१६ माघ २०८२, शुक्रबार | January 30, 2026

आय आर्जन बढाउन सामुदायिक वनभित्र उद्यान निर्माण


१४ श्रावण २०८१, सोमबार  

39
Shares

कास्की । सामुदायिक वनको संरक्षण गरेसँगै अन्य गतिविधि सञ्चालनतर्फ उपभोक्ता समूहले चासो देखाउन थालेका छन् । वन पैदावारको विकल्पका रूपमा समूहले आम्दानीका अन्य स्रोतको पहिचान गरी उपयोग गर्न सुरु गरेका हुन् ।

पोखरा महानगरपालिका–२१ स्थित वनपाले सामुदायिक वन समूहले पर्यापर्यटक प्रवर्द्धन गर्ने उद्देश्यका साथ रु २६ लाख लागतमा सुविधासम्पन्न मनकामना उद्यान (पार्क) निर्माण गरेको छ । गण्डकी प्रदेश वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालय कास्कीमार्फत रु १५ लाख र एक लाख ६५ हजार सात सय ७४ बराबरको जनश्रम परिचालन गरी उद्यान निर्माण गरिएको वन उपभोक्ता समूहका अध्यक्ष कमल भुजेलले जानकारी दिए ।

उनका अनुसार यसअघि डिभिजन वन कार्यालय कास्कीको रु पाँच लाख लागतमा जग्गा सम्म्याउने र पोखरा–२१ द्वारा रु चार लाखको खर्चमा आवश्यक ट्रस्ट भवन र शौचालय निर्माण गरिएको हो । “पार्कबाट आरोहणको पहिलो हिमाल अन्नपूर्ण, कुमारी हिमाल माछापुच्छ्रेसहित हिमशृङ्खला एवं पोखरा बजारको एकैसाथ मनोरम दृश्य देख्न सकिन्छ”, उनले भने, “पार्कमा दुईवटा चौतारासहित हरियाली प्रवर्द्धन गर्दै राष्ट्रिय झण्डा राख्ने तयारी गरिएको छ ।”

सात सयजना क्षमताको सो पार्कमा सुरक्षाका लागि फलामे पोलसहितको तारजाली लगाउनुका साथै हरियाली प्रवर्द्धन गर्न धुपीका बिरुवा रोपिएको छ भने फलामका कुर्चीसमेत राखिएको अध्यक्ष भुजेलले बताए । थप भौतिक संरचना निर्माणका लागि आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेश सरकारबाट रु १५ लाख विनियोजन भएको छ ।

पोखरा महानगरपालिका–१७ स्थित पर्यटकीयस्थल छोरेपाटन हुँदै जाने सो पार्कसम्म पुग्नका लागि पक्की सडक निर्माण भएको छ भने खानेपानी, शौचालयलगायत आवश्यक संरचना निर्माण गरिएको छ । विशेषगरी पोखरा बजारबाट वनभोज खानका लागि सबैभन्दा नजिक र सुविधासम्पन्न एवं मनोरम दृश्यावलोकन गर्न सकिने उक्त पार्कमा प्रति समूहलाई रु तीन हजार पाँच सय शुल्क तोकिएको छ । प्राप्त रकमबाट रु पाँच सय सरसफाइका लागि छुट्याउने र रु तीन हजार वन समूहको खातामा जम्मा गरिँदै आएको भुजेलले जानकारी दिए ।

यसअघि वन समूहले रु १० लाख लागतमा वनपाले पार्क निर्माण गरी सञ्चालन गर्दै आएको वन समूहका सचिव प्रकाश सुवेदीले बताए । विसं २०६८ मा हस्तान्तरण गरिएको ४७ दशमलव चार हेक्टर क्षेत्रफलमा फैलिएको सो वनमा एक सय १४ घरपरिवार आबद्ध छन् । समूहले वनको संरक्षण, संवर्द्धन, उपयोग गर्दै आयआर्जनका लागि वैकल्पिक आधार तयारमा जोड दिँदै आएको सुवेदी बताउँछन् ।

मनकामना पार्कमा वृक्षारोपण
नवनिर्मित मनकामना पार्कलाई वातावरणमैत्री बनाउने उद्देश्यका साथ चेरी, अशोका र गुलमोहरका बिरुवा रोपिएको हो । पोखरा महानगरपालिका वडा नं २१ का वडाध्यक्ष दीपक सुवेदीले रोपिएका बिरुवाको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए । वृक्षारोपण कार्यक्रममा लायन्स क्लब अफ पोखरा अन्नपूर्ण अध्यक्ष गणेश छविसहित सदस्यहरू, सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमल भुजेल, स्थानीय लक्ष्मीप्रसाद पोखरेललगायतकाको सहभागिता रहेको कार्यक्रम संयोजक प्रकाश सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ९ : १७ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र