९ भदौ २०८३, मंगलबार | August 26, 2026

‘कामरेड जलजला’ (उपन्यास) लोकार्पण



काठमाडौं । वामपन्थी नेता मोहनविक्रम सिंहद्वारा लिखित ‘कामरेड जलजला’ (उपन्यास) सार्वजनिक गरिएको छ । जन शिक्षा गृहले यहाँ आज आयोजना गरेको कार्यक्रममा वामपन्थी नेत्री स्व विद्या ढकाल (जलजल) की आमा ललितादेवी ढकाल (प्रभा) ले पुस्तक लोकार्पण गरिन् ।

उपन्यास २ खण्ड, ८ भाग, ७२ परिच्छेद र दुई सय ७२ अङ्कमा विभाजन गरिएको छ । करिब पाँच लाख शब्द, रोयल साइजमा एक हजार तीन सय २० पृष्ठ र करिब पाँच सय पात्र छन् । उपन्यासमा सम्पूर्ण विश्व, धर्ती, मानव समाज र समाजको मनोविज्ञानको अध्ययन, विश्लेषण र विवेचना गर्ने प्रयत्न गरिएको छ । उपन्यासले संसारका सबै महाद्वीप र महासागर, सम्पूर्ण मानव समाज र सुदूर अन्तरिक्षसम्मको परिभ्रमण गर्ने प्रयत्न गरेको छ ।

प्राडा रामप्रसाद ज्ञवालीले उपन्यासबारे टिप्पणी गर्दै यसमा सम्पूर्ण संसार र नेपालका विभिन्न स्थानको इतिहास, संस्कृति र मानव जीवनको अध्ययन गर्ने प्रयत्न गरिएको बताए । “उपन्यासमा काठमाडौँ उपत्यका, नेपालको ढुङ्गेयुगीन सभ्यता, प्राचीन बौद्ध सभ्यता, कर्णाली प्रदेशको प्राग्ऐतिहासिक नदी र ताल, स्वयम्भूनाथ, पशुपतिनाथ र नेपालका प्राग्ऐतिहासिक जातिको समेत अध्ययन गर्ने प्रयत्न गरिएको छ”, उनले भने ।

यसैगरी, उपन्यासमा काठमाडौँ उपत्यकाका अष्टमातृकाको विस्तृत र गहन चर्चा गर्नाका साथै ‘हिन्दू पुराणले उनीहरूलाई देवीका रूपमा मान्दछन् तर मूल रूपमा उनीहरू हिन्दू देवी होइनन्’ भन्ने विषयलाई पनि समावेश गरिएको त्यस अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको विकासका निम्ति नेपालका वामपन्थी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पछिल्लो समय नेपालका वामपन्थी नेताहरू जनताका निम्तिभन्दा पनि व्यक्तिगत र पार्टीगत स्वार्थमा केन्द्रित भएको धारणा राखे ।

साहित्यकार सिंह नेपालको एउटा वामपन्थी नेता हुन् । सैद्धान्तिक र राजनीतिक विषयमा उनले थुप्रै पुस्तक र लेखहरू लेख्नाका साथै नाटक, कविता, समालोचना आदि विभिन्न विधामा पनि उनका कैयौँ कृति प्रकाशित छन् । उपन्यासको क्षेत्रमा उनले गत सात दशकदेखि कलम चलाउँदै आएका छन् । २०१२ सालमा पाल्पा जेलमा उनले ‘बुढा बा’ र ‘झिलीमिली’ दुईओटा उपन्यास, २०१८ सालमा तौलिहवा जेलमा ‘ओखरकोट’ शीर्षकको उपन्यास, २०२६ सालमा काठमाडौँको हनुमानढोकास्थित जेलमा ‘बुढा बा’ शीर्षकको अर्को उपन्यास र २०४६ सालमा बनारसमा ‘तारा’ शीर्षकको उपन्यास लेखेका थिए ।

विसं २०१२ मा पाल्पा जेलमा छँदा उनले कैयौँ कथा पनि लेखेका थिए । वामपन्थी नेता सिंहले आज लोकार्पण ‘कामरेड जलजला’ (उपन्यास) तयार पार्न करिब २३ वर्ष लागेको जानकारी दिए ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ८ : ५१ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त