२ पुस २०८२, बुधबार | December 17, 2025

गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी मनाइँदै



काठमाडौं । नेपालमा माओवादी सशस्त्र द्वन्द्वको अन्त्यगरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

विसं १९८१ असार १८ गते पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको गर्भबाट उनको जन्म भएको थियो । विसं २००४ मा विराटनगर जुटमिलमा भएको मजदुर आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका कोइराला २०५३ वैशाख २९ गतेदेखि नेपाली कांग्रेसको सभापति निर्वाचित भएका थिए । उनी कांग्रेसको पाँचौँ सभापति बनेका थिए । कोइराला २०६६ चैत ७ गतेसम्म कांग्रेसको सभापति रहे । विसं २०४८, २०५५ र २०५६ मा गरी उनी २०६२/२०६३ को आन्दोलनअघि उनी तीनपटक प्रधानमन्त्री बनेका थिए ।

विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी आफू अनुकूलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभङ्ग हुन थालेको थियो । यसपछि भएका आन्दोलनको नेतृत्व गिरिजाप्रसादले गरेका थिए । विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृत्वमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गरेका थिए ।

कोइरालाकै नेतृत्वमा विसं २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्रअनुरुप विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न सहमत भएका थिए । जसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ । आन्दोलन सफल भएपछि उनी चौँथोपटक प्रधानमन्त्री बनेका थिए । पुनःस्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ गते राजाको सबै अधिकार कटौती गर्दै आलङ्कारिक राजाका रुपमा सीमित गरेको थियो ।

कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो । उनकै नेतृत्वमा छ दशकभन्दा लामो संविधानसभा निर्वाचन गर्ने कांग्रेसका संस्थापक एवं उनका दाजु बिपी कोइरालाको सपना २०६४ चैत २८ गते पूरा भएको थियो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि नेपालको इतिहासमा यो ऐतिहासिक घटना बनेको छ । पहिलो संविधानसभा निर्वाचनसँगै नेकपा माओवादी संसदीय बहुदलीय राजनीतिक प्रतिष्पर्धामा सहभागी भएको थियो ।

चारपटक प्रधानन्त्री बनेका कोइरालाले अन्तिम कार्यकालमा भने कार्यवाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हालेका थिए । राजा ज्ञानेन्द्र निलम्वनमा परेसँगै कोइरालाले कार्यवाहक राष्ट्राध्क्षको भूमिका निर्वाह गरेका हुन । उनकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपालबाट दुई सय ४० वर्षको इतिहास बोकेको शाह वंशीय राजसंस्थाको अन्त्य भई नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रुपमा स्थापित भएको हो । कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो ।

नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पु¥याएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरी कोइरालाको १०० औँ जन्मजयन्ती मनाउँदै छन् । यस अवसरमा कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले आज पार्टी केन्द्रीय कार्यालयमा ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक तस्बिर प्रदर्शनी आयोजना गर्दैछ । प्रदर्शनीमा गिरिजाप्रसाद कोइरालाका जीवनीका तस्बिर राखिने र विमर्श कार्यक्रमसमेत गरिने जनाइएको छ । प्रदर्शनीको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ७ : ०२ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन