२३ फाल्गुन २०८२, शनिबार | March 8, 2026

गुडिया पर्व मनाइँदै



खजुरा । आज साउन शुक्लपक्ष नागपञ्चमी पर्व । पश्चिम नेपालको तराईका जिल्लामा बसोबास गर्ने अवधी समुदायले नागपर्वलाई ‘गुडिया’ पर्वका रूपमा मनाउने गर्दछन् । यो पर्वलाई अवधी समुदायको मुख्य पर्वका रूपमा लिइन्छ ।

आजको दिन सो समुदायले घरपरिवार, आफन्त, टोल-छिमेक सबै मिलेर विशेष धुमधामका साथ पर्व मनाउँदछन् । गाउँ टोलका विशेषगरी अगुवा बिहानै नुहाएर घरको वरिपरि गाईको गोबरले चिन्हो तानेर मोटो लाइन बनाउने गर्दछन् । यसलाई गोबर चक्र भनिन्छ । सो चक्रले घरमा सर्पलाई आउनबाट रोक्ने यहाँ धार्मिक विश्वास रहिआएको छ ।

यसपछि दूध र चनाको घुघरी (भिजाएको काँचो चनाबाट बनाइएको परिकार) नाग देउता र गाउँ नजिकै रहेको थान देउतामा चढाइने गरिन्छ । योसँगै घरको ढोकामा नाग टाँसेर पूजा पनि गरिन्छ । यस दिन सबैको घरमा खाने परिकारअन्तर्गत चनाको घुघरी बनाइने गरिन्छ । यसका साथै पुरी, तरकारी, खिर, अचार, गुल्गुला यो पर्वको मुख्य परिकार हो । यो पर्वमा विवाहित छोरीलाई घुघरी पठाउने चलन पनि छ ।

घुघरीमा चना, चामल, भेली मिठाइँ र आवश्यक लत्ताकपडासहितको गठरी सामथ्र्यअनुसार भाइ वा बुबाले गठरी बाँधेर छोरीको घरमा लग्ने परम्परा रहेको वरिष्ठ अवधि साहित्यकार सच्चिदानन्द चौबेले जानकारी दिए ।

यस पर्वमा छोरी बोलाउने तथा लिन जाने गरिन्छ । गाउँघर, टोल समुदायमा पिङ (झुला) हाल्ने गरिन्छ । युवायुवती गीतसङ्गीत गाएर पिङ खेल्ने चलन छ । साँझ सबै युवतीले कपडाको गुडिया बनाएर भुइँमा हाल्ने र युवाले लठ्ठीले गुडिया पिट्ने गरेको अवधी अगुवा पण्डित शिवप्रसाद पाठकले बताए । उनका अनुसार यस दिन सबैको घरमा मिठोमिठो खानेकुरा पकाइने गरिन्छ ।

यस दिन घरमा पाहुनालाई बोलाई सेवा सत्कार गरिन्छ । यो पर्व समुदायमा आदिकालबाट चलिआएको अगुवा पाठकले बताए । उनले भने, “सूर्य, चन्द्रमा, नदी, पृथ्वी, गाई, रुख, हावापानी, सर्प, बाँदल, अन्नपात, वनजङ्गल, पहाड, समुद्रजस्ता प्रकृतिबाट उत्पन्न वस्तुलाई देउता समान मानिन्छ । सबै देव रूपमा रहेका छन् । यसलाई समयसमयमा पूजा गर्नुपर्छ ।”

जादुगर (मदारी)ले घर घरमा गएर सर्प देखाइ गरेर सिधा लिने गरेको पाइन्छ । स्वास्थ्यको हिसाबले वर्षात्को मौसममा हिलो, माटो, गोबर, खेतीपातीको काम गरेर शरीरको तन्दुरस्ती कम भएको हुन्छ । त्यसलाई पूर्ति गर्न यस पर्वमा चनाको घुघरी (गेडागुडी पोषिलो खान) खाएर शरीरलाई बलियो बनाउने परम्परा छ ।

अवधीमा उखान छ, ‘चना सवसे मरदाना अनाज होय, इसे मरदाङ्गी पैदा होत है ।’ गुडिया पर्वको धार्मिक सम्बन्ध पनि छ । भगवान् कृष्णले नागलाई नाथेका थिए । उनलाई अन्त पठाएपछि जमुना नदीको पानी सफा भएको थियो । सर्प शत्रु नभएर घर र खेत-खरिहानमा रहेका मुसा, छेपारो, गिरगट्टो, भ्यागुता आदि जनावरलाई खाने गर्दछ । सर्पलाई दूध र चना खुवाउने गरिन्छ । परापूर्वकालबाट गुडिया र होलीपर्व एकै दिन (बार) मा पर्ने गर्दछन् । यसैले भन्ने गरिन्छ, ‘नाग फाग एकै दिन’ सबै चाडपर्व समुदायमा मेल सद्भाव, शान्ति, भाइचारा कायम गर्ने पर्वका रूपमा लिइएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  १० : ५९ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा