बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बुटवलमा आमसभा गर्दै छ । ‘अवस्था बदल्न व्यवस्था बद्लौं’ भन्ने नाराका साथ राप्रपा लुम्बिनी प्रदेशको आयोजनामा आज बुटवलमा आमसभा हुन लागेको हो ।
राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले सातवटै प्रदेशमा पार्टीले आयोजना गर्ने कार्यक्रम अन्तर्गत आज जनजागरणको रूपमा सभा गर्न लागिएको जानकारी दिए । उनका अनुसार सभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षद्वय विक्रम पाण्डे, ध्रवबहादुर प्रधान, महामन्त्री धवल शमसेर राणा, केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरुले सम्बोधन गर्नेछन ।
ट्राफिकचोकमा गरिने सभामा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाबाट पार्टीका नेता-कार्यकर्ता तथा आम नागरिकको सहभागीता हुने पार्टीले जनाएको छ । आमसभा आज दिउँसो १२ बजेदेखि सुरु हुनेछ ।
आमसभा पूर्व बुटवलको बसपार्क र आँखा अस्पतालबाट र्याली निकालिने छ । बसपार्कबाट निकालिने र्यालीको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षद्वय विक्रम पाण्डे, ध्रवबहादुर प्रधान र केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापाले नेतृत्व गर्नेछन् भने लायन्स आँखा अस्पतालबाट निकालिने र्यालीको नेतृत्व महामन्त्री धवल शमसेर राणा र प्रवक्ता ज्ञानेन्द्र शाहीले गर्नेछन् ।
देशमा वर्तमान अवस्थामा व्याप्त विसंगति, विकृति, भ्रष्टाचारको बारेमा तथा राप्रपाको भावी कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले आमसभाको आयोजना गरिएको अध्यक्ष उदयले बताए ।



















प्रतिक्रिया