२ बैशाख २०८३, बुधबार | April 15, 2026

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा



दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व धुमधामका साथ मनाउने तयारी गरिएको छ । भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात् श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबारलाई अट्वारी पर्वका रुपमा मनाउने चलन छ । हरितालिका तीजपछिको शनिबार मध्यरातमा दर (भिन्सर्या) खाएर अट्वारी व्रतको तयारी सुरु हुन्छ ।

महेन्द्र बहुमुखी क्याम्पस दाङका उपप्राध्यापक कुलवीर चौधरीले द्वापरयुगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एकजना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमका नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको बताए । उनका अनुसार अट्वारी पर्व थारू समुदायको दसैँपछिको ठूलो चाड भएकाले यसको महत्त्व धेरै रहेको छ । “चेलिबेटीको सम्मान गर्ने, सूर्य उपासनासँग जोडिएका भगवान्हरुको पूजा र शक्तिशाली बलवान भीमको पूजा गर्ने चलन छ”, उनले भने ।

अट्वारी पर्वमा दाजुभाइ दिदीबहिनीको रक्षाको कामना गर्दै दिनभर निर्जल, निराहर व्रत बस्ने गर्दछन् । व्रत बसेका व्रतालुले फलफूललगायत परिकार आफूले खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग्ग राख्ने प्रचलन रहेको घोराही उपमहानगरपालिका–६ का अगुवा भीमबहादुर चौधरी बताउँछन् । यो पर्व छोरीचेलीलाई सम्मान गर्ने पर्व हो । त्यसरी छुट्याइएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीका रूपमा उपहार दिने गरिन्छ । त्यो कोसेलीलाई ‘अग्रासन’ दिने भनिन्छ । अट्वारीको दोस्रो दिन बिहान पतौला खरिया, भात, गब्दा, खुर्मा, फुलौरी र तामासहितका तरकारी र सात प्रकारका विभिन्न परिकार तयार गरी व्रतालुहरूले नुहाइधुवाइ पूजापाठ गर्ने गर्छन् । दर खाएको बिहान सबैजना रोटीका विभिन्न परिकार बनाउँछन् ।

सबै परिकार पकाएर तयार बनाएपछि व्रतालुहरू मध्याह्न नदी, तलाउ, जलाशयमा स्नान गर्छन् । व्रतालुहरू स्नान गर्न गएको बेला घरमा गोबरपानीले लिपपोत गरी शुद्ध पारिन्छ । बस्नलाई काठको शुद्ध मुढा राखिन्छ । व्रतालुहरू स्नान गरेर फर्केपछि त्यही चोखो ठाउँमा बस्छन् । महिलाले खानेकुरा दिन्छन् । व्रतालु पुरुषले खानेकुराको पूजा गरेपछिमात्र खान्छन् । जसरी भीमले बहिनीका लागि परिकार सम्झेर छुट्याएका थिए । त्यसरी नै व्रतालु थारूले एक भाग दिदीबहिनीका नाममा छुट्याएर अर्को भाग परिकार खान्छन् । परिकार खानुअगाडि भीमको स्मरणमा पूजा गर्छन् । सो दिनको परिकारमा नून मिसाइएको हुँदैन ।

थारू कल्याणकारीणी सभा दाङका पूर्वअध्यक्ष भुवन चौधरीले दाजुभाइ र दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै अटवारी पर्व मनाइने बताए । “दिदीबहिनी र दाजुभाइ बीचमा माया, ममता, सद्भाव र भ्रातृत्व जगाउने पर्वका रुपमा अट्वारीलाई लिइन्छ,” चौधरीले भने । अट्वारीका अवसरमा आइतबार लुम्बिनी प्रदेश सरकारले बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लामा बिदा दिएको छ ।

प्रकाशित मिति : २२ भदौ २०८१, शनिबार  ८ : ५३ बजे

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले