१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सङ्कटमा मादल बनाउने पेसा



कैलाली । सुदूरपश्चिमको प्रवेशद्वार कैलालीको चिसापानी पुलबाट करिब छ किलोमिटर पश्चिममा पर्छ बल्चौर । लम्कीचुहा नगरपालिका-३ बल्चौरमा लामो समयदेखि सञ्चालनमा छ तीर्थ बाजा पसल । यहाँ मादल, तबला, दमु, ढोलकी बनाइन्छन् । पछिल्लो समय विभिन्न किसिमका बाजा बनाए पनि बिक्री हुन छाडेपछि खिन्न छन् तीर्थ बादी ।

पहिले बाजाहरूमध्ये सबैभन्दा बढी बिक्री हुने मादलसमेत अचेल बिक्री हुन छोडेको छ । यसले व्यवसाय नै सङ्कटमा परेको तीर्थ बादी बताउँछन । “पहिले चाडपर्वहरूमा मादल पुर्याउनै सकिँदैनथ्यो, अहिले बिक्री नै हुँदैन । मगर गाउँका स्थानीय, थारु समुदायले धेरैजसो मादल किन्ने गर्दथे, अहिले पसलमा त आउँदैनन्, गाउँमा लगेर गए पनि किन्न त परै जाओस्, सोध्ने मान्छेसम्म भेटिँदैनन्”, उनले भने ।

विगतमा यही पेसाबाट छोराछोरीको लालनपालनदेखि पठनपाठन गर्दै आए पनि हाल व्यवसायबाट हातमुख जोड्नसमेत धौधौ भएको तीर्थको गुनासो छ । “यसपटक पनि २५ वटा मादल बनाएर राखेँ । तीज आएपछि त बिक्री होलान् सोचेको थिए तर तीज सकियो, एउटा पनि मादल बिक्री भएको छैन”, उनले सुनाए ।

प्रविधिको विकास भएसँगै पुराना व्यवसाय हराउँदै गएको अर्का व्यवसायी कृष्ण बादी बताउँछन । “बुबाबाट सिकेको सीप हो, त्यसैलाई निरन्तरता दिँदै आएको थिए तर अब बन्द गर्नुपर्ने अवस्था आएको छ । सिजनका बेला ५०/६० वटासम्म मादल बेच्ने गरेकामा अहिले त चार/पाँच वटा बेच्न मुस्किल पर्छ”, उनले अगाडि भने, “पहिले यही व्यवसायबाटै घर खर्च, छोराछोरी पढाउन सकिन्थ्यो तर अहिले हिउँदको समयमा भारत जाने र पुर्खाको सीप जोगाउन सिजनमा बाजा बनाउनुपर्ने बाध्यता छ, त्यही पनि बिक्दैन ।”

व्यवसायी रविलाल बादीले डिजेलगायत आधुनिक बाजाका कारण मादल व्यवसायमा सङ्कट आएको बताए । “पहिले रत्यौली, तीज, देउसीँभैलो, विद्यालयस्तरमा हुने सांस्कृतिक कार्यक्रमलगायतमा मादलको अनिवार्य प्रयोग हुने गथ्र्यो तर पछिल्लो समय मादलको सट्टा डिजे प्रयोग हुन्छ । त्यसैले पनि हाम्रो पेसा सङ्कटमा पर्यो ”, उनी भन्छन ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् टि एन जोशी मादल प्रयोग घटेसँगै परम्परागत संस्कृतिमा मौलिकता हराउँदै गएको धारणा राखे । “केही दशक पहिले गाउँघरमा थुप्रै मादल बजाउने मान्छे भेटिन्थे तर अहिलेको पुस्तामा मादल बजाउन जान्ने मान्छे मुस्किलले भेटिन्छन्”, उनी भन्छन, “अब मौलिकता जोगाउन विद्यालयस्तरबाटै मौलिक बाजाको प्रयोग र सिकाइमा जोड दिनुपर्ने आवश्यकता छ ।”

नेपालको राष्ट्रिय बाजाको रूपमा रहेको मादल लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण गर्ने दायित्व सरकारको भएको व्यवसायीका भनाइ छ । व्यवसायी तीर्थ बादी भन्छन, “अब आउने पुस्तालाई यसको महत्वको बारेमा बुझाउनुपर्छ । यो दायित्व सरकारको पनि हो । हामी त पुस्तौँदेखिको पेसा भएकाले माया लागेर पनि यसको संरक्षणमा लागिरहेकै छौँ ।”

सङ्कटमा पर्दै गएको व्यवसायलाई जोगाइ मौलिक बाजाको संरक्षण र प्रवर्द्धनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले केही कार्यक्रम ल्याइदिनुपर्ने सबैजसो मादल व्यवसायीको माग छ ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  ८ : ०८ बजे

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै