२३ बैशाख २०८३, बुधबार | May 7, 2026

आकर्षक बनाइँदै पाल्पा दरबार सङ्ग्रहालय



पाल्पा । ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको केही संरचनाको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ । दरबारलाई थप पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न ध्येयले पुराना जीर्ण संरचनाको पुनःनिर्माण थालिएको थियो ।

लुम्बिनी प्रदेश सरकार , पुरातत्व विभाग र तानसेन नगरपालिकाको सहकार्यमा दरबार क्षेत्र परिसरमा ढुङ्गा छाप्ने, पर्खाल बनाउने र जीर्ण भएको मूलढोका पुनःनिर्माण जारी छ । दरबारको सुरक्षार्थ बनाइएको पर्खाल र यसभित्रको संरचनामा ढुङ्गा बिछ्याउने काम यस आर्थिक वर्षभित्रै सक्नेगरी धमाधम भइरहेको छ । पुन: निर्माणका लागि तानसेन नगरपालिकाले चालु आर्थिक वर्षमा रु ४१ लाख र लुम्बिनी प्रदेश सरकारले रु ५० लाख बजेट विनियोजन गरेका थिए । यसैगरी मूलढोका पुनःनिर्माण गर्ने काममा पुरातत्व विभागले रु ८१ लाख ९५ हजार विनियोजन गरेको जनाइएको छ ।

राणाकालीन समयमा बनेको मूलढोका जीर्ण बनेपछि यसलाई पुरानै स्वरुप नबिग्रने गरी बनाउन थालिएको तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले जानकारी दिए । पाल्पाको पहिचानका रूपमा रहेको दरबारको ऐतिहासिक स्वरुप नबिग्रने गरी पुनःनिर्माण सम्पन्न गरेर आन्तरिक मात्र नभई बाह्य पर्यटक भित्र्याउन गरी संरचना तयार पारी पर्यटकीय केन्द्रका रूपमा विकास गर्नुपर्ने स्थानीय सन्तवीर बराल बताए ।

उनले भने, “पाल्पालीको शान बनेको पाल्पा दरबारको ऐतिहासिकतालाई जोगाउँदै यसलाई थप परिस्कृत गरी आकर्षक बनाउने र उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलका रूपमा स्थापित गराउन सबैले आ-आफ्नो ठाउँबाट पहल गरौँ ।”

तत्कालीन द्वन्द्वका समयमा पूरै ध्वस्त बनेको दरबारलाई पुरानै शैलीमा पुनःनिर्माण गरी सङ्ग्रहालय बनाइएको छ । अहिले सो दरबारलाई थप सुन्दर र आकर्षक बनाउन विभिन्न कार्य भइरहेका छन् । दरबारलाई सङ्ग्रहालयका रूपमा स्थापित गरिएपछि यहाँ अवलोकन गर्न पर्यटक आउने गर्दछन् । पाल्पाको सदरमुकाम तानसेनमा रहेको दरबार जिल्लाको चिनारीका रूपमा रहेको छ ।

इतिहासकारका अनुसार तत्कालीन प्रधानमन्त्री जङ्गबहादुरका भाइ बद्रीनाथ सिंहले विसं १९३० ताका मूलढोका निर्माण गरेका थिए । सोही बेला बनेको मूलढोका पर्खाल र दरबार परिसरलाई थप आकर्षक बनाउन पुनःनिर्माण गरिएको हो । तत्कालीन समयमा दरबारलाई सुरक्षाका दृष्टिले पर्खाल बनाइएको छ । ऐतिहासिक दरबार परिसरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गत वर्ष यहाँ रहेका ५७ घर तथा टहरा भत्काइएको थियो । पुनःनिर्माण भइरहेका संरचना बनाउने काम पूरा भएपछि तानसेन सहर थप आकर्षणको केन्द्र बन्नेछ । पुरानो सहरका रूपमा परिचित पाल्पाको तानसेन सहरमा ऐतिहासिक, धार्मिक सम्पदा प्रशस्त छन् । पुराना संरचना तथा सम्पदालाई संरक्षण गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्नै र यहाँको आयस्रोतमा टेवा पुग्ने स्थानीय बताउँछन् ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ९ : ०१ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा