७ भदौ २०८३, आइतबार | August 24, 2026

बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा



रामेछाप । मन्थली नगरपालिका-७, खनखनेका जब्बरबहादुर बादी ६० वर्षको भए । उनको मुख्य पेसा मादल बनाउने हो ।

उनीसँग सम्पत्तिका नाममा जम्मा दुई रोपनी पाखो बारी छ । उहाँका अनुसार बाजे बराजुको पालादेखि मादल बनाउने पेसा गर्दै आएको हो । “घरको जेठो सन्तान भएकोले बुवाआमा, भाई बहिनीहरुलाई पालनपोषण गर्नुपर्ने जिम्मेवारी भएपछि व्यावसायिक रुपमै मादल बनाउन थालेँ”, उनले विगत स्मरण गर्दै भने, “विसं २०५९ देखि रामेछापकै खिम्ती बजारमा मादललगायत अन्य वाद्यवादन बनाएर बिक्री गर्दै आएको थिएँ, तर अहिले त्यो पेसाबाट विस्थापित भएँ ।”

उनले त्यहाँ करिब १३ वर्ष व्यवसाय गरे । खिम्तीमा व्यवसाय सञ्चालन गर्दा तिहार र विवाहका लगनहरुमा मादल, दमाहा टेम्कोलगायत सामग्री बनाउन र मर्मत गर्न भ्याइनभ्याई हुन्थ्यो । पाँच जनालाई रोजगारी दिएका थिए । तर अहिले त्यस्तो छैन । अहिले आफैँलाई काम पाउन मुस्किल छ ।

विसं २०७२ को भूकम्पका कारण उनले भाडामा लिएको कच्ची घर भत्कियो । थुप्रै मादलहरु पुरिए । त्यसपछि उनी गाउँ नै फर्किए । पुनःनिर्माणका लागि प्राप्त अनुदान रु तीन लाखमा केही थपेर घर बनाए पनि गाँउमा खानेपानीको अभावले जब्बर दम्पतीसहित खनखनेका १२ घर बादीमध्ये १० घरपरिवार पानी र अन्य सुविधाको खोजी गर्दै भटौलीकै ठेडीखोला किनारमा झरेर ऐलानी जग्गामा टहरो बनाइ बसे ।

मादल बनाउने परम्परागत पेसा टिकाउन उनलाई हम्मेहम्मे परेको छ । “पहिलेपहिले गाउँमा बस्दा तिहारका बेला मादल बनाउन भ्याइनभ्याई हुन्थ्यो । यस वर्षको तिहारदेखि मादल बनाउने र किन्ने ग्राहक आउँनै छाडे”, उनले भने । मादल मात्र हैन, पञ्चैबाजाका लागि आवश्यक टेम्को, दमाहा, ढोलक र वाद्यवादनका लागि आवश्यक तवेला, वालन भजनमा बजाइने खैँजेडी बनाउने यहाँका वादीहरुको पुर्ख्यौली पेसा लोप हुने अवस्थामा पुगेको छ ।

तिहारका बेलामा खेलिने देउसी भैलोमा मादलको प्रयोग हुन छाडेपछि मादलको बिक्री घटेको रामेछाप नगरपालिका-८ का बद्रीप्रसाद घिमिरे बताउँछन । मादलको व्यापार घटेसँगै समुदायको पेसा नै सङ्कटमा परेको मन्थली-७ का शम्भु वादी बताउँछन ।

छालाजन्य वाद्यवादन मादल, ढोलक, टेम्को, दमाहा, तबेला, खैँजडी बनाउन बाख्रा, गाईगोरुको छाला, लाम्पातेको काठ र खरी लगाउन अन्य कच्चापदार्थ चाहिन्छ । उत्पादित सामग्री बिक्री हुन छाडेपछि राज्यले वैकल्पिक पेसाको व्यवस्था गरिदिनुपर्ने माग वादी समुदायको छ ।

मन्थली नगरपालिकाको वडा नं १, २ र ७ मा गरी जम्मा १९ घरपरिवार वादी समुदायको छ । उनीहरुको जनसङ्ख्या ७५ जना छन् । पुख्र्यौली पेसाले जीउन गाह्रो भएपछि रोजगारीका लागि युवाहरु सहर पस्न थालेका छन् ।

मन्थली नगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा वडा नं-३ का दलित समुदायमा जब्बरबहादुर बादीलाई प्रशिक्षक बनाइ मादललगायत वाद्यवादन सामग्री बनाउने तालिम सञ्चालन गरेको थियो । तर त्यस्ता सामग्रीले बजार नपाएपछि समस्या भएको छ । स्थानीय सरकारले उत्पादन भएका वाद्यवादनका सामग्रीहरुको बजारीकरणका लागि खासै चासो नदिएको स्थानीय केशव बादीले गुनासो गरे ।

मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले उनीहरूलाई छुट्टै वैकल्पिक पेसा दिन नसक्ने तर पुख्र्यौैली पेसा संरक्षणका लागि समुदायस्तरमा सहयोग गरी छालाजन्य वस्तुहरु पर्याप्त उत्पादनमा सहजीकरण गर्ने बताए । उनले भने, “विकसित मुलुकमा ठूलो परिमाणमा बन्ने यस्ता सामग्रीहरु स्थानीय उत्पादनभन्दा सस्तो हुने भएकाले बजार नपाएको हो । नगरले स्थानीय उत्पादन बिक्री वितरणमा आवश्यक सहयोग गर्ने छ । ”

जिल्लामा रहेका बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा परेकाले रोजगारीका अवसर सृजना गरी जीविकोपार्जनमा सहयोग पु(याउनुपर्ने स्थानीय अगुवा गुञ्जबहादुर श्रेष्ठको धारणा छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ८ : ०६ बजे

प्रधानमन्त्री शाह तीन दिनदेखि गण्डकीमा

पोखरा । प्रधानमन्त्री वालेन्द्र शाह निजी भ्रमणका सिलसिलामा तीन दिनदेखि

राप्ती सोनारीमा विपद्मा खटिने आफ्नै उद्धार टोली

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकाले प्राकृतिक विपद् आएमा समुदायस्तरबाट

विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस् : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

व्रम्हकुमारीजको वृहत् रक्तदान सोमबार पनि जारी रहने

नेपालगन्ज । आध्यात्मिक ज्ञानको माध्यमबाट विश्व शान्तिको विश्वव्यापी अभियानमा समर्पित

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना