१९ बैशाख २०८३, शनिबार | May 3, 2026

बाढीले क्षति पुर्याएको काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण धमाधम, तिहारअघि सञ्चालनमा ल्याउने लक्ष्य



इलाम। इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण धमाधम भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत आयोजनाहरुले संयुक्त रुपमा प्रसारण लाइन पुनर्निर्माण तथा पुनस्र्थापनाको काम गरिरहेका छन् । प्रसारण लाइन पुनर्निर्माण तथा पुनस्र्थापना तिहारअघि नै सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

प्राधिकरणले प्रसारण लाइनका पाटपूर्जाहरुलगायतका सामाग्रीहरु उपलब्ध गराएको छ । निजी क्षेत्रका जलविद्युत आयोजनाहरुले श्रम लागतलगायतका खर्च बेहोरहेका छन् । यसका लागि प्रत्येक आयोजनाले निश्चित रकम योगदान गरेका छन् । प्राधिकरण र निजी क्षेत्रले संयुक्त रुपमा नमुनाका रुपमा पुनर्निर्माण अगाडि बढाएका हुन् । निजी क्षेत्रले ऊर्जा उद्यमी मोहन कार्कीको नेतृत्वमा टोली खटाएका छन् ।

गत असोज १२ गते शनिबार माईखोलामा आएको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका वडा नम्बर १ र ७ धोद्रेबेंसीमा ४ वटा टावरमा क्षति पुर्याएको थियो ।

ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका २० वटा जलविद्युत आयोजनाहरुको करिब २०० मेगावाट विद्युत् प्रवाह हुने काबेली प्रसारण लाइनमा क्षति पुगेपछि १२ असोजबाट उक्त आयोजनाहरुबाट विद्युत् उत्पादन बन्द छ । विद्युत् उत्पादन बन्द हुँदा निजी क्षेत्रका जलविद्युत आयोजनाहरुले दैनिक रुपमा आम्दानी गुमाइरहेका छन् ।

काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डको धोद्रेबेंसीमा ५०,५१,५२ र ५३ नम्बर टावरलाई माईखोलाको बाढीले क्षति पुर्याएको थियो । उक्त स्थानबाट प्रसारण लाइनलाई माईखोला पार गराएको थियो । उक्त स्थानमा प्रसारण लाइनको स्पान साढे सात सय मिटर रहेको छ ।

चारवटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाई पूर्ण रुपमा क्षति पुर्याएको थियो । बाढीले उक्त टावर ढालेका थियो । अहिले पूर्ण रुपमा क्षति पुर्याएको टावरको जग हाल्ने काम भइरहेको छ । टावरका सम्पूर्ण पाटपूर्जाहरु निर्माणस्थलमा ढुवानी भइसकेको छ ।

५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको थियो । ५० नम्बर टावरको टुप्पोको संरचनामा क्षति पुगेको थियो । ५३ नम्बर टावरको क्रस आर्म र टुप्पोको संरचनामा क्षति पुगेको थियो । दुवै टावरको मर्मत सकिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार पुनर्निर्माणस्थलको अनुगमन गरी तोकिएकै समयमा काम सम्पन्न गर्न आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘काबेली करिडोर प्रसारण लाइन बन्द हुँदा मुलुकको एकीकृत विद्युत् प्रणालीकै विश्वसनीयता प्रभावित भइरहेको छ, निजी क्षेत्रका जलविद्युत आयोजनाहरुले दैनिक रुपमा ठूलो आम्दानी गुमाइरहेका छन्, उत्पादन बन्द हुँदा भारतर्फको विद्युत् निर्यात प्रभावित भइरहेको छ, कार्यकारी निर्देशक घिसिङले भने, ‘यसबाट सबैलाई ठूलो क्षति भइरहेको छ, त्यसैले जतिसक्दो छिट्टो पुनर्निर्माण सम्पन्न गरी लाइन सञ्चालनमा ल्याउने गरी सबैले काम गरौं । ’

निजी क्षेत्रका तर्फबाट पुननिर्माणमा खटेका कार्कीले सम्पूर्ण काम सकेर तिहारअघि नै विद्युत् प्रसारण सुरु गर्ने गरी काम भइरहेको बताए ।

बडा नम्बर १का वडाध्यक्ष राम बहादुर राईले प्रसारण लाइनमा सञ्चालन हुन नसक्दा राज्यलाई नै ठूलो क्षति भइरहेकाले पुनर्निर्माणमा वडाकातर्फबाट पूर्ण रुपमा सहयोग गरिररहेको बताए ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ३ : ५२ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

काठमाडौँ । यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय