२१ माघ २०८२, बुधबार | February 4, 2026

खरबारी फाँडेर केराखेती, वार्षिक दुई करोड आम्दानी


२९ आश्विन २०८१, मंगलबार  

104
Shares

म्याग्दी । पूर्वउत्तर मोहोडा गरेको भिरालो जमिन । शिरानमा ऐतिहासिक ज्यामरुककोट र पुछारमा कलकल बगेको कालीगण्डी । बीचमा बेनी नगरपालिका – २ को खबरा गाउँ । केही वर्ष अघिसम्म खर र सिरुघारीले ढाकिएको यो गाउँ अहिले केरा बगैँचाले मनोहर छ ।

करिब एक सय ५० घरपरिवारको बस्ती रहेको यो गाउँको मुख्य आम्दानी अहिले केराखेती बनेको छ । यहाँ बसोबास गर्ने प्रत्येक परिवारले पाखोबारी,खरबारी र अन्न उत्पादन हुने जग्गामा व्यावसायिक रुपमा केराखेती गरेका स्थानीय कृषक नारायण सापकोटा बताउँछन्। गाउँभर केराखेती गरिएको छ । केरा बिक्री गरेर वार्षिक रु दुई करोड बढी रकम भित्रिने गरेको उनी बताउँछन् ।

विसं २०५७ मा खबरामा पहिलोपटक केराखेतीको थालिएको स्थानीय जगत् घिमिरे बताउँछन्। पोखराबाट हजारी जातको केराका तीनवटा बिरुवा ल्याएर खबरामा लगाएसँगै व्यावसायिक रूपमा केराखेती प्रारम्भ भएको हो । “खबरामा केरा खेतीको सुरुवात भएको २७ वर्ष भयो । तीनवटा केराका बिरुवा लगाएर सुरु भएको केराखेती अहिले पाँच सय रोपनी भन्दा बढी जग्गामा फैलिएको छ । गाउँको नाम नै परिवर्तन भएर ‘खबरा’ बाट ‘केरा गाउँ’ भनेर चिनिन थालेको छ ।”

खबराका तेजेन्द्रबहादुर कार्कीले २३ रोपनी बाँझो जमिनमा केराखेती गरेका छन् । वर्षौंदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउने अभियानमा लागेका कृषक कार्कीले भिरालो र खोल्साखोल्सीको झाडी फँडानी गरी धमाधम केरा लगाउँछन् । कृषक कार्कीले केरा बिक्री गरेर वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको राससलाई बताए ।

“भिरालो जमिनमा मल, जल नअडिने, बाली लगाउन समस्या भएर बारीहरू बाँझै छाड्ने गरेका थियौँ तर, केही वर्षयता सोही जमिनलाई उपयोग गरेर केराखेती सुरु गरेपछि अहिले गाउँ नै केराखेतीले भरिएको छ । केराको हरियालीले गाउँ आकर्षक देखिएको छ भने स्थानीयको आम्दानीको मुख्य स्रोत पनि केराखेती नै बनेको छ” कृषक कार्कीले भने ।

स्थानीय यामबहादुर घिमिरे, जगत् घिमिरे, प्रेम कुँवर, चन्द्रबहादुर कार्की, शोभित शर्मा, तेजेन्द्र कार्कीलगायत २० जना कृषकले व्यावसायिक रूपमा केराखेती गरेका छन् । केरा खेती फस्टाउँदै मुख्य आम्दानीको स्रोत बन्न थालेपछि स्थानीय अन्य अन्नबालीलाई विस्तार घटाउँदै केराखेतीमै केन्द्रित हुन थालेको कृषक कार्कीको भनाइ छ । “बाँझो जमिनमा केरा नलगाएको घर नै छैन,” अर्का कृषक जगत्बहादुर घिमिरेले भने ।

खबराका किसानले केरा बिक्री गरेर वार्षिक रूपमा न्यूनतम रु ३० हजारदेखि रु १० लाखम्म आम्दानी गर्दै आएका बेनी नगरपालिका–२ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए। अनुकूल हावापानी, उपयुक्त वातावरण, बजारको सुविधा र पर्याप्त आम्दानी हुने भएकाले व्यावसायिक केराखेतीतर्फ यहाँका किसानहरुको आकर्षण बढेको उनी बताउँछन्। खबरामा बाइस नङ्ग्रे, मालढुङ्गे, ध्रुसे, चिनीलगायत प्रजातिका केराखेती हुने गरेको छ ।

 

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ११ : २६ बजे

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास

राष्ट्रपति पौडेल जापानबाट स्वदेश फर्किँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा

समृद्ध रुपन्देहीका लागि भौतिक विकास, शिक्षा र स्वास्थ्य प्राथमिकता : उम्मेदवार ई. पाण्डे

बुटवल । उज्यालो नेपाल पार्टीबाट रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार

आचारसंहिता उल्लङ्घन नगर्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक