२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो



धनगढी । केन्द्रमा सत्तासमीकरण फेरिएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको छ ।

एमालेका प्रदेशसभा सदस्य एवं आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएर पार्टीबाट मन्त्री भएकाहरुले आजै राजीनामा बुझाएका जानकारी दिए । मन्त्री पालले भने, “प्रदेश बाहिर रहनुभएका मुख्यमन्त्रीसँग टेलिफोनमा सम्पर्क गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाएर आएका छौँ ।”

एमालेले सरकारबाट बाहिरिएसँगै सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि ल्याएको बजेट पारित हुने वा नहुने भन्नेमा अन्योल देखिएको छ । मन्त्री पालले प्रदेशसभाबाट यो बजेट पारित नहुने बताए । बजेट माथिको छलफल प्रदेशसभामा अझै सुरु हुन सकेको छैन । नयाँ गठन हुने सरकारले अध्यादेशमार्फत बजेट ल्याउनसक्ने जनाइएको छ ।

यसअघि आज बसेको एमाले संसदीय दलको बैठकले सोडारी नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । समर्थन फिर्ता लिएसँगै गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त सोडारी अल्पमतमा परेका छन् । यही असार १ गतेपछि प्रदेशसभाको बैठक अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गरिएको थियो । त्यसयता बैठक बस्न सकेको छैन । मुख्यमन्त्री सोडारी पार्टीको काममा काठमाडौँ छन् ।

सरकारको बजेटसम्बन्धी वार्षिक विकास कार्यक्रम (रातो किताब) आधिकारिक रुपमा सार्वजनिक नगर्दै त्यसको ‘पिडिएफ’ फायल अनधिकृत रुपमा सार्वजनिक भएपछि विरोध भएको थियो ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्तिको एकपक्ष र स्वतन्त्र सांसदको समर्थनमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । पछिल्लो पटक भएको प्रदेशसभा निर्वाचनपछि गठन भएको प्रदेशसभाले अहिलेसम्म दुई मुख्यमन्त्री परिवर्तन गरिसकेको छ । एमालेले समर्थन फिर्ता लिएसँगै अहिलेका मुख्यमन्त्री सोडारीको यात्रा पनि सङ्कटमा परेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा पुनःनयाँ सरकार गठन गर्ने तयारी भइरहेको सो पार्टीका सांसदले बताएका छन् ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)को सभामुख बाहेक १०, नेकपा (एमाले)का ११, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन् ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ९ : १८ बजे

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ जना घाइते

कपिलवस्तु । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर । वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन-जङ्गल यतिबेला

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी । बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा । विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक