र निर्माण व्यवसायीलाई स्पष्ट निर्देशन दिइसकेको छ । प्रधानमन्त्री प्रचण्डले आज पनि सम्बद्ध पक्षको बैठक राखेर अन्य कामलाई गतिदिन निर्देशन दिएका छन ।

सुनकोशी मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ । बाँध तथा विद्युत् गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इन्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ । यस्तै, विद्युत् गृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवका आयोजना भएकाले स्रोतको कुनै अभाव नहुने प्रधानमन्त्री र ऊर्जामन्त्रीको प्रतिबद्धता भएकाले आफूहरुलाई काम गर्न सहजभएको आयोजना प्रमुख बरालको टिप्पणी छ ।

यसअघि सुरुङ निर्माणमा भौगर्भिकरूपमा रहेको जटिलताका कारण तीन पटक समस्या देखिएको थियो । आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले गरेको हो । बाँध निर्माण भने नेपालको रमण समूहसँग भारतीय कम्पनी पटेल इञ्जिनियरिङको संयुक्त उपक्रमले जिम्मा पाएको छ । बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । आगामी विसं २०८४ को असोजमा सो आयोजना पूर्णरूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भेरी बबई डाइभर्सन आयोजनामा सुरुङ निर्माण सम्पन्न भएको लामोसमय भए पनि बाँध र विद्युत् गृह निर्माणले गति नलिँदा देखिएको व्यवधान सुनकोशी मरिणमा आउन नदिन सरकार उत्तिकै चनाखो देखिएको छ ।

सो आयोजना सम्पन्न भएपछि अन्नभण्डारका रूपमा रहेको मध्य तराईका पाँच जिल्लामा वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध हुनेछ । त्यसले खाद्य उपज उत्पादनमा गुणात्मक बदलाव आउने सरकारको विश्वास छ । आर्थिक वर्ष २०६८/६९ मा भेरी-बबई डाइभर्सन आयोजनामा टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गर्ने प्रसङ्ग ल्याउँदा धेरैले असम्भव प्रयासको संज्ञा दिएका थिए । नीति निर्माता तथा आयोजनासम्बद्ध अधिकारी नै विश्वस्त थिएनन् । लगानी बढी लाग्ला, प्राविधिक नपाइएला आदि इत्यादि शंका गर्ने पनि उत्तिकै थिए । संसारका धेरै देशमा प्रयोग भइसकेको प्रविधि भित्र्याउन ठूलै मेहेनत गर्नुपरेको सम्बद्ध अधिकारीको भनाइ छ । असम्भव ठानिएको काम नै भेरी बबईमा सम्भव देखिएपछि सुनकोशी मरिणमा पनि टिबीएमको प्रयोग गरिएको हो । ‘ड्रिलिङ एन्ड ब्लास्ट’ प्रणालीबाट मात्रै सुरुङ खन्ने गरिएकामा टिबिएमको प्रयोग नेपालका लागि नौलो प्रविधि थियो । भेरी-बबईमा डेढ वर्षमा नै सुरुङ निर्माण सम्पन्न भएपछि अन्य आयोजनामा समेत टिबिएमको प्रयोग गर्नेबारेमा प्रक्रिया अगाडि बढाइएको छ । दुधकोशी अर्धजलाशयुक्त आयोजनाको सुरुङमा समेत टिबिएमको प्रयोग गर्नेबारेमा प्रारम्भिक छलफल भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १ : ४९ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र