१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

गर्मी चर्केसँगै नेपालगन्जमा ७ जना सडक आश्रित मानिसको मृत्यु, मृत्युको कारण के ?



नेपालगन्ज । पछिल्ला केही दिनमा अत्याधिक गर्मी बढेको अवस्थामा नेपालगन्जमा कम्तिमा ७  जना सडक आश्रित मानिसहरुको मृत्यु भएको छ । बैशाख र जेठमा गरि नेपालगन्जका बिभिन्न स्थानमा ६ जना बढी मानिसको मृत्यु भएपनि उनीहरुको मृत्युको कारण भने अझै खुल्न सकेको छैन । स्थानीयले अत्याधिक गर्मी र त्यसैमा मदिरा सेवन मृत्युको कारण भएको बताएपनि सरकारी निकायले उनीहरुको मृत्युको कारणको कुनै अभिलेखिकरण गरेको छैन ।

जेठ १८ गते नेपालगन्ज उपमहानगरपालिका वडा नं २०, राँझाचोकमा एक महिला सडक मै बेहोस् भइन् र उनको उपचारका लागि अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरिदियो । मृतक स्थानीय ३७ वर्षीया गंगा विक भएको पुष्टि भयो । मृत्यु हुँदा उनको मुखबाट आएको मदिराको गन्ध र स्थानीयले सधैं मदिरा सेवान गर्ने गरेको बताएको आधारमा विकको मदिरा सेवनबाट मृत्यु भएको अभिलेखमा चढाइयो । चर्को गर्मीमा सडक आश्रित ती महिला गर्मीका कारण वा बेहोस हुनुको अरु कुनै कारण हुन सक्ने तर्फ कसैको ध्यान गएन ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८, कारकाँदोस्थित सुर्खेतरोडमा जेठ १५ गते दिउँसो एक बजे एक महिला बेहोस् अवस्थामा फेला परिन् । अन्दाजी ३५-४० वर्षकी महिलालाई बेहोस् अवस्थामै भेरी अस्पताल, नेपालगन्जमा लगिएकोमा उपचारको क्रममा महिलाको मृत्यु भयो । उनको सनाखत हुन नसकेपछि स्थानीय सरकारका प्रतिनिधिको रोहबरमा रित पुर्याएर ती महिलाको दाहसंस्कार गरियो । उनी बेहोस हुनुको कारण खोजिएन ।

जेठ ५ गते नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा बस्ने एक महिला बेहोस् भइन् । उनको पनि उपचारका लागि भेरी अस्पताल लगिएकोमा उनको मृत्यु घोषणा गरियो । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० की ५२ वर्षीया भीमाकुमारी पाण्डेको पनि मदिरा सेवनबाटै मृत्यु भएको अभिलेखमा चढाइयो । मन्दिर परिसरमा मागेर बस्ने उनले अन्य समयमा पनि अत्याधिक मदिरा सेवन गर्ने गरेको स्थानीयको भनाईका आधारमा मृत्युको अभिलेख राखियो । मृत्युको बैज्ञानीक कारण भने खोजिएन ।

जेठ ४ गते विहान ११ बजे खजुरारोडमा एक पुरुषको शव फेला प¥यो । हेर्दा ४०-४२ वर्षको जस्तो देखिने पुरुषको सनाखत हुन नसकेपछि उनको पनि कानुनी रित पुर्याएर सतगत गरियो । प्रहरीको अभिलेखमा मृत्युको कारण दर्ज गरिएको छैन ।

बैशाख ७ गते महेन्द्र बहुमुखी क्याम्पस नजिक बेहोस् अवस्थामा भेटिएकी २९ वर्षीया गीता परियारको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भयो भने बैशाख ४ गते नेपालगन्जको कारकादोमा बर्दियाका टेकबहादुर चौधरी बेहोस् भए । उपचारको लागि भेरी अस्पतालमा लगिएको र उपचारको क्रममा उनको मृत्यु भयो । उनीहरु दुबै जनाको मृत्यु के कारणबाट भएको हो ? प्रहरीसँग बैज्ञानिक पुष्टी गर्ने आधार छैन ।

नेपालगन्जमा पछिल्लो दिनमा ४४.२ डिग्रीसम्म तापक्रम मापन गरिएको छ । बैशाखदेखि नै बढ्दै गएको तापकक्रमले यस वर्ष नेपालकै उच्च तापक्रमको रेकर्ड कायम गरेको छ । अत्याधिक गर्मीका कारण घरभित्रै नै बस्न नसक्ने अवस्था रहेका बेला सडकमा बस्ने मानिसलाई गर्मीले प्रत्यक्ष असर पु¥याएको सहजै अनुमान गर्न सकिन्छ । अचाक्ली गर्मी र त्यसैमा गैरकानुनी बजारमा छ्यापछ्याप्ती पाइने अस्वस्थकर मदिरा सेवन नै मृत्युको कारण भएको सहजै अनुमान गर्न सकिन्छ ।

पछिल्लो २ महिनामा सडक आश्रित ७ जना बढीको बाँकेमा मृत्यु भएको बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले बताए । उनले मृत्युको संख्या गर्मी बढेकै बेला भएपनि गर्मीकै कारण मृत्यु भएको भन्ने ब्यहोरा भने अभिलेखिकरण नगरिएको बताए । चिकित्सकले पोष्टमार्टममा अल्कोहलको मात्रा वा अन्य कुनै कारण देखाएका आधारमा अभिलेख राख्ने गरिएको उनले बताए । भेरी अस्पतालको रेकर्डमा पनि गर्मीका कारण मृत्यु भएको देखिएको छैन । अत्याधिक गर्मी भएर आउने बिरामीमा ‘हिट स्टोक’ का लक्षण देखिन आवश्यक हुने भेरी अस्पतालका सूचना अधिकारी डा. संकेत रिसाल बताउँछन् । गर्मीबाट हुने बिरामीमा १०५ बढी ज्वरो आउने, बमिट हुने, अत्याधिक टाउको दुख्ने जस्ता लक्षण हुने उनले बताए । अस्पतालमा त्यस्तो लक्षणको बिरामी नआएको पनि उनले बताए । सामनइ पोष्मार्टमबाट मृत्युको बैज्ञानिक कारण पत्ता नलाग्ने उल्लेख गर्दै डा. रिसालले भिसेरा परीक्षण काठमाडौंबाट हुने भएकाले मृत्युको कारण भिसेरा रिपोर्ट आएपछि मात्र थाहा हुने बताए ।

प्रहरीको अनुरोध वा आफन्तको पहुँचको आधारमा मात्र अस्पतालले भिसेरा परीक्षणका लागि काठमाडौं पठाउने गरेको अस्पताल स्रोतले जनाएको छ । पहुँच नभएका र बेवारिसे मृत्यु भएकाहरुको शवको औपचारिकताका लागि मात्र पोष्टमार्टम गरे जस्तो गरिने स्रोतको दाबी छ ।

प्रहरीले सडकमा बेहोस् अवस्थामा फेला परेकालाई उपचारका लागि अस्पताल लैजादा चिकित्सकले मृत घोषणा गरेको मुचुल्का बनाउने गरेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ७ : ४९ बजे

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३

बाँकेमा मदिरा पिउन र किन्न/बेच्न निषेध

नेपालगन्ज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रशासनले

बीबीसीको रिपोर्ट हटाउन आयोगको प्रेस काउन्सिललाई आग्रह

काठमाडौं । अन्तरराष्ट्रिय सञ्चार संस्था बीबीसीले भदौ २३ र २४

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)

बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर