१६ कार्तिक २०८३, सोमबार | November 2, 2026

बाँझो जग्गामा ओखरखेती



गलकोट । बागलुङको तित्याङमा ओखरखेती विस्तार गरिएको छ । बसाइँसराइका कारण खेतीयोग्य जग्गा बाँझिदै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्न तित्याङमा करिब तीन सय रोपनी जग्गामा ओखरखेती थालेको छ ।

नगरपालिकाले गत वर्षदेखि बाँझो जग्गामा रहेका कुकाठ हटाउने अभियानसँगै सुक्खा फलफूलखेती गर्न स्थानीयलाई प्रेरित गर्न थालेको हो । बागलुङ नगरपालिका-९ तित्याङको डोय क्षेत्रमा गत वर्ष र यस वर्ष गरी २८० रोपनी जग्गामा ओखरखेती विस्तार गरिएको वडाअध्यक्ष राजु थापाले जानकारी दिए ।

तित्याङमा गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रु १० लाख र स्थानीयको रु आठ लाख लगानीमा एक सय ४० रोपनी जग्गामा दुई हजार २५० ओखरका बिरुवा लगाइएकामा यस वर्ष नगरपालिकाको रु १२ लाख र स्थानीयको रु आठ लाख गरी रु २० लाखमा जुरेढुङ्गा क्षेत्रको १४० रोपनी जग्गामा एक हजार ५०० ओखरका बिरुवा लगाउन थालिएको वडाअध्यक्ष थापाले बताए ।

उनका अनुसार यस वर्ष रु २० लाखबाट बिरुवा खरिद, रोपण, सिँचाइ पोखरी निर्माण र मलखादको व्यवस्थापन गर्नेलगायत काम भइरहेका छन् । जुरेढुङ्गाका कृष्णबहादुर खड्का, रविन थापा र यामबहादुर थापालगायतको बाँझो जग्गामा व्यावसायिक ओखरखेती थालिएको छ । सिँचाइको अभाव रहेको र बाँझो जग्गामा सुक्खा फलफूलखेती राम्रो हुने भएकाले कुकाठ हटाएर बाँझो जग्गा सदुपयोग गर्न थालिएको बागलुङ नगरपालिका उपप्रमुख राजु खड्काले जानकारी दिए ।

पछिल्लो समय बसाइँसराइले गाउँबस्ती रित्तिँदै गएपछि उजाडिएको बारी र जङ्गल फाँडेर ओखरखेती विस्तार भइरहेको जुरेढुङ्गा कृषक समूहका अध्यक्ष लिलाबहादुर खड्काले बताए । एक हजार ६०० मिटरदेखि तीन हजार मिटरसम्म लगाउन सकिने दाँते ओखरको ‘थिनसेल’ जातको बिरुवा बागलुङको हावापानीमा लगाउन सकिने भएकाले जुम्लाबाट बिरुवा ल्याएर रोपिएको नगरपालिकाकी कृषि प्राविधिक लछुता बरुवालले जानकारी दिइन ।

प्रतिबिरुवा रु तीन सय २० मा बिरुवा ल्याइएको थियो । जुरे ढुङ्गाका किसानहरूले परम्परागत खेती गर्दै आएकामा नगरपालिकाले आवश्यक सहयोग र सहजीकरण गर्न थालेपछि सामूहिक रूपमा ओखरखेती गर्न थालेका हुन् । यस वर्ष जुरे ढुङ्गा कृषक समूहलाई एक हजार ५०० बिरुवा हस्तान्तरण गरेर ओखरखेती विस्तार सुरु गरिएको कृषि प्राविधिक बरुवालले बताइन ।

उपप्रमुख खड्काले वडा नं ९ का किसानले सुन्तला र तरकारीसँगै ओखरखेतीलाई उच्च प्राथमिकता दिएकाले आगामी वर्ष पनि ओखरका थप बिरुवा वितरण गरिने बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ७ : ५५ बजे

एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौं-कर्णाली र सुदूरपश्चिम-चितवन भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई

हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

बङ्गलादेशका जिशन अलामले कर्णालीबाट एनपीएल खेल्ने

काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का

मलेखु-मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने

चितवन । पृथ्वी राजमार्गअन्तर्गत मलेखु-मुग्लिङ सडकखण्ड आज तीन घण्टा बन्द

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता