६ श्रावण २०८३, बुधबार | July 23, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुती सेवाका लागि छुट्टै अपरेशन थिएटर : शल्यक्रिया क्षमता दर ३३ प्रतिशतले वृद्धि



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले बिस्तारित अस्पताल सेवा अन्तरगत प्रसूती सेवाका लागि छुट्टै अपरेशन थिएटर सञ्चालनमा ल्याएको छ । अस्पतालमा ८ वेडको रिकभरी वार्ड तथा १५ बेडको पोष्ट अपरेटिभ बेडसहित नयाँ थिएटर सञ्चालमा आएपछि अब हप्ताको सातै दिन प्रसुती सेवातर्फ शल्यक्रिया सेवा उपलब्ध गराउन सकिने अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जानकारी दिए ।

सञ्चालनमा ल्याइएको नयाँ थिएटरमा १ जनरल अपरेशन तथा २ वटा मेजर अपरेशन रुम रहेको ढकालले जानकारी दिए । छुट्टै थिएटर सञ्चालनसँगै प्रसुती सेवा थप गुणस्तरीय र सहज हुने उनले दाबी गरे । यसैगरी प्रसूतीका लागि छुट्टै थिएटर बनेपछि यसअघि रहेको संरचनाबाट अन्य विरामीलाई सेवा प्रदान गर्दा शल्यक्रिया क्षमता सङ्ख्यात्मक हिसाबले ३३ प्रतिशतले वृद्धि हुने मेडिकल सुपेरिटेन्डेन डा. ढकालले जानकारी दिए ।

विगत ३ वर्षको तथ्याङ्क अनुसार अस्पतालमा वार्षिक ९ हजार बढी बिरामीले शल्यक्रिया सेवा लिँदै आएका छन् । अब यसको सङ्ख्यामा ३३ प्रतिशतले वृद्धि हुँदा १२ हजार बढीको सङ्ख्यामा शल्यक्रिया गर्न सकिने छ । प्रयाप्त संरचना, उपकरण तथा जनशक्ति नहुँदा तत्काल अपरेशन गर्नुपर्ने बिरामी बाहेक अन्यलाई महिनौंपछि आउनेगरी पालो लगाउनु पर्ने बाध्यतालाई कम गर्ने आफ्नो प्रतिवद्धता अनुसार बिस्तारको कामलाई प्राथमिकता दिइएको मेसु ढकालले बताए ।

डा. इन्द्र ढकाल
मेडिकल सुपेरिटेन्डेन
लुम्बिनी प्रादेशिक अस्पताल

अस्पतालमा पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा ९ हजार ७६५ वटा शल्यक्रिया मध्ये ४ हजार ५४७ वटा शल्यक्रिया प्रसूती सेवातर्फको रहेका छन् । अस्पतालमा प्रसूती सेवाका लागि पछिल्लो आर्थिक वर्षमा १२ हजार ९८ जनाले सेवा लिएका मध्ये ७ हजार ५४८ जनाले सामान्य रुपमा बच्चा जन्माएका छन् । अस्पतालमा सेवाग्राहीको चाप बढेसँगै सेवा बिस्तारलाई पनि प्राथमिकता दिइएको अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले बताए । पछिल्लो आर्थिक वर्षमा लुम्बिनी प्रादेशिक अस्पतालबाट ३ लाख ४८ हजार ९७१ जनाले स्वास्थ्य सेवा लिएको तथ्याङ्कमा उल्लेख छ ।

अस्पतालमा शल्यक्रिया कक्षलाई बिस्तार गरेसँगै जनरल सर्जरीतर्फ महिनौं पालो कुर्नुपर्ने समस्या उल्लेख्य रुपमा समाधान हुने अस्पतालको दाबी छ । अपरेशन थिएटर बिस्तारसँगै विगतमा सातामा २ दिन हुन पाउने हाडजोर्नी सम्बन्धी शल्यक्रिया अब सातामा ३ दिन हुने छ भने सोही अनुसार जनरल सर्जरी तथा नाक, कान, घाँटी सम्बन्धि शल्यक्रियाका लागि पनि सातामा ३ दिन पालो आउने छ ।

प्रसुती सेवाका लागि छुट्टै बनाइएको अपरेशन थिएटर

 

यसैगरी अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि २५ जना स्टाफनर्स थप भएका छन् । अस्पतालको स्वास्थ्य सेवालाई थप गुणस्तर र गुनासोरहित बनाउनका लागि अस्पताल परिवालाई थप प्रतिवद्ध बनाउने गरी काम भइरहेको अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताए । संरचना, उपकरण तथा जनशक्ति भन्दा सेवाग्राहीको चाप अस्पतालमा बढी रहेको बताउँदै श्रेष्ठले सकेसम्म सीमित श्रोत साधनबाट भएपनि सेवालाई गुनासोरहित बनाउने प्रयासमा आफूहरु रहेको उनले उल्लेख गरे ।

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव बासुदेव उपाध्यायले शल्यक्रियाको लागि बिरामीले महिनौं कुर्नु पर्ने समस्या समाधानका लागि प्रदेश सरकारले प्रयास गरिरहेको बताए । अस्पतालमा सेवा बिस्तारका लागि थप संरचना र उपकरण उपलब्ध गराउन प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउँदै उनले प्रदेश सरकारकै पहलमा अपरेशन थिएटर बिस्तार भएको र थप बिस्तार गर्दै लैजाने उल्लेख गरे ।

यसैगरी स्वास्थ्य मन्त्री खेमबहादुर सारुले बुटवलाई स्वास्थ्य सेवाको हब बनाउनका लागि पनि प्रादेशिक अस्पताललाई थप गुणस्तर र विशिष्टीकृत गर्नुपर्नेमा जोड दिए । प्रदेश सरकारको गौरव आयोजनाका रुपमा रहेको १२ तले अत्याधुनिक भवन निर्माण सम्पन्न भएपछि लुम्बिनी प्रादेशिक अस्पताल नमुनाको रुपमा स्थापित हुने उल्लेख गरे ।

प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउँदै उनले अस्पतालको नयाँ भवन निर्माण, सेवा बिस्तार तथा गुणस्तर सुधारमा जोड दिएको उल्लेख गरे ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ६ : ०० बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क