चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध हटे पनि सम्भावित त्रासले यस वर्षको दसैँमा आन्तरिक पर्यटकको चहलपहल कम भएको छ ।
गत वर्ष जेनजी आन्दोलनका कारण दसैँमा पर्यटक कम भए पनि अघिल्ला वर्षमा दसैँ बिदामा पर्यटकीय गन्तव्यमा चहलपहल निकै हुने गरेको थियो ।
यहाँको पर्यटकीय गन्तव्य सौराहामा यस वर्षको दसैँमा अहिलेसम्म उत्साहजनक रुपमा आन्तरिक पर्यटक आएका छैनन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे आफ्नो सौराहाको होटल ल्याण्डमार्कमा बिहीबार ७५ कोठामध्ये सात मात्रै बुक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सौराहा मात्रै होइन, निकै चहलपहल हुने पोखरामा पनि यस वर्ष विगतजस्तो आन्तरिक पर्यटक छैनन् ।”
वर्षाका कारण पुनःबाटो अवरुद्ध हुने डर आन्तरिक पर्यटकलाई भएको उहाँको अनुमान छ । यससँगै भोटेकोशी र बूढीगण्डकी बाढीका कारण धेरै जनधनको क्षतिका कारण नेपालीले यस वर्ष उत्साहपूर्ण दसैँ नमनाएको उहाँको भनाइ छ ।
अबका दिनमा क्रमशः पर्यटक बढ्ने उहाँले अपेक्षा व्यक्त गर्नुभयो । भोटेकोशी बाढीपछि सारिएका बुकिङ क्रमशः हुन थालेको उहाँले बताउनुभयो । नयाँ बुकिङ आउन थालेकाले दसैँसँगै आन्तरिक र बाह्य पर्यटक बढ्ने उहाँको अनुमान छ ।
होटल व्यवसायी सुमन घिमिरे आज शुक्रबार भएकाले अब क्रमशः सौराहामा आन्तरिक पर्यटक बढ्दै जाने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अब क्रमशः पर्यटक बढ्नेमा हामी विश्वस्त छौँ ।”
शुक्रबार, शनिबार र आइतबार धेरै होटल भरिने अनुमान गर्दै उहाँले भन्नुभयो, “दसैँ बिदा भएकाले आन्तरिक पर्यटकले सौराहा भरिन्छ भन्नेमा हामी आशावादी छौँ ।”
विगतका वर्षमा जस्तो चहलपहल अहिलेसम्म सौराहामा भई नसकेको उहाँले बताउनुभयो । अब पर्यटक बढ्न थालेपछि क्रमशः वैशाखसम्म आगमन हुने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पर्यटक बढेपछि क्रमशः बढ्ने र उच्च विन्दुमा पुगेर तल झर्ने गर्दछ ।”
होटल भिष्टाका सञ्चालक रमेश सिलवाल दसैँसँगै आन्तरिक पर्यटक आउने आफूहरु आशावादी भएको बताउनुहुन्छ । दसैँको समयमा विदेशी पर्यटक केही आएको उहाँले बताउनुभयो । भारतीयसहित अन्य देशबाट पर्यटकले सोधपुछ र बुकिङ गर्न थालेको उहाँको भनाइ छ ।
व्यवसायी विदेशी पर्यटकको संख्या अब बढ्नेमा विश्वस्त छन् । भोटेकोशी बाढीको समयमा वर्षापछिको याम भएकाले धेरै पर्यटकको बुकिङ भए पनि रद्द हुँदा ठूलो नोक्सानी व्यवसायीहरुले व्यहोरेका थिए ।
वनबास रिसोर्ट सौराहाका महाप्रबन्धक प्रकाश न्यौपाने दसैँको समयमा आफ्नो होटलमा विदेशी पर्यटकले भरिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “गएको तीन दिन मेरो होटल विदेशी पर्यटकले भरिएको छ ।” जर्मन, डेनमार्क, बेल्जियम, अष्ट्रेलियन र अमेरिकन आएको उहाँ बताउनुहुन्छ ।
स्वदेशी पर्यटकको बुकिङ भने कमजोर रहेको जनाउँदै उहाँले अबका दिनमा पर्यटक बढ्नेमा आफू आशावादी भएको बताउनुभयो । भोटेकोशी बाढीपछि रोकिएका पर्यटक आउन थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जति नेपाल आएका छन् विगतमा जस्तैगरी उनीहरु सौराहा पनि आउन थालेका छन् ।”
चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा सौराहा छ । निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनमा घुम्न आउने पर्यटक धेरैजसो सौराहा बस्ने गर्दछन् । यससँगै भरतपुरको पटिहानी, जगतपुर, मेघौलीलगायत क्षेत्रमा ती पर्यटक बस्ने गर्दछन् । तिनै क्षेत्रबाट हात्ती, जिप, डुङ्गा, पैदल निकुञ्ज र मध्यवर्ती क्षेत्रमा घुम्न उनीहरु रुचाउँछन् । एकसिङ्गे गैँडा, पाटेबाघजस्ता दुर्लभ वन्यजन्तु हेर्न यहाँ पर्यटक आउने गर्दछन् ।
देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनलाई सफारी पर्यटनमा एक नम्बर मानिन्छ । यहाँ थारु संस्कृति हेर्न पनि पर्यटक आउने गर्दछन् ।


















प्रतिक्रिया