८ चैत्र २०८२, आइतबार | March 22, 2026

जलवायु परिवर्तन प्रभावको असर विदेशी पर्यटक चरामा



मोरङ । हिउँद सुरु भएसँगै जाडो छल्न पर्यटक चरा नेपाल आउने गर्छन् । चैत अन्तिमसम्म जाडो छल्न नेपालमा रहने विदेशी पर्यटक चरामा पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव देखिन थालेको छ ।

जलवायु परिवर्तन प्रभावका कारण आवास परिवर्तन, खाद्य चक्रको परिवर्तन, प्रवासनको समय परिवर्तन, रोग र परजीवीहरूको वृद्धिलगायत समस्याले आगन्तुक चरामा असर पुगेको देखिन्छ । उपयुक्त वातवारण अभावमा आगन्तुक पर्यटक चराको सङ्ख्यामा कमी देखिन थालेको कोशी टप्पु लर्निङ ग्राउण्ड्समा कार्यरत प्राकृतिक पदप्रदर्शक चरा जानकार अनिश तिम्सिना बताउँछन । “जलवायुको असरसँगै सरकारी निकायबाट चरा तथा वन्यजन्तुको उचित बासस्थान साथै आहाराको व्यवस्थापन आवश्यक छ”, तिम्सिना भन्छन ।

सिमसारलगायत चराको उपयुक्त बासस्थानमा विभिन्न किसिमका मिचाहा वनस्पतिलाई व्यवस्थित गरी रैथाने प्रजातिका वनस्पतिको संरक्षणमा सबै लाग्नुपर्ने चरा जानकार तिम्सिना बताउँछन । खेतबारीमा लगाइएको अन्नबालीमा बढ्दो विषादी प्रयोगले चरालाई सङ्कट बढ्दै गएको हुँदा सबै सरोकारवाला निकायको त्यसतर्फ ध्यान जान जरुरी रहेको तिम्सिनाको भनाइ छ ।

कोशीटप्पु वन्यजन्तु आरक्ष चराको राजधानीजस्तै मान्ने गरिन्छ । देशभरि पाइने आठ सय ९५ चरामध्ये हाल यहाँ पाँच सय ३५ चरा फेला परिसकेका छन् । कोशी बर्ड सोसाइटीको अगुवाइमा भएको जलपक्षी गणना सन् २०२३ मा कोशीटप्पु वन्यजन्तु आरक्षमा ५८ प्रजातिका १३ हजार छ सय ६८ को सङ्ख्यामा चरा आएको तथ्याङ्क छ । “नेपालमा पाइने सबै प्रजातिका चरा पनि वर्षभरि नै नेपालमा रहन्छन् भन्ने हुँदैनन्”, बर्ड वाचिङ क्याम्प कोशी टप्पुका सञ्चालक कुरमान मन्सुरीले भने, “नेपालमा हिउँदमा आउने हिउँदे आगन्तुक र वसन्त ऋतुको आगमनसँगै आउने आगन्तुक पाहुना चराको बसाइँसराइ वर्षभरि नै निरन्तर चलिरहन्छ ।”

कोशी टप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमाझैँ झुण्डझुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको मन्सुरी बताउँछन । उनका अनुसार कोशीटप्पुकै आसपासको बर्जुताल र मोरङको बेतना सिमसारमा भने अझै पनि पाहुना चरा झुण्डमै आउने गरेको पाइएको छ ।

मोरङको बेलबारी नगरपालिकास्थित वेतना सिमसार वन उपभोक्ता समितिका अध्यक्ष शम्भु भट्टराईको अनुसार कोशी टप्पुमा आउने प्रायःजसो पाहुना चरा यहाँ पनि आइपुग्छन् । नेपालका विभिन्न भागबाट साथै दक्षिण भारत र साइबेरियासम्मका चरा वेतनामा मज्जाले हेर्न पाइन्छ । विशेषगरी मङ्सिरदेखि चैतसम्म विदेशी चरा यहाँ बस्ने गर्छन् । पछिल्लो समय जलवायु परिवर्तन प्रभावका कारणको कारण हुनसक्छ विगतका वर्षहरूमा जस्तो चराको झुण्ड कम देखिन्छ ।

बेलबारीका जीव विज्ञान जानकार डिल्ली कोइरालाले भने, “उत्तरी ध्रुवमा हिमपात सुरू भएसँगै हिउँदयामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा तालतलैया र नदी आसपासमा हजारौँ पर्यटक चरा बसाइँ सरी नेपालका विभिन्न सिमसार, खोलानालामा आउने गर्दछन् ।” उनका अनुसार जलवायु परिवर्तनका कारण चराले प्रवासनको समय परिवर्तन गर्न सक्छ, जसले तिनीहरूको प्रजनन र अवतरणमा असर पार्न सक्ने साथै चरा बस्ने स्थानको तापमान र वर्षापातको ढाँचा परिवर्तन गर्न सक्छ र तिनीहरुको जन्म स्थानमा असर पार्न सक्छ ।

बर्सेनि करिब एक सय ५० प्रजातिका चरा रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेको तथ्याङ्क छ । करिब ५० प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत, पाकिस्तान र श्रीलङ्कातर्फ जाने गर्छन् । जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, जगदीशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्रायः रहने गर्छन् ।

जाडोयाममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् । अन्य प्रजातिमा सिकारी तथा मांसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइ आदि पर्दछन् । दक्षिणी मुलुक र अफ्रिकाबाट हजारौँ ग्रीष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्छन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा फर्कन्छन् । यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ ।

नेपाल आउने अन्यमा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि रहन्छन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य बासस्थान भने वन र यस आसपासका घाँसेमैदान तथा कृषि भूमि हुन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  १० : ५६ बजे

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।