१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती



कैलाली । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा सुरू भएको छ ।

विशेषगरी पुस महिनाको अन्तिम दिनदेखि सुरू भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गरी माघ १ गते अर्थात् नयाँ वर्षलाई स्वागत गर्दै थारू गाउँ बस्तीमा यो पर्व सुरू भएको थारू अगुवा प्रभातकुमार चौधरीले जानकारी दिए ।

आज बिहानैदेखि थारू गाउँहरूमा मासुका लागि जिता मार्ने (बङ्गुर काट्ने) क्रियाकलाप सुरू भइसकेको थारू अगुवा चौधरीले बताए । त्यस्तै राति थारू जातिको संस्कृतिअनुसार नाचगान गरी रातभर जाग्राम बस्ने, भगवान्का नाममा ध्वनि जगाएर (धमार) भजनर्कीतन गर्ने, आगो ताप्ने, गञ्जी, तरूलजस्ता विभिन्न परिकार बनाएर खाने चलनसमेत रहेको उनले बताए ।

“माघे सङक्रान्तिका दिन विशेष गरी थारू समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाइ गर्ने र नुहाउने बेला नदीमा डुबुल्की लगाएर सिक्का पैसा छोड्ने गरिन्छ । त्यसपछि नुहाइसकेपछि धमार गाउँदै घरमा आएपछि घरका महिलाले छुट्याइएको चामल र मासको दाललाई छुने र ती छोएका चिज घरका छोरीबेटीलाई छुट्याउने प्रचलन छ”, उनले भने, “त्यसपछि घरमा भएका पूर्खा तथा आफूभन्दा ठूलाबडाबाट आर्शीवाद लिने परम्परा रही आएको छ ।” तेस्रो दिन अर्थात् माघ २ गते चामल र मासको दालको खिचडी खाने, नजिकैका बजारमा जाने परम्परा पनि रहेको उनले बताए ।

थारू समुदायको मुख्य पर्व भएकाले यतिबेला थारू गाउँबस्तीमा पर्वको रौनक छाएको गोदावरी नगरपालिका-८ फकलपुरका स्थानीय माधव चौधरीले बताए । उनले भने, “थारू समुदाय बसोबास गर्ने गाउँ, बस्ती अहिले माघीमय भएका छन् ।” यति मात्र नभएर थारू जातिको परम्परा, लोक संस्कृति झल्कने मघौटा नाच, लोक गीतसँगै डफ र मादलको आवाज पनि गाउँघरमा गुञ्जिन लागेको छ ।

यो पर्वमा थारू समुदायले विगतको गतिविधिको समीक्षा गर्छन् । “माघी पर्वसँगै थारू समुदायमा विधिवत् रूपमा विवाह, अंशबण्डालगायत कार्यको थालनी हुन्छ”, चौधरीले भने, “यस दिन आपसी वैमनश्यलाई त्यागेर आफन्त, इष्टमित्रलाई भेटघाट गरी अण्डी चामलको भातरोटी, ढिक्री, मासुलगायत थारू खानाका विभिन्न परिकार खाने र खुवाउने चलन छ ।” यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले नयाँ-नयाँ लुगाकपडा लगाउने चलन छ । रोजगारीका लागि बाहिरका घरपरिवारका सदस्य पर्व मनाउनका लागि घर पुगिसकेका छन् ।

पर्वमा विषेशगरी अण्डी चामलको भात, रोटी, ढिक्री, बरिया, घोङ्गी, बङ्गुरको मासु, माछा, गङ्गटालगायत स्थानीय खानाका पकवान खाने चलन छ । बालबालिकादेखि वृद्घवृद्घासम्म रमाउने मूख्य पर्व भएकाले तामझामका साथ पर्व मनाइरहेको धनगढीको बैयाबेहडीका माइला चौधरी बताउँछन । “गाउँमा आफन्त, परिवारका सदस्य तथा साथीभाइ मिलेर रमाइलो गरिरहेका छौं, खानपिन गरिरहेका छौँ,” उनले भने, “हाम्रो समुदायको यो पर्वको चहलपहलले विगतका सम्पूर्ण पीडा भुलाइदिन्छ ।”

माघी मनाउन थारू समदायका गाउँ, बस्ती आसपासका क्षेत्रमा गाउँमा मेला तथा महोत्सवको आयोजना गरिएको छ । माघीपर्वकै अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकाले आज सार्वजनिक बिदासमेत दिएको छ ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ८ : ४२ बजे

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

चितवन । सोह्र वर्षअघि भरतपुर अस्पताल नजिकै घर भएका धर्म

सिद्धबाबा मन्दिरमा श्रावणी मेला सुरु, साउनभर जलार्पणका धार्मिक कार्यक्रम

बुटवल । पाल्पाको प्रसिद्ध सिद्धबाबा मन्दिरमा साउन महिनालाई लक्षित गर्दै

प्रतिनिधिसभाको बैठक आज, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

सरकार-चिकित्सक सहमतिपछि आजदेखि अस्पतालका सबै सेवा नियमित

काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएपछि

नेदरल्यान्डससँग नेपाल पराजित

काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार सम्पन्न