२० बैशाख २०८३, आइतबार | May 3, 2026

दसैँको बेला ‘कुमारी पूजन’ : मिथिलाको विशेष परम्परा



धनुषा । मिथिलामा दसैँको बेला गरिने कुमारी पूजनलाई विशेष परम्परा मानिन्छ । जसरी दसैँको बेला दुर्गा पूजा गरिन्छ त्यसरी नै कुमारी पूजनलाई पनि महत्व दिने गरिएको संस्कृतिविद् काशीकान्त झा बताउँछन् ।

कुमारी पूजनबारे जानकार डा राजेन्द्र विमलका अनुसार दुई वर्षदेखि दश वर्षसम्मका कन्यालाई साक्षात् माताको स्वरूप मानिने भएकाले यो पूजा घर–घरमा हुने गरेको छ । “यस पूजनमा कन्याको खुट्टाको पूजन र भोजन गराइन्छ । मान्यताअनुसार होम, जप र दान दिएभन्दा धेरै कन्या पूजनले देवी प्रसन्न हुने धार्मिक ग्रन्थमा उल्लेख छ । त्यसैकारण दूर्गा पूजाको बेला कन्या पूजनको महत्व छ”, उनले भने ।

कन्या पूजनका लागि चयन गरिएको कन्याको उमेर दुई देखि दश वर्षभन्दा बढी हुनु हुँदैन । कन्यालाई भोजनका लागि एकदिन अघि निमन्त्रणा दिने प्रचलन रहेको जनकपुरधाम उपमहानगरपालिकाका पूर्व प्रमुख बजरप्रसाद साहले बताए। जनकपुरधाम उपमहानगरपालिका–१६ की खुश्बु मण्डलका अनुसार पूजनका दिन कन्यालाई खुट्टा धोएर, रोली अक्षताबाट पूजन गरी भोजन गराइन्छ र फेरी खुटटा ढोगी दान दिने परम्परा छ ।

कन्या पूजन कतिपयले सप्तमी, अष्टमी नवमी मात्रै गर्छन्, तर मिथिलाका विभिन्न स्थानमा दसैँभरी हुने पण्डित रामचन्द्र झा बताउनुहुन्छ । डा विमलका अनुसार दूई वर्षकी कन्या कुमारीको पूजनले माता दुःख र दरिद्रता समाप्त हुन्छ भने तीन वर्षकी कन्यालाई त्रिमूर्तिको रूप मानिएकाले परिवारमा सुख समृद्धि आउने गर्छ । यसैगरी चार वर्षकी कन्यालाई कल्याणी मानिएको छ । उक्त पूजनले परिवारको कल्याण हुने मान्यता छ । पाँच वर्षकी कन्यालाई रोहिणी भनिन्छ । यो उमेरको कन्यालाई पूजन गर्दा व्यक्ति रोगमुक्त हुने विश्वास गरिन्छ । छ वर्षकी कन्यालाई कालिकाको रूप मानिन्छ । यसले विद्या, विजय, राजयोगको प्राप्ति हुने विश्वास गरिएको उनले बताए।

सात वर्ष की कन्यालाई चण्डिकाको रूप मानिन्छ । यसको पूजा गर्दा ऐश्वर्यको प्राप्ति हुने विश्वास छ । आठ वर्षकी कन्यालाई शाम्भवी भनिन्छ । यसको पूजन गर्दा वाद विवादमा विजय प्राप्त हुने विश्वास छ भने कुनै प्रकारको कलहसमेत नहुने बताइन्छ । नौ वर्षकी कन्यालाई दुर्गा मानिन्छ । यसको पूजन गर्दा शत्रुको नाश हुने विश्वास गरिन्छ । दस वर्षकी कन्यालाई सुभद्रा भनिन्छ । यसको पूजनले भक्तको सबै कामना पूरा हुने मान्यता छ ।

अहिले बच्चा जन्माउनेको सङ्ख्यामा कमी आएपछि कन्याको अभाव हुन थालेको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रिङ्कु साहले बताए । जनकपुरधाम उपमहानगरपालिका–३ का वडा अध्यक्ष दिपेन्द्र साहले कन्याको अभावमा एउटै कन्यालाई धेरै ठाउँमा पूजन गर्नु परेको जानकारी दिए। पहिला एउटै टोलमा धेरै कन्या भेटिने गरेकामा अहिले अन्य टोलबाट खोजेर पूजनका लागि ल्याउने गरिएको स्थानीय विनिता कामतले बताए । रासस

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ३ : ४४ बजे

रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु

रसुवा । नेपाल-चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर

सुनचाँदी बजार : सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ

हुलाकी राजमार्ग खजुरा खण्डको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर संकलन

खजुरा । स्तरोन्नतीको चरणमा रहेको नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू-अभिलेख

लालपुर्जा नभएका सबैलाई हटाउन खोजे ५० लाख जनसंख्या गरिबीको चक्रमा फस्नेछ : शंकर पोखरेल

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि निरन्तर डोजर