२२ बैशाख २०८३, मंगलबार | May 6, 2026

भदौमा नै पाक्न थाल्यो मुस्ताङको स्याउ



म्याग्दी । विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ ।

“पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो”, ७९ वर्षीय हिराचनले भने, “यसपालि विगतका वर्षभन्दा धेरै गर्मी महसुस भएको छ । स्याउ पनि १५–२० दिनअघि नै पाक्न थालेको छ ।” घरपझोङ गाउँपालिका–३ स्याङका किसान कर्मा गुरुङको पनि हिराचनको जस्तै अनुभव छ । व्यावसायिक स्याउखेती गर्दै आएका हिराचन र कर्मामात्र नभएर मुस्ताङका सबैजसो किसान यसपालि विगतको तुलनामा स्याउ छिटो पाकेको बताउँछन् ।

तापक्रम वृद्धि र मौसम परिवर्तनका कारण स्याउ छिटो पाकेको किसान तथा कृषि प्राविधिकको भनाइ छ । मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यालयका निमित्त वरिष्ठ कृषि अधिकृत नेत्र भट्टले गत हिउँदमा लामो समयसम्म चिसो नरहेको र तापक्रम छिटो बढेकाले केही जातका स्याउ पाकेका बताए ।

“उच्च घनत्वको गाला र रिङरोट जातको स्याउ स्थानीय जातको भन्दा छिटो पाक्छन्”, उनले भने, “स्थानीय जातको स्याउमा पनि गुलियोपना नाप्दा विगतको तुुलनामा केही समयअघि पाक्ने देखिएको छ ।” उपकरणको सहायताले स्याउको गुलियोपना नापिन्छ । गुलियोपनाको मात्र १२ प्रतिशत भएपछि स्याउ टिप्न योग्य हुुन्छ । दानाभित्रको गेडा कालो भयो भने पनि स्याउ पाकेको मानिन्छ । उच्च घनत्वको गाला प्रजातिका स्याउ भदौ १० गते र रिङरोट जातको स्याउ भदौ १५ गतेदेखि नै टिप्न थालिएको छ ।

जिल्ला समन्वय समिति मुस्ताङको आयोजनामा यही भदौ ६ गते बसेको बैठकले जोमसोममा बसेको कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, स्थानीय तहका जनप्रतिनिधि र किसानको बैठकले स्याउ टिप्ने समयतालिका बनाएको थियो । स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ असोज १ गतेदेखि टिप्ने समयतालिका बनाइएको छ । तिजलाई लक्षित गरेर उच्च घनत्वको जातका स्याउ टिपेर बजार पठाउन थालिएको छ । व्यापारीले नपाकेको र ढिलो पाक्ने प्रजातिका स्याउ पनि टिपेर बजार लैजान सक्ने भएकाले नाकामा अनुुगमन गर्नुुपर्ने बताइएको छ ।

अनुकूल मौसम, बगैँचा व्यवस्थापन, रोग, कीराको समस्या कम देखिएकाले उत्पादन वृद्धिसँगै गुणस्तर पनि बढ्ने अनुुमान गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्रसार अधिकृत निशान खड्का मगरले बताए । गत वर्षको तुलनामा २५ देखि ३० प्रतिशतले स्याउ उत्पादन बढ्ने अनुमान गरिएको उनले बताए ।

मुस्ताङको एक हजार चार सय ७५ हेक्टरमा स्याउखेती भएकामा पाँच सय ८० हेक्टरमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । ३८ हेक्टर जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउखेती भएको छ । गत वर्ष चार हजार नौ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएको र रु ४९ करोड २५ लाख बराबरको स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायत सहरका व्यापारी बगैँचामा नपाकदै अग्रिम भुक्तानजी दिएर ठेक्कामा स्याउ खरिद गर्दछन् । मुस्ताङ घुम्न आउने पर्यटकले पनि कोसेलीको रुपमा स्याउ किनेर लैजाने गर्छन् । बिक्री नहुने साना दाना भएका स्याउ मदिरा र सुुकुटी बनाउन प्रयोग हुन्छ ।

 

प्रकाशित मिति : १७ भदौ २०८१, सोमबार  ९ : ४३ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि