बर्दिया । बर्दियामा चेलिबेटी बेचविखनको जोखिममा रहेका र जोखिम पूर्ण यात्राको क्रममा रहेका तिन सय ३५ जना महिला तथा किशोरीको उद्धार गरिएको छ । माइती नेपाल बर्दियाको रेकर्ड अनुसार सन् २०२४ मा सिमानाबाट उनीहरुको उद्धार गरिएको हो ।
जोखिमपूर्ण यात्रामा सिमानाबाट उद्धार गरी आवास गृहमा राखी आवश्यक परामर्श दिईएको छ । सिमा क्षेत्रबाट उद्धार गरिएकामध्ये १८ वर्षमुनिका २३७ जना र १८ वर्षमाथिका ९८ जना रहेका छन ।
माइती नेपाल गुलरिया बर्दियाकी संयोजक गायत्री रिमालका अनुसार बर्दियामा ३९० जनालाई मानव बेचबिखन र सुरक्षित बसाइसराइबारे जानकारी दिँदै पारिवारिक पुनर्मिलन गराइएको छ । श्रम र यौन शोषणमा परेका तीन जनाको उद्धार गरिएको छ । घरेलु हिंसाका ३९ घटनामध्ये ३७ घटनाको समाधान गरिएको छ । बेचबिखनसम्बन्धी चार वटा मुद्दा दर्ता भई आवश्यक सहयोग प्रदान गरिएको छ भने जबरजस्ती करणीसम्बन्धी ५३ मुद्दामा परामर्श र सहयोग गरिएको छ ।
मानव बेचबिखन तथा सुरक्षित बसाइसराइबारे विभिन्न माध्यमबाट १८ हजार पाँच सय ७५ जनालाई जानकारी गराईएको छ भने किशोरकिशोरीहरूलाई लक्षित गरी पाँच सय ८ जनालाई विशेष परामर्श दिइएको छ ।
माइती नेपाल बर्दियाले बर्दिया जिल्लामा सन् २०१६ यता दुई हजार पाँच जना जोखिमपुर्ण यात्रामा रहेकालाई सिमानाबाट उद्धार गरिएको संयोजक रिमालले बताएकी छिन छ । पत्रकारहरुसँग अन्र्तक्रिया कार्यक्रममा बोल्दै जोखिमपूर्ण तरिकाले भारत तर्फ जाने महिलाको संख्यामा बृद्धि हुँदै गईरहेको बताइन् ।
माइती नेपाल बर्दियाले मानव बेचविखनको जोखिममा रहेका क्षेत्रमा रोकथाम, उद्धार र पुनःस्थापनाका क्षेत्रमा निरन्तर कार्य गर्दै आइरहेको छ । बर्दिया जिल्लाभित्र मात्र होइन, अन्य जिल्लाबाट आई जोखिममा परेकाहरूलाई उद्धार गरीएको संयोजक रिमालको भनाइ छ ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले माइती नेपाल बर्दियाले मानव बेचबिखन नियन्त्रणमा उदाहरणीय काम गरेको बताउँदै मानव बेचविखन रोकथामको अभियानमा पत्रकारहरुले सँधै साथ दिने बताए ।



















प्रतिक्रिया